मैनबत्ति बालेर मनाइयो ‘मर्यादित महिनावारी दिवस’
राजविराज : झमक्कै साँझ परेको छ, सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा मानिस हातमा मैनबत्ति लिएर लहरै उभिएका छन्। एउटा मैनबत्ति बल्छ, क्षणभरमै एकले अर्कोको मैनबत्ति सल्काउँछन्। गजेन्द्र चोकको वरिपरि बलेको मैनबत्ति सबैले चारैतिर राख्छन्। चोक उज्यालो बन्छ।
मैनबत्ति झै सबैको घरमा समानताको उज्यालो फैलियोस् र महिनावारीबारे जनचेतना जागोस् भनेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिले साँझमा दीप प्रज्वलन गरेको हो।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाले महिनावारी सामान्य शारीरिक अवस्था भएकाले यसलाई स्वस्थ्यसँग जोडेर हेर्नुपर्ने बताइन्। महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीको संयोजनमा भएको कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मानवअधिकारको साझा सवालसँग जोडेर सरोकारवालालाई महिनावारी केन्द्रमा राखेर काम गर्न झकझक्याउनकै लागि दिवस मनाएको बताए।
अधिवक्ता मनु खनालले महिनावारी भएपछि मात्र प्रजनन प्रकृया सुरु हुने र सृष्टि चल्ने भएकाले महिनावारीबारे उत्पन्न सबैखाले हिंसा रोकथाम गर्न महिनावारीका बारेमा खुलेर बहस गर्न जरुरी रहेको बताइन्। मर्यादित महिनावारी दिवसकै अवसरमा शनिबार इन्सेकले राजविराजमा रक्तदान कार्यक्रम गरेको थियो।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा विश्वमै पहिलो पटक मनाइएको हो। डिसेम्बर ८ लाई ‘मर्या्दित महिनावारी दिवस’का रुपमा घोषणा गरी संसारभर मनाउनका लागि सरकारले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने प्रतिवद्धता जनाएको छ।
राधा पौडेल फाउण्डेसनको अग्रसरतामा मर्यादित महिनावारी दिवस ६ वटा प्रदेशको १२ जिल्लामा मनाइएको र विदेशमा पनि मनाइएको फाउण्डेशनले जनाएको छ। लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको मर्यादित महिनावारीकी अभियानकर्मी राधा पौडेलको तर्क छ।