जब देशको शिर उठ्यो
दक्षिण एसियाली खेलकुद (साग) को तेह्रौं संस्करण सकिएको छ। सामान्य व्यवस्थापकीय कमीकमजोरीबाहेक समग्रमा प्रतियोगिता सफल रह्यो। सागको सफल आयोजनाले राष्ट्रको गौरव पनि बढाएको छ। नेपालले सन् २०१६ मै साग आयोजनाको अधिकार पाएको थियो। यस आधारमा तेह्रौं साग आयोजना गर्न हामीसँग तीन वर्ष समय थियो। तर हामीले अन्तिम समयमा आएर मात्र प्रतियोगिताको तयारी थाल्यौं। त्यही कारण केही व्यवस्थापकीय कमजोरी देखिएका हुन सक्छन्। यस्ता कुरालाई हामीले शिक्षाका रूपमा ग्रहण गर्नुपर्छ। भविष्यमा ठूला प्रतियोगिता आयोजनाको अवसर पाउँदा पर्याप्त समय राखेर मात्र तयारी थाल्नुपर्छ भन्ने सबक यसले सिकाएको छ।
आयोजना र पदकीय दृष्टिकोणले तेह्रौं साग देशका लागि उपलिब्धमूलक रह्यो। प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल दुई सय ६ पदक जिते। दक्षिण एसियाली खेलकुदको एउटै संस्करणमा नेपालले जितेको यो हालसम्मकै सबैभन्दा बढी स्वर्ण पदक हो। यसअघि नेपालमै भएको आठौं साफ खेलकुदमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो। यसपटक त्यो कीर्तिमानलाई पनि हामीले उछिन्यौं। पक्कै पनि हाम्रा खेलाडीको अथक परि श्रम, नियमित प्रशिक्षण र बलियो आत्मविश्वासका कारण यो सम्भव भएको हो। यो सागमा हाम्रा केही खेलाडीले ऐतिहासिक सफलता पनि चुमे। महिला क्रिकेटमा अञ्जली चन्दले विश्व कीर्तिमान नै बनाइन्। माल्दिभ्सविरुद्ध खेलमा उनले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिइन्। अन्तर्राष्ट्रिय क्रिकेटमा यो निकै दुर्लभ कीर्तिमान हो। अञ्जली बनाएको यो कीर्तिमान भविष्यमा पनि लामो समयसम्म तोडिने सम्भावना देखिँदैन। पौडी खेलाडी गौरिका सिंह एक्लैले चार स्वर्ण जितिन्। सागमा हालसम्म कुनै नेपाली खेलाडीले यस्तो सफलता प्राप्त गर्न सकेको थिएन।
सबै खेलाडीले आफ्नो धर्म निर्वाह गरे। अब पालो सरकारको हो। सरकारले पदक ल्याउने खेलाडीको प्रोत्साहनस्वरूप ३ देखि ११ लाख रुपैयाँसम्म दिने घोषणा गरेको छ। त्यो स्वागतयोग्य छ। अब तिनको खेलस्तर उकास्न पनि राज्य अग्रसर हुनुपर्छ। सरकारले खेलकुद क्षेत्रमा गरेको लगानी पर्याप्त छैन। लगानी नगर्ने र नतिजा मात्र खोज्ने प्रवृत्ति राम्रो होइन। अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सुविधासम्पन्न भौतिक पूर्वाधार चाहिन्छ। खेलाडीले दक्ष प्रशिक्षकहरूबाट नियमित र वैज्ञानिक पद्धतिको प्रशिक्षण पाउनुपर्छ। खेलाडीले गाँस, वास, कपास र स्वास्थ्य सुविधाजस्ता आधारभूत आवश्यकताका लागि भौंतारिनुपर्ने अवस्था नआओस् भनेर राज्य संवेदनशील बन्नुपर्छ। यस्ता न्यूनतम आवश्यकताहरू खेलाडीका लागि आकाशको फल बन्ने प्रवृत्ति अन्त्य गर्न सरकारले खेलकुद क्षेत्रमा सक्दो लगानी गर्न आवश्यक छ। सरकारले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई समेत सक्रिय बनाउने योजनाहरू अघि सार्नुपर्छ। पक्कै पनि खेलाडी भनेका देशका गहना हुन्। उनीहरूले अन्तर्राष्ट्रिय जगत्मा देशको फरक पहिचान स्थापित गराइरहेका हुन्छन्।
खेलाडी देशका सद्भावनादूत पनि हुन्। अहिले राज्यले खेलकुद क्षेत्रमा गरेको लगानी पर्याप्त देखिँदैन। सरकारले नारामा खेलाडीलाई राष्ट्रको गहना भन्ने। तर व्यवहारमा आफूलाई आवश्यक पर्दा लगाउने र काम सकिएपछि फुकालेर दराजमा थन्क्याउने परम्पराको अन्त्य हुनुपर्छ। यसो हुन सके मात्र आगामी दिनमा हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देशका लागि अझ उत्कृष्ट प्रदर्शन गर्न सक्छन्। अन्त्यमा तेह्रौं सागमा विभिन्न पदक जित्ने र पदक जित्न नसके पनि सफलता चुम्न सक्दो प्रयास गर्ने सबै खेलाडी धन्यवादका पात्र हुन्। हार्दिक बधाई !