हात्तीले झ्याल भत्काएर भण्डारण गरेको धान नष्ट गरेपछि...
राजविराज : हात्तीले भण्डारण गरेको धान नष्ट गरेको छ। शम्भुनाथ नगरपालिका–८ बैरयाहीमा गएराति घरमा भण्डारण गरी राखेको धान हात्तीले नष्ट गरेको हो। धान भित्र्याएर घरमा भण्डारण गरेको धान खान पल्केको हात्तीले बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएर नष्ट गरेको छ।
यस्तै सोही गाउँमा किसानले खेतमा लगाएको आलु, कोबीलगायत तरकारी बालीमा पनि क्षति पुर्याएको स्थानीय सरस्वती चौधरीले बताइन्। भण्डारण गरेको धान खान आएको हात्तीले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबीमा क्षति भएको पीडितहरुले बताए।
कोशी टप्पु वन्यजन्तु आरक्षको जंगलबाट आउने जंगली हात्ती आतंकले त्यस क्षेत्रका स्थानीय त्रासमा छन्। दिनभरि आरक्षमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन्। हात्तीले घरमा क्षति पुर्याउनुका साथै घरमा राखिएको अन्नपातसमेत खाने गरेको छ । महिनौंको मेहनतपछि भित्र्याएको धान खाने र चिसो मौसममा हात्तीले घर भत्काउने गरेको छ ।