भित्रभित्रै जलिरहने ‘भुसको आगो’
काठमाडौं : ‘हरेक रंगकर्मीको सपना हुन्छ, आफ्नै एउटा नाटकघर होस्, जहाँ रंगकर्मका हरेक कार्य भएर स्वतन्त्र गर्न पाइयोस्। कसैले कचकच नगरोस्, बिनाअवरोध नाटक खेल्न पाइयोस्। अभिनयमा रमाउने मौका मिलोस्। एक दशकअघि देखेको हाम्रो यो सपनाले अब आकार लिएको छ’, आइतबार रातोपुलस्थित शैली थिएटरको उद्घाटन कार्यक्रममा थिएटरका अध्यक्ष नवराज बुढाथोकीले आफ्ना सपना साकार भएकोमा खुसी व्यक्त गरे।
साहित्यको पुरानो विधा हो नाटक। नेपालमा पनि धेरै पहिलादेखि नाटक देखाइँदै आएको छ। राणाकालमा दरबारमा रंगरमाइलोका लागि नाटक हेर्ने चलन थियो। एक समय त सडक नाटक र कचहरी नाटक गाउँगाउँमा जनचेतना फैलाउने प्रभावकारी माध्यम पनि थियो। यो क्रम अहिलेसम्म जारी छ। पछिल्लो समय राजधानीमा नाटकघर खुल्ने क्रम बढ्दो छ। एकाध नाटकघर र नाट्य समूह निष्क्रिय नभएका भने होइनन्। यसै क्रममा २०६५ सालदेखि स्थापना भएको शैली थिएटरले औपचारिक रूपमा आइतबार आफ्नै नाटकघर शुभारम्भ गरेको छ। उद्घाटन समारोहमा कलाकारहरू नारायण रायमाझी, प्रकाश सपूत, बद्री अधिकारी, विजय विस्फोट, रमेश बुढाथोकीलगायतको उपस्थिति थियो।
नाटकघर स्थापना भएपश्चात् पहिलो नाटक ‘भुसको आगो’ मञ्चन भइरहेको छ। रंगमञ्चमा सक्रिय रंगकर्मीको समूह हो शैली थिएटर। कला साहित्य र संगीतको विकासमा निरन्तर लागिरहेको छ। बन्द कोठाभित्र मञ्चमा हुने नाटक होस् या खुल्ला आकाशमुनि सडक वा कचहरी नाटक होस् विगत १० वर्षदेखि यो समूह नाट्यकर्ममै सक्रिय छ।
शैलीले आमा नहँुदा एक साँझ, सुनौलो माछा, म जोक्कर बन्छु, सराप परेको देश, भान्कालगायत ३० भन्दा बढी नाटक उत्पादन गरिसकेको छ। यसले स्थापनाकालदेखि नै राष्ट्रिय बालनाटक महोत्सव सञ्चालन गर्दै आएको छ। अहिलेसम्मको बालनाटक महोत्सवमा विभिन्न स्कुलबाट आएका एक सय २० भन्दा बढी नाटक मञ्चन भइसकेका छन्। यसका साथै यो समूहले बनफूल र भुइँमान्छे शीर्षकको चलचित्र पनि निर्माण गरेको छ। गगी, चण्डिका, अनागरिक, साइलेन्ट क्राई, नतिजा टेली चलचित्र र अँध्यारो उज्यालो, अन्डर द नाइट स्काईजस्ता डकुमेन्ट्री निर्माण गरी यो समूहले भिडियो चलचित्रमा पनि आफूलाई अब्बल सावित गरिसकेको छ।
नाटक भुसको आगो एक विद्रोहात्मक नारी प्रधान नाटक हो। गोविन्दबहादुर मल्ल गोठालेको चर्चित नाटक ‘भुसको आगो’ लाई थिएटरमा मञ्चन गरिएको हो। प्रजातन्त्र स्थापनापछि र राजा महेन्द्रले ‘कु’ गर्नुअघिको नेपाली सामाजिक पृष्ठभूमि नाटकले देखाएको छ। त्यो बेलाको पितृसत्तात्मक समाजमा महिलालाई कुन रूपमा हेरिन्थ्यो, महिलाको अवस्था के थियो भन्ने कुरा नाटकले समेट्ने प्रयास गरेको छ।
सानै उमेरमा विवाह गरेकी उर्मिलालाई परिवारले घरबाट निकालेको छ। उसको लोग्ने सुन्दरमान आमाबुवाको अघि केही बोल्न सक्दैन। उसले अर्को विवाह गरी तीनजना छोराछोरीसमेत जन्माएको छ। यता उर्मिला सुन्दरमानलाई नै लोग्ने ठानी उसकै समर्पणमा जीवन जिउन बाध्य छे। उर्मिलाका आमा, बज्यै र आफन्तले लोग्नेकै घरमा गएर जीवन बिताउन दबाब दिन्छन्। माइतीमा बसेर कलेज पढ्दै गरेकी उर्मिलामा विद्रोहात्मक चेत छ। गाउँले नेत्री शारदाको संगतमा उसले नारी अधिकारका विषयमा बुझेकी छे। कलेजमा हुने विभिन्न कार्यक्रम, छलफल र मिटिङमा समेत उसले उपस्थिति जनाउँछे। तर घर परिवार र विशेषत आमा नानीछोरी र बज्यैलाई ऊ घरबाहिर हिँडेको मन पर्दैन। उनीहरू उर्मिलालाई लोग्नेको घर पठाउन नसकेकोमा दुःख मान्छन्। लोग्नेको परिवारले जे जस्तो गरे पनि छोरीले सहनुपर्छ र घर गरिखानुपर्छ भनेर उर्मिलालाई रातदिन टोकसो गर्छन्।
उर्मिला कलेज पढ्ने भएदेखि सुन्दरमानले उसलाई पछ्याउन थालेको हो। अप्रत्यक्ष माया दर्शाउन थालेको छ। उसले एकान्तमा उर्मिलालाई भेट्न बोलाएको छ। यसले उर्मिला आक्रान्त परेकी छ। सुन्दरमानलाई माया गर्छे ऊ तर पनि घरमा जान चाहन्न। आफू घरमा गएपछि सुन्दरमानकी जेठी श्रीमतीमाथि अन्याय हुन्छ भन्ने बुझेकी छ उसले। सुन्दरमानलाई भेट्न जाउँ नजाउँको दोधारमा उर्मिला भित्रभित्रै जलेकी छ। ऊभित्र भुसको आगोजस्तो चिन्ताको लहर सल्किएको छ। नानीछोरी उर्मिलालाई घर पठाउन जोडबल गर्छिन्। अत्यन्तै कर्कस स्वरमा गाली गर्छिन्। उर्मिलाले सुन्दरमानलाई भेट्न नजाने निर्णय सुनाउँदै गर्दा मञ्चको बत्ती झ्याप्प निभ्छ। नाटक सकिन्छ। नाटकले नारी विद्रोह र तत्कालीन समाजलाई उद्घाटन गरेको छ।
उर्मिलाको फुपूकी छोरी राधाको भूमिकामा सरस्वती अधिकारीको अभिनय छ। नाटकमा उनको भूमिका अत्यन्तै असहाय, गरिब र दुःखी विधवा महिलाको रूपमा चित्रण गरिएको छ। जसले भर्खरै मात्रै श्रीमान् गुमाएकी छे। राधाले श्रीमान्को याद र मायामा रातदिन विलाप गरिरहन्छे। एक छोराको साथमा मामाघरमा आश्रय लिन आएकी राधा मामाकी छोरी उर्मिलालाई साथ दिन्छे। सम्झाउँछे, आफ्नो लोग्ने नभएकाले जिन्दगी नै सकिएको जस्ता विरहका कुरा सुनाउँछे। विधवा महिलालाई तत्कालीन समयमा समाजले कसरी हेथ्र्यो र उनीहरूको अवस्था कस्तो थियो राधाको अभिनयले प्रस्ट पारेको छ।
नाटकमा देखिने सबै पात्र महिला छन्। पुरुषपात्र नेपथ्यमा सीमित छन्। पुरुषलाई पर्दापछाडि राखेर महिलालाई अग्रपंक्तिमा ल्याउनु नाटककारले महिला सशक्तीकरणको पक्षमा वकालत गरेका हुन् भनेर बुझ्न सकिन्छ। उनले त्यसबेलाको समाजलाई नाटकका पात्रमार्फत विद्रोह गरेका छन्।
करिब एक घण्टा १५ मिनेटको नाटकको कथा सलल बगेको छ। मञ्चको साजसज्जा हेर्दा गाउँले जीवनको झल्को आउँछ। पृष्ठभूमिमा बज्ने प्रत्यक्ष संगीत र गीतले नाटकमा रौनक भरेको छ। कलाकारको अभिनय जीवन्त छ। कहीँ कतै संवादमा अस्वाभाविक अश्लील गाली सुनिन्छ। यसले दर्शकको मनमा नमिठो भाव उत्पन्न हुन्छ। महिलालाई नैतिक अनुशासन सिकाउने बहानामा नाटककारले संवादमा केही नमिठा उखान टुक्का पनि प्रयोग गरेका छन्।
नाटकको निर्देशन गरेका छन् नवराज बुढाथोकी र सुवास सुवेदीले। नाटकमा सुष्टि आचार्य, अस्मिता खनाल, निमा पाण्डे, सगुन पोखरेल, चाँदनी शाही, सरस्वती अधिकारी, निर्भीक भट्टराई, सुवास सुवेदीलगायतको अभिनय छ।