मसँग कुनै कक्षाको प्रमाणपत्र छैन

मसँग कुनै कक्षाको प्रमाणपत्र छैन

मेरो जन्म काठमाडौंको नयाँसडक भित्र बटुसवल बहालमा भएको हो। हाम्रा बुवा नयराज पन्त प्राध्यापन गर्नुहुन्थ्यो। मेरी कान्छी बहिनी २८ दिनकी हुँदा ३९ वर्षको अल्पायुमै आमाको निधन भयो। त्यतिबेला बुवा ४० वर्षको हुनुहुन्थ्यो भने म पाँच वर्षको मात्रै थिएँ। दाजु महेशराज पन्त र दुई दिदीहरू पनि सानै हुनुहुन्थ्यो।

कम उमेरमै श्रीमतीको निधन भए पनि त्यसबेलाको चलनलाई चुनौती दिँदै पिताजीले दोस्रो विवाह गर्नु भएन। त्यति मात्र होइन दोस्रो विवाह गर्ने अन्य कसैको निम्ता मान्न पनि उहाँ जानु भएन। दोस्रो विवाह गर्नेसँग उहाँले व्यंग्यात्मक कुराकानी गर्नु भएको सुन्दा हामीलाई ज्यादै रमाइलो लाग्थ्यो। त्यसपछि मेरो पालनपोषण बज्यैले गर्नुभयो। हाम्रो पुख्र्यौली थलो गोरखा भए पनि हामी काठमाडौंका पुरानै बासिन्दा हौं।

हाम्रो बुवाले वनारसमा अध्ययन गर्नुभएको हो। त्यसबेला मध्यमादेखिको पढाइ नेपालमा थिएन। उहाँ वनारसमा रहँदा आफ्नै ससुराली घर अर्थात् मूल पुरोहित जनकराजको घरमा बस्नु भएको रहेछ। त्यहाँ पढ्दा आफू सधैं प्रथम श्रेणीमा प्रथम भए पनि बुवाले परीक्षकका थुप्रै गल्तीहरू देख्न थाल्नु भएछ। बुवालाई ३३ नम्बर ल्याएर पास हुने त्यस्तो त्रिखण्डी पद्धतिसँग चित्त बुझ्न छाडेछ।

यो पद्धतिले केही पनि सिकिँदैन र यसबाट कुनै कार्यक्षमता पनि आउँदैन भन्ने निचोडमा उहाँ पुग्नु भएछ। बरु पुरानै ग्रन्थ कण्ठ पार्ने पद्धति ठीक छ भन्ने उहाँलाई लाग्यो। उहाँले त्यसपछि १९९७ सालबाट घरैमा पढाउन सुरु गर्नुभयो। तर उहाँले कक्षाको, विद्यालयको कुनै नाम भने राख्नु भएन।

मेरो अक्षरारम्भ पाँच वर्षकै उमेरमा देवप्रसाद भण्डारी गुरुबाट भयो। त्यसपछि मैले पनि त्यही पढेँ। त्यहाँ हरबखत पढ्ने, कण्ठ पार्ने र गुरुलाई सुनाउने काम मात्रै हुन्थ्यो। कुनै गद्य र पद्य लेख्नै पर्ने नियम पनि थियो। पाठ सुनाउँदा गल्ती गर्न पनि नपाइने र हेरेर भन्न पनि नपाइने नियम थियो। हामी त्यसबेला बाँसको कलमले लेख्थ्यौं। त्यसको डोब अझै पनि मेरा औंलामा छँदैछ। त्यहाँबाट हामी ४० जना विद्यार्थी दीक्षित भयौं। पाठ सुनाउने क्रम २०५९ सालमा बुवाको निधन नहुन्जेलसम्म पनि निरन्तर चलिरह्यो। मैले दिनहुँ आधा घन्टा पाठ सुनाउनु पथ्र्यो भने बुवाले ४-५ दिनमा मलाई पाठ सुनाउनु हुन्थ्यो। बुवाले आफू खस्नुभन्दा करिब एक महिनाअघि अचानक मलाई बोलाएर भन्नुभयो, ‘मेरो अवस्था अब बिग्रिँदै गयो। तैंले धेरै पढेको छैनस्। अबदेखि आधा घन्टा पाठ सुनाएर पुग्दैन। भोलिदेखि तैंले एक घन्टा पाठ सुनाउनुपर्छ।’ मैले भोलिपल्टै देखि अझ घोक्न थालेँ र एक घन्टा पाठ सुनाउन थालेँ। त्यसको १५ दिन पछि बुवा बिरामी पर्नुभयो र खस्नुभयो। म त्यसबेला विश्वविद्यालयको प्राध्यापक भइसकेको थिएँ। मेरो उमेर ५३ वर्षको थियो। बुवालाई कान्छा छोराले के गरी खाला भन्ने चिन्ता रहेछ।

मेरो औपचारिक शिक्षा भने भएन। मसँग कुनै पनि कक्षाको प्रमाणपत्र छैन। औपचारिक शिक्षाको प्रमाणपत्र भएर मात्रै काम लाग्दैन भनेर नै बुवाले ग्रन्थ कण्ठस्थ पद्धति र अनुसन्धान पद्धति सुरु गर्नु भएको थियो। उहाँले शिक्षामा क्रान्ति नै गर्नु भएको थियो। त्यही कक्षा अथवा त्यही पाठशाला पछि संशोधन मण्डल रूपमा विकसित भयो। बुवाकै प्रेरणामा २००९ साल असोज ५ गते पहिलो इतिहास संशोधन निस्कियो। पछि त्यही समूह संशोधन मण्डलको रूपमा विकास भयो।

हामी पनि बिहान सबेरैदेखि घरमा बुवासँग र दिउँसो त्यही कक्षामा पढ्थ्यौं। त्यहाँ पढ्नेहरूमा महेशराज पन्त, धनवज्र वज्राचार्य, केशवमणि आचार्य दीक्षित, ज्ञानमणि नेपाल, गौतमवज्र वज्राचार्य, शंकरमान राजवंशी आदि हुनुहुन्थ्यो। अगाडि पढ्नेले पछि आउनेलाई पढाउने चलन थियो। म भने सबैभन्दा कनिष्ठ विद्यार्थी थिएँ। मैले त्यहाँ कसैलाई पनि पढाइनँ।

पढ्नेबाहेक घरको काममा मेरो ठूलो जिम्मेवारी थिएन। भान्सामा चाहिने सब्जी आदि किन्न भने म नियमित जस्तै बजार गइरहन्थें। श्राद्ध, जन्मोत्सव आदिमा डोकोमै सब्जी ल्याउने गथ्र्यौं। त्यसका लागि हाम्रो घरमा बस्ने तामाङ दाइभाउजूले सहयोग गर्थे। खेल्नकै लागि भनेर घरबाहिर जाने चलन खासै थिएन। कतै निस्किहाले पनि बुवाले नदेख्ने गरी मात्रै जाने गथ्र्यौं। एक पटक मलाई पनि खेल्न लानकै लागि साथीहरूले फुटबल टोलीको नेता बनाए। तर हाम्रो कक्षा ५ बज्दा मात्रै सकिन्थ्यो। मैले उनीहरूले तोकेको समय ४ बजे जान नसकेपछि उक्त समूह छाडिदिएँ।

म सिनेमा हेर्न पनि गइरहन्थेँ। कहिलेकाहीँ त पाटन, भक्तपुरसम्म पनि पुग्थेँ। ढिलो पुगेर राष्ट्रिय गान, ट्रेलर हेर्न छुट्यो भने ज्यादै खल्लो लाग्थ्यो। जति नै हतार गरे पनि घर फर्किन चार घन्टा लागिहाल्थ्यो। बुवाले सोध्दा सिनेमा हेरेर आएको भन्थे। बुवाले त्यतिबेला कुनै पनि प्रतिक्रिया जनाउनुहुन्न्थ्यो। भोलिपल्ट पाठ बुझाउँदा गल्ती भयो वा कतै छुट्यो भने सिनेमा हेर्न गएर के पढ्छस् भनेर झपार्नु हुन्थ्यो।

भाइबहिनी जे काम गर्दा पनि भित्री हृदयदेखि गर्नुपर्छ। चाख भएको विषय पढ्दा मात्रै राम्रो गर्न सकिन्छ। विषय छनोटमा कसैको पनि करकापमा पर्नु हुँदैन। सधैं पहिलो हुन्छु वा सबैभन्दा अगाडि हुन्छु भन्ने लक्ष्य राख्नुपर्छ। कुनै पनि कुरा सिक्दा त्यसको गहिराइमा पुग्ने बानी गर्नुपर्छ। कुनै पनि विषयवस्तु आफूलाई आउँदैन भने मैले जानिन भनेर जो कसैसँग पनि सिक्न तयार हुनुपर्छ। सिक्न लजाउने मानिसले जीवनमा प्रगति गर्न सक्दैन। सिकेर कहिल्यै सानो भइँदैन। सतही ज्ञानले पनि लक्ष्यमा पुर्याउँदैन।

पहिलेपहिले गहिराइमा पुगेर पढ्ने बानीले नै एसएलसी मात्रै गरेकाहरू अंग्रेजी विषयमा राम्ररी काम चलाउँथे। मध्यमा मात्रै पढेकाहरू संस्कृतमा धुरन्धर हुन्थे। त्यसकारण स्वअध्ययनमा जोड दिनुपर्छ। औपचारिक शिक्षाको कुनै प्रमाणपत्र नभए पनि मलाई २२ जना विद्यार्थीले गुरु थापेर पीएचडी गरेका छन्। हाल ९ जना अनुसन्धानरत छन्। इतिहास, संस्कृति र गणित विषयमा मेरा ३५ बढी पुस्तक प्रकाशित छन्। मेरा घरमा दुई तल्लामा पुस्तकालय छ। त्यसैले म भाइबहिनीलाई हरसमय पढ्ने र पुस्तक संकलन गर्ने काममा ध्यान दिन सल्लाह दिन्छु।

(इतिहासविद् एवं प्राज्ञ पन्तसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.