प्रहरीले नकुटेको भए राजनीतिमा लाग्ने थिइनँ
मेरो जन्म भोजपुर जिल्लाको गोगनेस्थित मावली घरमा भएको हो। तीन महिनाको भएपछि मलाई भोजपुर बजारस्थित घरैमा सारिएछ। म त्यहीँ हुर्किएछु। त्यहीँको बाल कक्षामा मेरो अक्षरारम्भ भयो।
उक्त कक्षामा तीन वर्षसम्म एउटै मात्र किताब पढाइन्थ्यो। जोड, घटाउ, गुणन, भागाका साथै अंग्रेजी, नेपाली अक्षर पनि सिकाइने गरिन्थ्यो। एक सय बीस पेजको त्यही किताबबाट नेवारी भाषासमेत सिक्न पाइन्थ्यो।
हामी काठको पाटीमा माटो छरेर लेख्थ्यौं। सदरमुकाममै घर भएकाले मलाई विद्यालयको समस्या भएन। कक्षा ७ सम्म सरस्वती मिडिल स्कुलमा पढेँ। हाम्रो बुवा माल अड्डामा काम गर्नुहुथ्यो। उहाँको सरुवा भएपछि म पनि उहाँसँगै गएर संखुवासभाको चैनपुरमा कक्षा आठ पढेँ। त्यहाँ एक वर्ष बसेपछि हामी घरै फर्कियांै।
२०२५ सालमा मैले विद्योदय हाइस्कुलबाट एसएलसी पास गरेँ।
त्यसपछि २०२६ सालमा काठमाडौं आएर त्रिचन्द्र कलेजमा पढ्न थालेँ। राजनीतिशास्त्र, नेपाली र इतिहास मेरा मुख्य विषय थिए। त्यसै वर्ष साउन महिनामा क्याम्पसमा ठूलो आन्दोलन भयो। प्रहरीले विद्यार्थीलाई जथाभावी कुटपिट गर्यो। कुटाइ खानेजति हामी सबै पहिलो वर्षका विद्यार्थी थियौं।
आन्दोलन तेस्रो वर्षका विद्यार्थीले गरेका रहेछन् भन्ने पनि हामीलाई पछि मात्रै थाहा भयो। हामी गाउँबाट आएका नयाँ विद्यार्थीलाई आन्दोलन हुन थालेपछि प्रहरीबाट बच्न भाग्नुपर्छ भन्ने पनि थाहा थिएन।
प्रहरीले हामीलाई महेन्द्र पुलिस क्लबमा लगेर थुन्यो। बयान लिन आएका प्रहरी अधिकारीले हामी सबै पहिलो वर्षका विद्यार्थी भएको थाहा पाएपछि छाडिदियो। त्यस बेला यति धेरै कुटाइ खाइयो कि हिजोआज सम्झँदा पनि डर लागेर आउँछ। त्यति बेला कुटाइ नखाएको भए म सायद राजनीतिमा लाग्ने थिइनँ।
साहित्यमा भने मेरो सानैदेखि लत थियो। सरस्वती स्कुलका हेडसर परशु प्रधान आफैं साहित्यकार हुनुहुन्थ्यो। उहाँ हामीलाई लेख्न र पढ्न प्रेरित गर्नुहुन्थ्यो। उहाँ पछि प्रशासन सेवातिर जानुभयो र उपसचिवबाट अवकाश हुनुभयो। मलाई रमेश विकलको सडक बालबालिकाबारे लेखिएको ‘फुटपाथ मिनिस्टर्स’ भन्ने कथाले मन मात्रै छोएन, ज्यादै प्रभावित गर्यो। यो पढेपछि कथा त जुन विषयमा पनि लेख्न सकिने रहेछ भन्ने लाग्न थाल्यो। यसले लेख्नलाई हौसला अनि प्रेरणा मिल्यो।
त्यसपछि मैले पाएसम्मका सबै किताब पढेँ। यहाँको पढाइ सकेर दुई वर्ष गाउँमा शिक्षण गर्दा पनि पढ्न छाडिनँ। हाम्री आमा निरक्षर हुनुहुन्थ्यो। पिता जागिरे भएकाले हामीलाई सामान्य खान लाउनको दुःख थिएन। हामी चार जना दाजुभाइ र दुई दिदीबहिनी थियौं। हाम्रो घरमा पनि पढ्ने किताबहरू प्रशस्त थिए।
मैले मेरो जीवनमा कहिल्यै कुनै पनि किसिमको खेल खेलिनँ। खाली हुनासाथ पढ्न र लेख्न बसिहाल्थेँ। म जति बेला जे भेटे पनि पढ्ने गर्थें। मेरा समकालीन साथीहरूमा मैलेजति कसैले पनि किताब पढेन। विद्योदय स्कुलमा व्यवस्थित पुस्तकालय थियो। पछि काठमाडौं आएपछि भारतीय र चिनियाँ दूतावासका पुस्तकालयमा पढ्ने बानी लाग्यो।
हामी असनको कमलाक्षीमा बस्थ्यौं। पित्तलको स्टोभमा पालैपालोसँग भात, तरकारी पकाएर खान्थ्यौं।
काठमाडौंमा साहित्यकारहरूका विभिन्न संगठन थिए। उनीहरूमा राजनीतिक चेतना धेरै थियो। त्यसको प्रभाव ममा पनि पर्दै गयो। श्यामप्रसाद शर्मा, वीरगन्जका महेश भट्टराई, गोविन्द भट्ट, शान्तदास मानन्धरसँग मेरो भेट हुँदै गयो। उनीहरू पनि सुरुमै आफूलाई चिनाउँदैनथे। विस्तारै अरूलाई चिन्दै गएपछि र यसले कुनै पनि अवस्थामा पञ्चायतलाई सुराकी गर्दैन भन्ने प्रस्ट भएपछि मात्रै आफ्नो परिचय दिन्थे।
उनीहरूले विस्तारै जनताका माझ जाने नीति बनाउँदै गए। गोविन्द भट्ट, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईं, कृष्णप्रसाद पराजुली पछि बालसाहित्यमा लागे। कुलमानसिंह भण्डारी भने चित्रकार थिए। साहित्यबाट संगठन गर्न ढिलो हुने बुझेपछि हामी असन्तुष्ट भयौं। साथीहरू कोही मनमोहन, कोही पुष्पलाल, कोही मोहनविक्रम सिंहका भिन्न समूहमा आबद्ध थिए। हामीले साथीभाइ मिलेर माक्र्सवाद अध्ययन केन्द्र खोल्यौं। विभिन्न होटलका मजदुरहरूसँग मिलेर ८६औं मे दिवस मनायौं। पर्चा छाप्यौं, सबैतिर बाँड्यौं।
३३ सालपछि झापाली नेताहरू सीपी मैनाली, घनेन्द्र बस्नेतहरूसँग हाम्रो सम्पर्क भयो। उहाँहरू धेरै क्रान्तिकारी हुनुहुन्थ्यो। हत्या गरेरै भए पनि परिवर्तनका पक्षमा हुनुहुन्थ्यो। हामीले त्यसमा फरक मत राख्दै गयौं। करिब दुई महिनाको बहसपछि मात्रै हामी सँगै भयौं।
म पनि २०३२ सालदेखि ४५ सालसम्म विभिन्न भूमिकामा भूमिगत रही पार्टीको गतिविधिमा लागिरहेँ। २०४६ सालको आन्दोलनपछि २०४८ सालमा चुनाव भयो। म राष्ट्रिय सभाको सदस्यमा मनोनीत भएँ। २०५१ सालमा ३८ वर्षकै उमेरमा सूचना तथा सञ्चारमन्त्री भएँ। त्यसपछि पनि छुट्टाछुट्टै समयमा जलस्रोत, स्वास्थ्य र शिक्षामन्त्री भएँ। काठमाडौं १ बाट चुनाव लडी विजयी भएँ।
केटाकेटीदेखिको मेरो लेखपढ गर्ने बानीलाई मैले कुनै पनि समयमा छुटाइनँ। भूमिगत कालमा पनि निरन्तरता दिइरहेँ। मन्त्री भएर व्यस्त हुँदा पनि म लेखिरहन्थेँ। प्रशिक्षणका समयमा कार्यपत्रहरू पनि लेख्थेँ। मेरा ५० वटा जति साहित्यिक कृति प्रकाशित छन्। ‘दुर्गा हजुरआमाको भूत’ भन्ने मेरो बालउपन्यास पनि प्रकाशित छ।
भाइबहिनीले पढ्ने कुरामा कहिल्यै कञ्जुस्याइँ गर्नु हुँदैन। जुनसुकै किताब भेटे पनि पढ्ने बानी गर्नुपर्छ। कक्षाकोठामा पढाइने किताबले मात्रै ज्ञानको क्षेत्र फराकिलो हुँदैन। विविध विषयको जानकारी जीवनमा काम लाग्छ। पढेर नै नयाँनयाँ ज्ञान हासिल गर्न सकिन्छ। पढ्ने मानिसले नै प्रश्न सोध्ने र जिज्ञासा राख्ने सामथ्र्य राख्छ। त्यसैले पढ्नका लागि समयको व्यवस्थापन गर्नुपर्छ।
(पूर्वमन्त्री एवं साहित्यकार नेपालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)