जसले ५० हजारसहित भेट्टाएको झोला बुझाए
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका झलक शर्माले बाटोमा भेट्टाएको नगद पचास हजार रुपैयाँ, चेक र महत्वपूर्ण कागजातसहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाएका छन्।
अन्नपूर्ण गाउँपालिका-३ दानाकी रिया थापाले बिहीबार बेनीदेखि दानातर्फ जाने क्रममा गाडीको झ्यालबाट खसेर हराएको नगद सहितको झोला फिर्ता पाएकी हुन्। शर्माले भेट्टाएको झोला प्रहरी र जनप्रतिनिधिको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन्।
जिपको झ्यालबाट खसेको थापाको झोला शर्माले बेनी नगरपालिका-९ गलेश्वरको सडकमा भेट्टाएका थिए। सो झोलामा पचास हजार २२५ रुपैयाँ नगद, ५९ हजार रुपैयाँ बराबरको बैंकको चेक, नागरिकता प्रमाणपत्र, औषधि, चेकबुकलगायतका सामान थिए।
गलेश्वर प्रहरी चौकीमा वडाअध्यक्ष बेलबहादुर चोखालको रोहबरमा नगद र सामान थापालाई बुझाएका हुन्। बेनीको मेगावान कन्ट्रक्सनका सञ्चालक शर्माले चेकको पछाडि लेखिएको थापाको मोबाइल नम्बरमा सम्र्पक गरेर झोला भेट्टाएको जानकारी दिएका थिए।
शर्माले झोला भेटाएको जानकारी गराउदा थापा चढेको जिप गलेश्वरदेखि करिब चार किलोमिटर टाढा बैसरी पुगेको थियो। थापाले हराएको नगद, चेक र महत्वपूर्ण सामान भेट्टाएर फिर्ता दिएकोमा शर्मालाई धन्यवाद दिँदै इमान्दारीताको नमुना प्रस्तुत गरेकोमा खुसी व्यक्त गरिन्।
‘झोला भेट्टाउने बित्तिकै त्यहाँ भएको चेकमा उल्लेखित मोबाइल नम्बरमा सम्र्पक गर्दा सुरुमा पत्याउनुभएन। झोला म संगै छ भन्नुभयो’, शर्माले भने, पछि राम्रोसंग हेर्दा झोला नभेटिएपछि रुदै फर्किएर गलेश्वर आउनुभएको थियो।’
शर्माले भेट्टाएको सामान इमान्दारीताका साथ जस्ताको तस्तै बुझाएका हुन्।