फोन पनि बैंक पनि
काठमाडौं : काठमाडौंमा काम गरिरहेका मानिसले धनगढीमा रहेका आफन्तलाई मासिक खर्च मोबाइलबाट म्यासेज पठाए जसरी पठाउन सक्छन्। कर्णालीमा काजमा खटाइएको कर्मचारीको तलब पोखरास्थित कार्यालयबाट मोबाइलबाटै खुवाउन सकिन्छ। हामी ठूला बिल्डिङ भएका बैंकहरूको कुरा गरिरहेका छैनौं। बैंक नपुग्ने ठाउँमा पनि अचेल मोबाइलबाटै वित्तीय कारोबार सम्भव छ। बैंक तथा बैंकका शाखा, एटीएमबाहेक सेवा दिने माध्यम मोबाइल बैंकिङ बनेको छ।
विश्वमा सबैभन्दा पहिले मोबाइल बैंकिङको सुरुवात सन् २००१ मा फिलिपिन्सबाट भएको पाइन्छ। जसलाई दुई वटा अपरेटरले सञ्चालनमा ल्याएका थिए, ग्लोभ र स्मार्ट। उनीहरूले आन्तरिक भुक्तानी प्रणालीलाई सहज बनाउन यो सेवाको सुरुवात गरेका थिए। धेरैजसो मोबाइल बैंकिङमा पैसा पठाउने व्यक्तिले मोबाइलबाट टेक्स्टका रूपमा रकम पठाउँछ। प्राप्त गर्ने व्यक्तिले सहजताका हिसाबले भुक्तानी पाउँछ।
मोबाइल बैंकिङले कारोबार सहज मात्रै बनाएको छैन। नगद बोकेर हिड्नु आफैंमा जोखिम हो। सुरुवातमा नगद बोक्दा हुने जोखिमलाई कम गर्न प्लास्टिक मनी अर्थात एटीएम कार्डको आविष्कार भयो। एटीएमको आविष्कार कारोबार दुनियाँका लागि एउटा ठूलो उपलब्धि थियो। जसले क्यासलेस कारोबारको सम्भावनालाई प्रस्फुटन गर्यो।
अब त्यही कार्ड पनि बोक्नु नपर्ने स्थिति छ। प्रविधिमा भइरहेको विकासले एटीएम कार्ड पनि विस्तारै विस्थापित हुँदै गएका छन्। अब त कतै एटीएम नै विस्थापित हुने त होइन भन्ने अवस्थामा छ। कार्डको स्थान लिएको छ हाते मोबाइलले। मोबाइल बैंकिङ, मोबाइल वालेट अथवा मोबाइल मनी जे भनौं। यो आजको दिनमा उदाएको कारोबार शैलीको माध्यम हो।
प्रविधिले हात पारेको यो सबै भन्दा ठूलो उपलब्धि हो भन्न सकिन्छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिसकेको छ। विस्तारै नेपालमै पनि एटीएम मेसिनको आयु र औचित्यको विषयमा बैंकर नै सोचिरहेका छन्।
‘अहिले प्रविधिको जमाना भएकाले कार्डको प्रयोग घटाउने र नगदरहित कारोबारलाई बढाउनुपर्ने अवस्था छ’, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कुँवर क्षेत्रीले भने। उनक अनुसार जहिले जति ठगी हुने गर्छन्, ती सबै नगद कारोबारमा नै हुने गरेको छ।
नगद करोबारलाई हटाउन सकियो भने हस्ताक्षर प्रयोग गरेर र नक्कली चेकबाट कारोबार हुन सक्दैन। अहिले बजारमा जति पनि कारोबार हुन्छ त्यो सबै डिजिटल प्रविधिबाट हुनुपर्छ। यसलाई व्यवस्थित र पारदर्शी गर्न डिजिटल तथा मोबाइल वालेटकै प्रयोग गर्न सकिन्छ। यसले गर्दा न त नगद बोक्नुपर्छ। न त जोखिम नै हुन्छ।
प्रविधिको प्रयोगबाट सहज र सरल ढंगबाट कारोबार हुन्छ भने सरकारको नोट छाप्ने खर्च पनि हुँदैन। अर्को विषय डिजिटल प्रविधिको प्रयोग हुँदा अर्थतन्त्र पारदर्शी हुन्छ। कसैको खातामा आएको आम्दानी उसको आम्दानी हो भने कर तिर्नुपर्छ। जसका कारण घुस तथा भ्रष्टाचार पनि नियन्त्रण हुन्छ। भारतमै यसअघि भएको नोटबन्दीमा डिजिटल कारोबार बढेको छ। भारतकै सबैभन्दा ठूलो निजी बैंक आईसीआईआई बैंकले ८२ प्रतिशत डिजिटल कारोबार गरेको छ। अहिले त यो तथ्यांक अहिले अझै बढाइसकेको छ। त्यसैले अहिले बैंकको शाखामा आउँनै पर्दैन र नआउनुस् डिजिटल कारोबार गर्नुस् भनेर यसको उपयोगमा बढी जोड दिनुपर्ने हुन्छ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्म करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ। यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यासमेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ। त्यसैगरी, शाखारहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको छ।
बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३ सयमा आइपुगेको छ। निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई दुई करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ। मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ।
अहिले नेपालका सबै बैंकले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएका छन्। सहकारी क्षेत्रमा पनि विस्तारै मोबाइल कारोबार प्रणालीको विकास भइरहेको छ। यसमा फोन पेजस्ता मर्चेन्ट कम्पनीको ठूलो हात छ। अहिले फोन पे नेटवर्कमा मात्रै ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई आबद्ध गरेको छ। जहाँबाट नेपालभरका ६४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता बैंकसँग जोडिएका छन्। फोन पे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। जसले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।
मोबाइल फोन कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स, किनमेल तथा वित्तीय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा विकास भएको छ।
महत्वपूर्ण पक्ष भनेको मोबाइल वालेटको विकास हो। ई–सेवा, आईएमई पे, प्रभु पे, खल्तीलगायत पाँचवटा सेवाप्रदायकले राष्ट्र बैंकबाट कारोबारको लागि स्वीकृत पाइसकेका छन्। त्यसमध्ये पनि नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘ई–सेवा फोन पे प्रालि’ को मोबाइल एप्स डाउनलोड गर्नेको संंख्या २० लाख हाराहारी छ। यो संख्या नेपालका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक कम्पनीमध्ये सबैभन्दा धेरै हो।
ई–सेवा लिनेको संख्या एक करोड हाराहारी छ। कारोबारको अंक पनि ठूलो छ। मर्चेन्ट अर्थात् बिजुली, पानी, इन्टरनेटलगायत बिलमात्रै दैनिक ७ करोडको हाराहारीमा ई–सेवाबाटै तिरिन्छ। बैंकबाट आउने जाने रकम दैनिक ५ करोड हाराहारी हुन्छ। ई–सेवाबाहेक अन्य कम्पनीको प्रयोगकर्ता पनि त्यही रूपमा बढिरहेका छन्।
जसबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत दुई सय ५० भन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। त्यसका लागि प्रयोग प्रविधि र यसको ज्ञान आवश्यक छ। त्यसका लागि ग्रामीण भेगसम्म पनि पुग्नु पर्नेछ।