फरार प्रतिवादी भन्दै १७ जना एकै दिन समातिए
राजविराज : सप्तरी प्रहरीले फरार प्रतिवादी भन्दै रिहा भइसकेका र परिवारका सदस्यहरूसहित १७ जनालाई एकै दिन पक्राउ गरेको छ। विभिन्न अपराधिक घटनामा अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाए पनि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
डीएसपी तिलक भारतीले ज्यान मार्ने उद्योग, कुटपिट, लुटपिट, ठगी, जालसाजीसमेतका मुद्दामा फरार रहेकालाई पक्राउ गरिएको बताए। प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका विभिन्न मुद्दाका अभियुक्तलाई खोजतलास गर्दा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी भारतीले बताए।
पक्राउ पर्नेमा एक वर्षअघि रिहा भएकाहरू पनि पुनः पक्राउ परेका छन्। खड्क नगरपालिकाका बद्री चौधरी र संगीताकुमारी चौधरी जारी मुद्दामा गत माघ ९ गते पक्राउ परेर रिहा भएका थिए। उनीहरूलाई पुनः जारी मुद्दामा पक्राउ गर्नु परेको कारण बताउन नसकेका डिएसपी भारतीले अन्तिम फैसला अदालतले गर्ने भन्दै पन्छिए।
प्रहरीले अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका परिवारका सदस्यलाई समेत पक्राउ गरेको छ। डीएसपी भारतीका अनुसार लुटपिट मुद्दामा जरिवाना तोकिएका खडक नगरपालिका-९ का महिनारायण चौधरीको हकमा भाई दीपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र जालसाज मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी श्रीमती सुकमारदेवी चौधरीलाई पक्राउ गरिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार ज्यान मार्ने उद्योगमा सप्तरीको बोदे बर्साईन नगरपालिका-१० का ५९ वर्षीय खगेन्द्र यादव र खड्क नगरपालिका-४ का ५८ वर्षीय इसराइल मियाँ पक्राउ परेका छन्।
यसैगरी ठगी मुद्दामा खड्क नगरपालिका-६ का राजकुमार साह, लुटपिट मुद्दामा बोदे बर्साईन नगरपालिका-९ का ४७ वर्षीय चन्देश्वर साह तेली र खड्क नगरपालिका ६ का नजबुद मियाँ पक्राउ परेका छन्। कुटपिट अङ्गभङ्ग मुद्दामा राजगढ गाउँपालिका-२ का बलबीरकुमार यादव, कुटपिट मुद्दामा बलान बिहुल गाउँपालिका-३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका-९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका ९ का फागु मण्डल, बोदे बर्साईन नगरपालिका ९ का ५७ वर्षीय झौली मण्डल, बोदे बर्साईन नगरपालिका २ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव पक्राउ परेका छन्।
पक्राउ गरिएकाहरूमध्ये जरिवाना मात्रै तोकिएकाहरूले त्यसवापतको रकम बुझाएर तथा कैद सजायको फैसला भएकालाई सजाय भुक्तान गरेर मात्र रिहा हुने स्रेस्तेदार दिलकुमार वर्देवाले बताए।