सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो। तीन दिनमा २ हजार ५ सय रुपैयाँ महँगिएपछि सोमबार प्रतितोला (११.६६४ ग्राम) सुनको भाउ नयाँ उचाइमा पुगेको हो।
अमेरिका र इरानबीच युद्ध जोखिम बढ्दै गएपछि विश्व बजारमै सुनको मूल्य उकालो लागेको छ। सुनको भाउ लगातार बढेपछि बजारमा सुनको बिक्री लगभग बन्द भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। तर कतिसम्म बढ्छ भन्ने पूर्वानुमान गर्न सकिने अवस्था नभएको उनले बताए।
‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६०० डलरसम्म पुग्ने अनुमान’, शाक्यले भने, ‘त्यसो भयो भने नेपालमा ७८ हजार रुपैयाँसम्म पुग्न सक्छ।’ तर सोमबारको बिहानी व्यापारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै उतारचढाब देखिएको उनी बताउँछन्। सोमबार बिहान साढे १० बजे लण्डन बजारमा प्रतिऔंस १ हजार ५ सय ७१ अमेरिकी डलरलाई आधार मानेर नेपालमा मूल्य तय गरिएको उनले बताए।
हिजो प्रतिऔंस १ हाजर ५ सय ५२ अमेरिकी डलरमा कारोबार बन्द भएको सुनको मूल्य सोमबार बिहान १ हजार ५ सय ६० डलरमा बजार खुलेको हो। तर, लगातार बढेपछि सोमबार बिहान सुनको मूल्य ७ वर्ष यताकै महँगो भएर प्रतिऔंस १ हजार ५सय ८८ डलर १३ सेन्ट पुग्यो। पछिल्लो १ वर्षमा सुनको मूल्य प्रतिऔंस १ हजार २ सय २६ डलरसम्म झरेको थियो। तीव्र उतारचढाबले आगामी दिन सुनको मूल्यको पूर्वानुमान गर्न कठिन हुने शाक्य बताउँछन्।
सोमबार भारतीय बजारमा पनि सुनको भाउ कीर्तिमानी स्तरमा पुगेको छ। भारतको अहेमदाबाद बजारमा १० ग्राम सुनको मूल्य ४१ हजार ९६ रुपैयाँसम्म पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्। यो ‘९९९.५’ अर्थात् हामीले भन्ने गरेको ‘तेजाबी’ (२२ क्यारेट) सुनको मूल्य हो। नेपाली बजारमा भने ‘९९९.९’ भनिने २४ क्यारेटको सुन बढी चलनचल्तिमा छ।
सुनको भाउ मूलतः ‘लण्डन बुलन मार्केट एसोसिएसन’ नामक संस्थाको अनलाइन प्लेटफर्म हुने कारोबारबाट तय हुन्छ। सुन, चाँदीलगायत सबैजसो बहुमूल्य धातुको मूल्य यही बजारको कारोबारका आधारमा तय हुन्छ। सुनलगायत बहुमूल्य धातुलाई संसारभर नै मानिसले ‘आपतकालीन सम्पत्ति’ का रूपमा लिन्छन्। सुन यसमा सर्बाधिक रुचाइएको धातु हो। यही कारण युद्ध जोखिमका बेला सरकार, निजी लगानी कम्पनीदेखि सर्वसाधारणले समेत सुनमा लगानी बढाउने गरेका छन्।
विगतमा क्राइमियालाई लिएर रुस र युक्रेन तनाव हुँदा होस् वा सिरिया युद्धको समयमा पनि सुनको भाउ उकालो लागेको थियो। केही अघि अमेरिका-चीन व्यापार द्वन्द्वले पनि सुनको मूल्य उकास्न मद्दत गरेको थियो। पछिल्लो तनावले विश्वव्यापी मुद्रा बजारलाई पनि प्रभावित पारेको छ। संसारकै सर्वाधिक सुरक्षित मानिएको मुद्रा जापानी येन तीन महिना यताकै महँगो भएको छ। स्विस फ्र्यांक पनि चार महिनाकै महँगो भएको छ।
विश्व अर्थतन्त्रमा जोखिमपूर्ण मानिएका अस्ट्रेलियन डलर, न्युजिल्यान्ड डलर र स्विडिस क्रोनभने सस्तिएका छन्। कच्चा तेलको भाउ उकालो लागे पनि तेलमा निर्भर रुसी रुबल, क्यानेडियन डलर र नर्बेजियन क्रोनको भाउ बढिसकेको छैन। यसको असर नेपाली मुद्राको विनिमय दरमा पनि पर्छ। शक्ति राष्ट्रको पौठेजोरीले सुनमात्र होइन, सेयर र अभौतिक मुद्राको बजारलाई पनि प्रभाप पारेको छ।
नेपाली समयअनुसार सोमबार दिउँसो ३ बजेसम्म इथेरियम, आईओटा, एक्सआरपी, ड्यासजस्ता अभौतिक मुद्रा पनि अमेरिकी डलरको तुलनामा महँगिएका छन्। बिटक्वाइनको भाउ भने बढ्न सकेको छैन। जापानको निक्केइबाहेक अधिकांश सेयर बजार सूचक ओरालो लागेका छन्।