तेह्रौं दक्षिण एसियाली खेललाई गीत चाहिन्न ?
‘समयले सिकाएको साँचो शिक्षा पाउन
संसारको सुन्दर कुरा आफूभित्र ल्याउन
सपनाको नजिक पाइला चलेको सम्झ
आफूभित्र सधैं ज्योति बलेको सम्झ’
सन् १९९६ को एटलान्टा ओलम्पिकमा सेलिन डियोनले गाएको गीत ‘द पावर अफ ड्रिम’ को एउटा अन्तरामा निहित शब्दहरूको भावानुवाद हो यो। ‘पावर अफ ड्रिम’ ले संसारका करोडौं मानिसका मन मात्रै जितेन, संसारभर हलचल नै ल्यायो। सेलिनालाई विश्वप्रसिद्ध पनि बनायो। नेपालमा पनि तेह्रौं दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिले प्रतीक चिह्न, गीत, मस्कट र नाराका लागि आह्वान गरेर २०७५ को मंसिर महिनामा एउटा सार्वजनिक सूचना प्रकाशित गर्यो। २०७६ को वैशाख ३० गते प्रतीक चिह्न (लोगो) तथा मस्कट सार्वजनिक गर्यो। तर गीत सार्वजनिक गरेन। अथवा लोगो र मस्कट सार्वजनिक गरेपछि गीतको आवश्यकता महसुस गरेन। यो आफैंमा उदेकलाग्दो कुरा हो। अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता हुँदा गीत–संगीत निर्माण गर्ने एक प्रकारको संस्कार संसारका प्रसिद्ध प्रतियोगिताले बसालेका छन्। अरूले जे गर्यो, हामीले त्यही गर्नुपर्छ भन्ने होइन। आफ्नै मौलिक वा सिर्जनात्मक तरिकाले कार्यक्रम सुरु गर्न नसकिने पनि होइन। तर विश्वमा स्थापित मान्यता पनि लत्याउनु अनि नयाँ केही गर्न पनि नसक्नु भनेको लाचारीसिवाय अरू केही होइन।
हामी एउटै डुंगाका यात्री हौं साथी, तिमीले एउटा छेउमा टेक्यौ भने अर्को छेऊ हल्लिन्छ साथी। डा. भूपेन हजारिकाले रचना गरेका यी हरफ भारतको गुहावटीमा सन् २०१६ मा सम्पन्न बाह्रौं सागको उद्घाटन शत्रमा गीतका रूपमा गुन्जिएका शब्द हुन्। गीतको सारमा दक्षिण एसियाली मुलुकहरूको भाइचारा, एकता र सहअस्तित्वको भाव रंगिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन भाषणमा समेत उक्त गीतले दक्षिण एसियाली मुलुकको शान्ति, समृद्धि र एकताको कामना गरेको बताएका थिए। अंग्रेजी र अन्य क्षेत्रीय भाषामा समेत अनुवाद गरेर गीतको भाव प्रस्तुत गरिएको थियो। गीत–संगीत हल्का मनोरञ्जनको विषय मात्र नभएर असमझदारी र छरिएका सुस्केराहरूलाई सँगाल्ने साधन पनि हो भन्ने कुरा यसबाट प्रमाणित हुन्छ। गीत–संगीत जीवनको एउटा यस्तो बहुमूल्य पुष्प हो, जसले हृदयलाई सुवासित बनाउन सक्छ। त्यसैले मानवले मर्दापर्दा या कुनै पौरख गर्दा गीतका माध्यमबाटै आफ्ना भावना पोख्ने गर्छ। युद्धदेखि शान्तिसम्म, राजनीतिक अभियानदेखि क्रान्तिसम्म, गीत–संगीतको महत्व गहन रहिआएको छ।
सन् २०१० को फिफा विश्वकप फुटबल प्रतियोगितामा साकिराले गाएको ‘वाका वाका’ ले संसारभर एउटा तरंग नै ल्याएको थियो। त्यसको शब्द, संगीत र गायकीको प्रभाव अझै पनि संसारका अनेक मानिसका मस्तिष्कमा झङ्कृत छ। यसो पनि भन्न सकिन्छ– सन् २०१० को विश्वकपलाई सम्झाउने विभिन्न कुरामध्ये ‘वाका वाका’ पनि एक हो। यसले अफ्रिकी मुलुकको संस्कृति, सभ्यता र समृद्धिको मात्रै कुरा गरेको छैन, विश्वभरका मानवको स्वतन्त्रता, शान्ति र उन्नतिको कल्पना पनि गरेको छ।
तेह्रौं दक्षिण एसियाली खेल नेपालमा सुरु हुँदै छ। काठमाडौं, पोखरा र जनकपुरमा अलग–अलग प्रतियोगिता हुनेछन्। यो नेपाल र नेपालीका लागि गौरवको कुरा हो। नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा आयोजना हुँदै गरेको यो खेल एउटा मेला हो। अझ भनौं महामेला नै हो। यसमा दक्षिण एसियाली क्षेत्रका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ, खेल पदाधिकारी र हज्जारौंको संख्यामा खेलाडी, पत्रकार तथा पर्यवेक्षकहरूको उपस्थिति रहनेछ। नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको प्रस्तुत संस्करण हुन्छ या हुँदैन भन्ने आशंकालाई चिर्दै अन्ततः हुने नै भएको छ। राजनीतिक खिचातानी, इच्छाशक्तिको अभाव र अनावश्यक किचलोले किचिएको नेपाली खेलजगत्को अवस्था दयालाग्दो छ।
परिणामस्वरूप यस खेलको सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधारको निर्माण हुन नसक्नु नै थियो। कुनै पनि कार्यक्रमको लक्ष्य पूरा गर्न प्रभावकारी योजना, चुस्त व्यवस्थापन, स्रोतसाधन र कुशल नेतृत्वको जरुरत पर्छ। सतहबाट हेर्दा हामीसित यी सबै कुरा थिए। यति हुँदाहँुदै पनि यस खेलले नेपाल र नेपालीका घरआँगनमा जुन उत्साह ल्याउन सक्थ्यो, त्यो ल्याउन सकेन। यसका लागि थुप्रै बहानाबाजी गर्न सकिला तर गर्न सकिने साधारण कुरा पनि गर्न नसक्दा पुनः एकचोटि नेपालीको निस्पृह र लड्मुखा प्रवृत्तिको पुनरावृत्ति भएको छ।
रंगशाला र अन्य खेलस्थल भूकम्पले ध्वस्त थिए। मानिलिऊँ, पुनर्निर्माणका लागि हामीसित प्रभावकारी प्रविधि र प्राविधिक थिएनन्। स्रोतसाधन थिएन। आर्थिक अभाव थियो। सामान सबै विदेशबाट मगाउनु पथ्र्यो। धेरै कुरा हाम्रो नियन्त्रणभन्दा बाहिर थिए, छन्। तर एउटा गीत बनाउन हामीलाई केले रोक्यो ? जब कि अलिकति सुझबुझ र विवेक प्रयोग गरिएको भए मुलुकको प्रकृति, संस्कृति र गौरव झल्काउने एक थान गीत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सकिने थियो। यसका अलावा बुद्धको भूमिबाट, सगरमाथाको आँगनबाट आपसी सद्भाव र भाइचाराको सन्देश संसारलाई दिन सकिने थियो। हुन त एक थान गीत लेख्दैमा, लय भर्दैमा र संसारलाई सुनाउँदैमा उत्पातै केही लछारिने होइन। उसो त साफ गेम हुँदैमा पनि नेपालको खेलकुद जगत्ले रातारात फट्को मार्ने होइन। नेपालीको दुःख निमेषभरमा नामेट हुने पनि होइन।
साफ गेमको गीत बनाउने प्रक्रिया अगाडि नबढ्दा यसले केही प्रश्न भने अवश्य छाडेर गएको छ, ‘नेपालमा राम्रा गीतकार, संगीतकार र गायकहरू छैनन्। नेपाल कला, संस्कृति र प्रकृतिको धनी देश होइन। गीत भनेको रमाइलोमा उफ्रिनका लागि बनाइने हल्का मनोरञ्जनको साधन मात्रै हो। गीतले कूटनीति, मित्रता र आपसी असमझदारी हटाउन केही योगदान गर्दैन। गीत र संगीत राज्यका नजरमा अनुत्पादक विषय हुन्। मानव समाजमा यसको खासै महत्व छैन।’