कालिकोटमा दश वर्षपछि मंसिरमै हिमपात
कालिकोट : कालिकोटमा झण्डै दश वर्षपछि मंसिर महिनामा भारी हिमपात भएको छ । झण्डै एक दशकदेखि मंसिर महिनामै हिमपात भएको थिएन। खडेरीका कारण जिल्लाको कृषि उत्पादनमा बर्षेनि ह्रास हुँदै आएको थियो । शुक्रबार भएको भारी वर्षासँगै हिमपातले जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । तर आइतबारदेखि पूर्णरुपमा मौसम सफा भएपछि स्थानीय युवायुवती हिउँसँग रमाइरहेका छन्।
बर्षेनि मंसिर महिनामा अग्ला अग्ला हिमालमा मात्र देखिने हिउँ यो वर्ष गाउँनै सेताम्मे भयो । अझै पनि लेकाली क्षेत्रमा हिउँले छाडेको छैन् । हिउँ नपरेको तल्लो भेगका स्थानीय हिउँ खेल्नकै लागि लेकाली भेकमा जान थालेका छन् । जिल्ला सदरमुकाम मान्म बजार तथा आसपासका क्षेत्रबाट माथिल्लो लेकाली क्षेत्रमा दैनिकरुपमा हिउँ खेल्न जानेको लर्को नै लाग्ने गरेको छ । मंसिरमा हिमपात भएपछि किसानलाई ठेलो राहत भएको छ । गत असोज महिनादेखि जिल्लामा पानी नपर्दा किसानका पाखाबारी बाझै थिए। अब पानी रोकिएपछि पाखो बारीमा गहुँ छर्ने तयारीमा किसान छन्। बर्षेनि पर्दै आएको खडेरीका कारण निरास बनेका किसान यस वर्ष समयमै वर्षासँगै हिउँ परेपछि निकै खुसी छन् । समयमै परेको वर्षाका कारण हिउँदे बाली सप्रिने किसानको अनुमान छ ।