रसुवागढीबाट सुनसहित दुई महिला पक्राउ
नुवाकोट : रसुवागढी नाकाबाट प्रहरीले सुनसहित दुई महिलालाई पक्राउ गरेको छ । नाकाबाट सोमबार चीनहुँदै नेपाल भित्र्याइएको सुनसहित दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रशासना कार्यालय रसुवाले जनाएको छ ।
नियमित रुपमा रसुवागढी नाकामा चेकजाँचमा खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा केरुङहुँदै रसुवागढी नाकामा जाँदै गरेका स्थानीय दुई महिलालाई खानतलासी गर्दा उनीहरुको साथबाट ६ टुक्रा सुन फेला परेपछि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका १ की ३४ वर्षीया ममाया तामाङ र सोही स्थानकी ३९ वर्षीया छोमाया तामाङले शरीरभित्र लुकाइराखेको अवस्थामा भन्सार छलि ल्याएको सुन बरामद गरिएको प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । रसुवाढीमा सुन जोख्ने उपकरण नभएपछि सुनसहित दुई महिलालाई सदरमुकाम धुन्चे पठाइएको छ।