गाउँपालिकाको कामकाज ठप्प
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सुरु भएको धर्नाले सम्पूर्ण कामकाज ठप्प बनेको छ ।चौध बुँदे माग राखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताले सुरु गरेको धर्नाले गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको हो ।
माग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक बिनोदकुमार यादवले बताए । अविलम्ब वडा भेला र गाउँसभा गर्नुपर्ने, आर्थिक वर्ष ०७५/०७६ को आय-व्याय सार्वजनिक गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचारविरुद्ध सर्वपक्षीय छानबिन समिति गठन गर्नुपर्ने, करार कर्मचारीको नियुक्ति प्रक्रिया सार्वजनिक गर्नुपर्नेलगायतको १४ बुँदे माग राख्दै आन्दोलन सुरू भएको हो ।
सम्बन्धित निकायले माग सम्बोधन गर्न ढिलाई गरे थप सशक्त आन्दोलनका कार्यक्रम गरिने संयोजक यादवले चेतावनी दिए । सामाजिक सुरक्षा भत्ता नपाएका सयौं ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका व्यक्तिले गत मङ्गलबार छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।
झडपपछि धर्नामा बसेका नेकपाका नेतासहितका प्रदर्शनकारीले राति सात बजेसम्म गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डललाई कार्यालय बाहिर निक्लन दिएनन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले गाउँसभा नभई सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराउन नसक्ने जनाएकाले वितरण गर्न नसएिको भन्दै गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँसभाको तयारी भइरहेको बताए । स्थानीय तह सञ्चालन ऐनअनुसार असार १० भित्र गाउँसभा वा नगरसभा गरिसक्नुपर्ने हुन्छ ।
जनप्रतिनिधि र कर्मचारीले तलबभत्ता लिन, करारमा कर्मचारी नियुक्त गर्न, वडाहरुमा बजेट बाँडफाँड गर्न गाउँसभा हुनु नपर्ने तर सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँसभा हुनैपर्ने गाउँपालिकाको अडानप्रति ज्येष्ठ नागरिकले तीव्र आक्रोश व्यक्त गरेका छन् । कार्यालयको कमजोरीले चौमासिक रुपमा पाउनुपर्ने साउनदेखि कात्तिकसम्मको भत्ता पुस बित्न लाग्दा समेत नपाउँदा औषधि खान समेत कठिनाई भएको ३ नम्बर वडाका ८५ वर्षीय महन्थी यादवले बताए ।
जनप्रतिनिधि र कर्मचारीले कात्तिक महिनासम्मको तलब, भत्ता सुविधा लिइसकेको र विभिन्न वडामा बजेट निर्धारण गरेको तर सामाजिक सुरक्षा वितरण गर्न नसकेको वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र यादवले समेत स्विकारे ।
वडा अध्यक्ष यादवका अनुसार सातवटा वडा रहेको छिन्नमस्ता गाउँपालिकामा करिब एक हजार पाँच सय ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता एका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।