भेरीको पानी सुर्खेत उपत्यकामा

भेरीको पानी सुर्खेत उपत्यकामा

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा (सुर्खेत उपत्यका) पम्पिङ गरेर भेरी नदीको पानी ल्याइने भएको छ। वीरेन्द्रनगरमा बढ्दो खानेपानी संकट टार्न भेरीको पानी पम्पिङ गरेर ल्याउन लागिएको हो। यसका लागि अहिले यो आयोजनाको दोस्रो चरणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम थालिएको छ।

हाल सुर्खेत उपत्यकामा खानेपानीको अभाव छ। यही संकटलाई दीर्घकालीन रूपमा समाधान गर्न भेरीको पानी उपत्यकामा ल्याउने कसरत सुरु भएको छ। अन्तिम प्रतिवेदनका आधारमा भेरीको पानी उपत्यकामा ल्याउन यसै आर्थिक वर्षभित्र टेन्डर आह्वान गरिनेछ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकाको खानेपानी संकट टार्न द्रुत गतिबाट भेरीको पानी ल्याउन थालिएको जनाएको छ।

यसअघि पहिलो चरणमा सीएमएस जेभीले तयार पारेको डीपीआर प्रतिवेदनअनुसार तीन वर्षभित्रमा भेरीको पानी उपत्यकामा ल्याउन सम्भव देखिएको थियो। यही प्रतिवेदनको आधारमा अहिले दोस्रो चरणको डीपीआर बनाउने काम भइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए।

अब भेरी नदीमा सम्पवेल परीक्षण (पानीको गुणस्तर मापन, पम्पिङ गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था हेर्न) गर्न दोस्रो चरणको डीपीआरको काम अगाडि बढाउन लागिएको हो। खानेपानी तथा ढल व्यवस्था विभागका जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाका उपमहानिर्देशक अनिलभद्र खनालले दोस्रो चरणको डीपीआरको काम आउँदो माघमा सम्पन्न हुने बताए।

सुर्खेत उपत्यका खानेपानी संस्थाले हाल झुप्रा मुहानसहित खरी–बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले तालको पानी आपूर्ति गर्दै आएको छ। हाल उपत्यकामा प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ। पानी आपूर्ति गर्न सम्भव नहुँदा दुई वर्ष अघिदेखि झन्डै पाँच हजार उपभोक्ताले धारा जडानका लागि दिएका आवेदन थन्किएका छन्।

दोस्रो चरणको डीपीआर तयार भएपछि आयोजनाको काम गर्न टेन्डरको प्रक्रिया थालिनेछ। उपमहानिर्देशक खनालले डीपीआर बनेको १८ महिनामा भेरीको पानी वीरेन्द्रनगर–११ मा रहेको अमृत डाँडामा पुर्‍याइने जनाए। सम्पवेल र पाइपलाइन विस्तारको काम एकैपटक अघि बढाउने उनको भनाइ छ। पम्पिङमार्फत अमृतडाँडामा ल्याइने भेरीको पानी तीन सय ५० लिटर प्रतिसेकेन्डका दरमा आपूर्ति हुनेछ।

प्रदेश राजधानी भएसँगै उपत्यकामा जनसंख्या बढ्दो छ। बढ्दो जनसंख्या र खानेपानीको माग पूरा गर्न भेरीको पानी ल्याउने पहिलो विकल्प हो। खर्चिलो भए पनि यो आयोजना निर्माणमा सरकार जुटेको छ। यो आयोजना सम्पन्न गर्न दुई अर्ब ७० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। पम्पिङ गरिएको भेरीको पानी अमृतडाँडास्थित निर्माण हुने इन्टेकमा झारिनेछ।

जहाँ ४० लाख लिटरका चारवटा इन्टेक निर्माण हुनेछन्। भेरी नदीदेखि अमृतडाँडासम्मको दूरी पाँच हजार पाँच सय मिटरमा छ। अमृतडाँडामा झारिएको पानी सुर्खेत उपत्यकामा वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.