जेसीजकप सुरु
बेनी : बेनीमा मंगलबारदेखि अन्तर मावि जिल्लास्तरीय १८ औं जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ। म्याग्दी जेसिजले आयोजना गरेको मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् ।
विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र अवसर प्रदान गर्न हरेक वर्ष जेसीज कप आयोजना गरिँदै आएको म्याग्दी जेसीजका अध्यक्ष खम थापाले बताए । प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण-पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण-पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ । अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ रहेको छ ।
उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताए । उद्घाटन खेलमा साविक विजेता न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीले गौबमवस्त मावि मगरदाङलाई १ का विरुद्ध ८ गोल गर्दै विजय सुरुवात गरेको छ ।
सामसुङ मोबाइलको डिलर नरेश मोबाइल सेन्टर टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर-रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताए ।