किम्फ– २०१९ : पियानोको झंकार उत्कृष्ट
काठमाडौं : बेलायती फिल्म निर्देशक माइकल सुलिमाले निर्देशन गरेकोे फिल्म ‘पियानोको झन्कारले’ यस वर्षको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा प्रथम स्थान हासिल गरेको छ। यो फिल्मले अन्तर्राष्ट्रियस्तरको फिल्म प्रतिस्पर्धामा प्रथम स्थानसहित दुई लाख रुपैयाँ नगद पनि प्राप्त गर्यो। दोस्रो स्थान हासिल गर्दै नेपाली फिल्म ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ ले डेढ लाख रुपैयाँ प्राप्त गर्यो। यसैगरी स्पेनिस फिल्म क्युर्दासले एक लाख रुपैयाँसँगै तृतीय स्थान प्राप्त गर्यो।
नेपाल पानोरमातर्फ उत्कृष्ट फिल्मको उपाधि जित्दै ‘जुनुको जुत्ता’ फिल्मले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यो फिल्मलाई रंगकर्मी केदार श्रेष्ठले निर्देशन गरेका हुन्। उनी लामो समयदेखि बालनाटकको क्षेत्रमा सक्रिय छन्। उत्कृष्ट डकुमेन्ट्रीबापत प्रनवनारायण मानन्धरले निर्देशन गरेको ‘पोरट्रेट अफ माने’ ले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ।
यसैगरी बेस्ट एडभेन्चर माउन्टेन फिल्म अवार्ड पोल्यान्डको फिल्म ड्रिमल्यान्डले प्राप्त गरेको छ। यसलाई स्टेनिस्ल बे्रवेकाले निर्देशन गरेका हुन्। अडियन्स अवार्ड प्राप्त गर्नेमा आमा कान्दो शीर्षकको फिल्म रहेको छ। यसको निर्देशन धोन्दुप छिरिङले गरेका हुन्। महोत्सवमा पोल्यान्डकी ग्याब्रिएला, दक्षिण कोरियाका ली जे क्यो र नेपालकी अस्मिना रञ्जित निर्णायकको भूमिकामा थिए।
यस्तै उत्कृष्ट १० सर्ट फिल्म कम्पिटेसनमा विजयप्रकाश श्रेष्ठको ‘द युनिटी’ फिल्मले ४० हजार रुपैयाँसहित प्रथम स्थान हासिल गर्यो। जयन्ती कुँवरले निर्देशन गरेको ‘आफ्टर द चेन्ज’ ले दोस्रो स्थानसहित ३० हजार रुपैयाँ प्राप्त गर्यो। दीपक सुब्बाको द रेड स्कार्फले तृतीय स्थानसहित २० हजार रुपैयाँ प्राप्त गर्यो। परिवर्तित नेपाल शीर्षकमा सर्ट फिल्म कम्पिटिसन गरिएको थियो।
पुरस्कार वितरणसँगै आइतबार किम्फको १७औं संस्करण सम्पन्न भएको छ। हिमाली जनजीवन र सौन्दर्य, पर्वतारोहणलाई सहयोग पुग्ने विषयवस्तु समेटेर तयार पारिएका फिल्म किम्फले समेट्ने गर्छ। बुधबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भयो।
३९ देशका ७९ फिल्मले सहभागिता जनाएको यो महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा सञ्चलन भएको थियो। नेपालको पर्यटन क्षेत्रलाई विकास गर्ने उद्देश्यका साथ सन् २००० देखि किम्फ सुरुआत भएको हो। हिमाल एसोसिएसन आयोजक रहेको महोत्सवमा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो। नेपाल पानोरामातर्फ १७ स्वदेशी फिल्म महोत्सवमा सहभागी थिए।
कार्यक्रमका अध्यक्ष वसन्त थापाका अनुसार पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा युवाको क्रेज बढ्दो छ। किम्फमा सहभागी भएका सबै फिल्म युट्युबमा पनि नपाइने, किनेर हेर्न र सिनेमा हलमा पनि प्रदर्शनमा नजाने हुँदा सबै फिल्म विशेष हुने गरेको बताउँछन्।