शल्यक्रिया हुन नसकेपछि गर्भवतीको उद्धार
सुर्खेत : मुगुको खत्याड गाउँपालिका ६ का २२ वर्षीया प्रिन्सा मल्ललाई उद्धार गरिएको छ । लामो समयसम्म प्रसुति व्यथाले च्यापेपछि जिल्लामा सुत्केरी हुन नसक्दा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
पेटमा दुईवटा बच्चा भएका कारण उनको जिल्लामा सफल शल्यक्रिया हुन नसकेको हो । गर्भवती आमा र पेटमा रहेका बच्चा बचाउन जिल्ला अस्पताल मुगुले रेफर गरेपछि उनको उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा कार्यालयकी प्रमुख अञ्जु ढुंगानाले जानकारी दिइन् ।
उनका अनुसार गर्भवती मल्लको उद्धारपछि कर्णाली प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको छ । प्रिन्साको पेटमा रहेका दुईमध्ये एउटा बच्चा पेटमा उल्टो रहेकाले उनको शल्यक्रिया गर्नुपर्ने भएको हो ।
कार्यक्रमले कर्णाली प्रदेशका दुर्गम गाउँमा बच्चा जन्माउन नसकेर जोखिममा परेका गर्भवती महिलाको उद्धार गर्दै आएको छ । कार्यक्रमअन्तर्गत हालसम्म देशभरका ३४ जिल्लाबाट ७३ जना सुत्केरी हुन नसकेका गर्भवतीको उद्धार गरिएको हो ।