मोडलिङमा भविष्य खोज्दै आयुष्मा

मोडलिङमा भविष्य खोज्दै आयुष्मा

भुल्छु सब पीडा र चोटहरू

जब तिम्रो मुस्काउँछन् ओठहरू
चिसो महिना पुसैको
आफ्नो पिर लाउँदैन, पिर छ उसैको।

चाहे चिसो महिना पुसैको बोलको गीतमा उनले गरेको दुःखको अभिनय होस् या हारे भगवान् हारेमा गरेको पश्चातापको दृश्य होस्। या रमाइलो डाँडैमा बोलको गीतमा रमाउँदै छमछमी नाचेको दृश्य होस् कलाकार आयुष्मा कार्कीको अभिनय जीवन्त देखिन्छ।

उनी गीतका पात्रहरूसँग यसरी घुलमिल हुन्छिन् कि सुटिङको सेटमा पुगेपछि उनी आफूलाई नै बिर्सिन्छिन्। पात्रहरूकै परिवेश र परिस्थितिमा बदल्छिन् आफूलाई।

भर्खर बजारमा आएको गीत ‘चिसो महिना पुसैको’ ले चर्चा बटुलेको छ। गीतमा आयुष्माले लडेर अपांग भएका श्रीमान्को मायामा छट्पटिएको, उसको स्वास्थ्य लाभका कामना गर्ने  श्रीमतीको भूमिका गरेकी छन्। प्रायः रमाइलो र सुखद भूमिकाभन्दा वियोगान्त गीतमा उनले बढी अभिनय गरेकी छिन्।

हर्के हबलदार हास्यव्यंग्य टीभी सिरियल, सयांै लोक र आधुनिक गीतमा उनको अभिनय देख्न सकिन्छ। अहिले हलमा चलिरहेका ‘प्रेमसंसार’ चलचित्रमा पनि उनको अभिनय छ।

बानेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत आयुष्मा पढाइ र अभिनयलाई सँगसँगै अगाडि बढाइरहेकी छिन्। उनी सानैदेखि गीत गाउन र नाच्न भनेपछि हुरुक्क हुिन्थन्। स्कुलका सांगीतिक कार्यक्रममा विजेता बन्थिन्। एसएलसीपछि थप पढाइका लागि काठमाडौं उक्लिँदा आफन्तकै चिनाजानीमा म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन्।

आयुष्मा सुरुआती दिनमा काम पाउन निकै संघर्ष गरेको सुनाउँछिन्। भन्छिन्, ‘काम सिक्न र अनुभव गर्न कति भिडियोमा त पारि श्रमिक बिना नै काम गरेँ।’ आफ्नो क्षमता बढाउन लगाव र मेहनत गर्नैपर्ने उनको ठम्याइँ छ।

कहिलेकाहीँ पढाइ छाडेर पनि सुटिङका लागि दौडिएको बताउने आयुष्मा भन्छिन्, ‘अभिनयको भोक मरेकै छैन। म यसैमा काम गर्न चाहन्छु।’ पात्रको भूमिकामा तुरुन्तै समाहित हुन सक्ने क्षमता आफूमा भएको बताउँदै उनले अभिनय सिक्नेभन्दा पनि अनुभूति गर्ने कुरा भएको जनाउँछिन्।

गीतसंगीतको क्षेत्र अत्यन्तै पवित्र लाग्छ आयुष्मालाई। नराम्रा नियतका मान्छे मनोरञ्जन क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा हुने बताउँदै कहिलेकाहीँ आफू पनि गलत मान्छेको फन्दामा परेको स्विकार्छिन्। उनी आफूले काम गर्नुअघि टिम कस्तो हो ? गीतमा अभिनयको रोल कस्तो छ ? विस्तृतमा सबै बुझेर मात्रै काम गर्नुपर्ने बताउँछिन्। भन्छिन्, ‘घर र आफन्तमा त सुरक्षित छैनन् महिला। बाहिरी क्षेत्रको के कुरा ? ’

विष्णु माझी र मोहन खड्काको स्वरमा रहेको ‘हारे भगवान् हारे,’ गीतमा गरेको अभिनयले उनलाई यो क्षेत्रमा चिनायो। ‘अनुसन्धान बोल’ को गीतमा झुन्डिएर आत्महत्या गरेको दृश्य देखाउनुपर्ने थियो। उनलाई यो दृश्य दिन निकै कठिन भयो। भन्छिन्, ‘टाढाबाट दृश्य खिच्नुपर्ने, कसैको सहयोग पनि लिन नमिल्ने, डोरीको सहारामा ५÷६ मिनेटसम्म झुन्डिएरै अडिन निकै गाह्रो भएको थियो।’ त्यस्तै ‘प्रेमसंसार’ फिल्मको सुटिङमा चिसो महिनामा अग्लो ठाउँबाट गहिरो खोलामा हाम फाल्ने दृश्यका लागि पनि उनले निकै मेहनत गरेकी थिइन्। भन्छिन्, ‘काम गर्छु भनेर साइन गरेपछि यो दृश्य गर्छु, यो गर्दिनँ भनेर रोज्नै मिल्दैन। उनले दुई पटक हाम फाल्नु परेको थियो।

नेपाली सेनामा आबद्ध बुवाकी छोरी हुन् आयुष्मा। त्यसैले, घरमा कडा अनुशासन थियो। बुवाआमाले सही काम गर है भनेर बारम्बार सचेत गराउँथे। यसले पनि उनी सजग छिन्। अहिलेका युवाहरूले देखाउने क्षणिक आकर्षण खालको सम्बन्ध उनलाई ठीक लाग्दैन। भन्छिन्, ‘मलाई बुझ्ने खालको कोही नभेट्टाएर होला, प्रेमी छैनन्।’

बाल्यकालमा आफ्नो धेरै रिसाउने स्वभाव भएकाले उनले भाइबहिनीहरूलाई कुट्ने गरेको सम्झिँदा उनलाई अझै पनि ग्लानी हुन्छ। भन्छिन्, ‘म अलि जिद्दी स्वभावकी थिएँ, आमाबुवालाई पनि कराउने खालको। अहिले सानोमा बेकारमा रिसाएछु जस्तो लाग्छ।’

आयुष्माको विचारमा पछिल्लो समय म्युजिक भिडियोमा केही विकृति आएको छ। भन्छिन्, ‘सकारात्मक र नकारात्मक पाटो त हरेक क्षेत्रमा छ। कलाकार आफैं अनुशासनमा बस्नु पर्यो। यो फिल्ड आफैंमा सुन्दर छ।’

०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.