बिहेको आश्वासन देखाएर बलात्कार
राजविराज : बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बिहेको आश्वासन दिएर १७ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका सिरहा नगरपालिका-६ का २८ वर्षीय दिपेन्द्र महरा सोमबार पक्राउ परेका हुन्।
बालिकालाई बिवाह गर्ने भन्दै राजविराजस्थित दीपसाजन होटलमा राखी कात्तिक २६ गते बलात्कार गरेको आरोपमा प्रकाउ गरेको सप्तरीका डिएसपी तिलक भारतीले बताए। भारतीका अनुसार सिरहा प्रहरीले पक्राउ गरी कारवाहीका लागि जिप्रका सप्तरीमा बुझाएको हो।
बालिकालाई ललाईफकाई बिहेको आश्वासन दिएर बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए। घटनास्थल सप्तरी भएको भन्दै सिरहा प्रहरीले कारवाहीका लागि सप्तरी प्रहरीमा पत्रसहित फाइल पठाएपछि जिप्रका सप्तरीले मंसिर १८ गते उजुरी दर्ता गरेको थियो। सोमबार सिरहा प्रहरीले आरोपित पक्राउ गरी सप्तरी प्रहरीलाई बुझाएपछि सोमबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी भारतीले बताए।