बिर्सिएका परशुनारायण
दाङदेउखुरी गोबरडिहास्थित परशुनारायण चौधरीको घर यतिबेला भूतबंगलाजस्तै देखिएको छ। ऐतिहासिक पात्रको छवि बनाएका परशुनारायणको घरलाई रंङरोगन गरेर गरेर संग्रहालय बनाउने प्रस्ताव गरिएको छ। परशुनारायणको घरसँगै काकाका घरमा बस्दै आएका प्रदेश ५ का सांसद इन्द्रजित चौधरीले भने, ‘परशुनारायणको घरलाई थारू संग्रहलाय बनाऔं भनेको उनका भाइ गोटियारहरूले मानिरहेका छैनन्।’संग्रहलाय बनाउन दिए त्यो घर र सँगैको जग्गासमेत सरकारकै नाममा हुनेछ भनेर उनीहरूले नमानेका रहेछन्।
परशुनारायणको २०६९ मंसिर २१ गते निधन भएको थियो। तर उनको योगदानको कहींकतै चर्चा भएन, आज पनि भएको छैन। ऐतिहासिक आन्दोलनमा अग्रमोर्चामा रहेका सबैको मरेपछि चर्चा हुन्छ भन्ने भनाइ उनका लागि अपवाद रह्यो।
नेपाली कांग्रेसको महामन्त्री रहिसकेका परशुनारायण बीपी कोइरालाका प्रिय पात्र थिए। उनी बीपी कोइराला नेतृत्वको सरकारमा मन्त्री पनि भए। काशी विश्वविद्यालयमा पढ्दापढ्दै बीपी कोइरालाको संगतमा लागेका चौधरी आफ्नो गृहजिल्ला दाङमा कांग्रेसका पक्षमा लागेर राणाशासनविरुद्ध लडेका थिए।
०१७ साल पुस १ गते राजा महेन्द्रले बीपीको प्रजातान्त्रिक सरकारलाई ‘कू’ गर्दा परशुनारायण विदेश भ्रमणमा थिए। स्वदेश नफर्की उनी उतैबाट भारत निर्वासित भए। मेलमिलापको नीतिसँगै नौ वर्षको निर्वासनपछि उनी बीपीसँगै २०२५ सालमा नेपाल आएका थिए। उनको लगनशीलताको कदर गर्दै कांग्रेसले वरिष्ठ महामन्त्री बनाएको थियो। बीपीले बारम्बार भन्ने गरेका थिए, ‘मेरो शेषपछिको उत्तराधिकारी तपाईं नै हो ।’ तर उनी २०३८ सालमा एकाएक पञ्चायत प्रवेश गरे। त्यसबेला बीपीको टिप्पणी थियो, ‘चौधरीजी सुविधाभोगी राजनीतिमा लहसिए ।’
पञ्चायत प्रवेशपछि उनी पञ्चायत नढल्दासम्म लगातार मन्त्री बनिरहे। जीवनको उत्तरार्धमा राजसभा स्थायी समिति सदस्यसमेत बने उनी।
छयालीसको आन्दोलनपछि बनेको दोस्रो लोकतान्त्रिक सरकारको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरे। धेरैको भन्ने गरेका थिए— परशुनारायणले पञ्चायत प्रवेश नगरेको भए आज त्यही थारूको छोरो प्रधानमन्त्री हुन्थ्यो। थारू समुदायबाट राजनीति गर्नेमध्ये परशुनारायणजत्तिको उचाइ लिन कसैले सकेनन्। पञ्चायत प्रवेश गरेर सुविधाभोगी राजनीति गरेको गणना त सबैले गरे, तर उनले दशक बढी निर्वासनमा बिताएको र राणाशासनको विरुद्धमा लडेका स्मरण कसैले गरेनन्। छोरी र श्रीमती गुमाएका र दुवै छोरा बिदेसिएपछि उनले नितान्त एक्लो जीवन बिताइरहेका थिए। सरकार र समाजबाट उनले साथ त पाएनन् नै, पारिवारिक सुख पनि उनको भाग्यमा रहेन।
परशुनारायणका दुई छोरामध्ये जेठो अमेरिका र कान्छो चेक गणतन्त्रमा बस्छन्। बाबुका नाउँमा कुनै ट्रस्ट, सम्झना कोष खडा होस् भन्ने उनीहरूको चाहना पनि देखिएन साताै पुण्यतिथि आइपुग्दासमेत। थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) को उनी केन्द्रीय अध्यक्षसमेत रहे। तर थाकसले समेत उनको सम्झनालायक केही काम गर्ने जमर्को गरेको छैन। उनको भाइगोत्रहरूको पारिवारिक संस्था सत्गौवा समाज छ। नेकपाबाट संघीय सांसद रहेकी गंगा थारू सोही सत्गौवा समाजबाट प्रतिनिधित्व गर्छिन्। तर सत्गौवा समाजले समेत उनको चीरस्थायी सम्झनाका लागि कुनै खाका अघि सारेको छैन।
परशुनारायणको पुर्ख्याैली गाउँ गोबरडिहास्थित उनको पक्की भवन त्यो क्षेत्रकै ऐतिकासिक दरबार मानिन्छ। त्यसलाई सामान्य मर्मत गरेर थारू संग्रहालय बनाउन सके उनको एउटा नासो जोगिने थियो। तर उनका भाइछोराले सो भवन भत्काएर इँटा बाँड्ने सुरमा छन्। सायद यसैलाई भनिन्छ, ‘बिल्ली क्या जाने अदरकका स्वाद ।’