झाँक्रीपानीमा चितुवा आतंक
बेनी : म्याग्दीको मंगला गाउँपालिका ३ झाँक्रिपानीमा चितुवाले आतंक मच्चाएको छ ।घरपालुवा जनावरलाई आक्रमण गरी मार्न थालेको छ । चितुवाले आक्रमणबाट दैनिकजसो बाख्रा, कुखुर मर्न थालेका छन्। आइतबार साँझ स्थानीय सोमबहादुर छन्त्यालको खोरमा पसेको चितुवाले तीनवटा बाख्रा मारेको थियो।
यसअघि सन्तोष थापाको ४ वटा र रनबहादुर रोकाको ८ वटा खसी, बोका र बाख्रा चितुवाले खाएको स्थानीय दर्पण रोकाले बताए । 'चितुवाको आतंक बढेपछि गाउँले त्रसित भएका छन्,' उनले भने, 'जंगल नजिकै भएकाले एक्लै हिँडडुल गर्न पनि गाह्रो भएको छ ।'
गाउँमा चितुवा आतंक भएपछि स्थानीय वनजंगलमा घाँस दाउरा काटन् जान सकेका छैनन् । चितुवा नियन्त्रण र क्षतिपूर्तिको माग गरिएको कृषक सोम छन्त्यालले बताए। चितुवाले तीनवटा बाख्रा मारेर चालीस हजार रुपैयाँ भन्दा बढीको क्षति पुगेको उनले बताए ।
६५ घरधुरीको बसोबास रहेको झाँक्रीपानीको बस्ती छरिएको छ । जंगलबाट आहराको खोजीमा चितुवा गाउँ पस्न थालेको बताइएको छ।