समयमै गुणस्तरिय काम सक्न व्यवसायीलाई अध्यक्षको निर्देशन
नुवाकोट : नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले जिम्मा पाएका काम समयमै सक्न निर्देशन दिएका छन्। काम समयमै सक्नु निर्माण व्यवसायीको दायित्व र कर्तव्य भएको भन्दै समयमै गुणस्तरिय र मापदण्ड अनुसारको काम गरि देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए।
शनिबार नुवाकोट निर्माण व्यवसायी संघको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिंहले सरकार पनि निर्माण व्यवसायीको सकारात्मक मागप्रति उदार हुनुपर्ने बताए।
त्यस्तै महासंघका उपाध्यक्ष निकोलष पाण्डेले राज्यले दिएका सुविधाको उपयोग गर्दै निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने योजनाहरु समयमै निर्माण गर्नुपर्ने बताए। कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले निर्माण व्यवसायीले आफ्नो व्यवसायलाई प्रतिष्ठित बनाउन नसकेको बताए।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थानीय सरकारले कुनैपनि योजना निर्माण गर्दा गुणस्तरिय र भरपर्दो खोजेको भन्दै निर्माण व्यवसायीले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। त्यसैगरि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्माणधिन आयोजनाहरु समयमै सम्पन्न गरि सबैले जिम्मेवारी वहन गर्नुपर्ने बताए। नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले नुवाकोटका स्थानीय तहले लाइसेन्स वितरण आफुखुशी वितरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छ।
गाउँलाई छेको नपार्न ज्ञापनपत्र
गाउँपालिकाले निर्माण गर्न लागेको सडक गाउँलाई छेको पारेर अर्कैतिरबाट लैजान लागेको भन्दै स्थानीयले तारकेश्वर गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्। दक्षिणी भेगमा रहेको तारकेश्वर गाउँपालिका-२ का स्थानीय तारकेश्वर गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।
तारकेश्वर-२ का ७० जना भन्दा बढीले हस्ताक्षर गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाए। साविकमा कोलडाँडा-सिम्लेबेसी सडक खन्ने काम सम्पन्न भए पनि त्यसको स्तरोन्नती नगरी एक सय रोपनी बारी र ७० घरधुरीलाई प्रभावित पार्ने देउराली-झाँक्रीआँप नयाँ सडक निर्माण गर्न वडाबाट बजेट विनियोजन भएकोले त्यसलाई परिवर्तन गर्न माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र दिएको स्थानीय मदन बरालले बताए।
ज्ञापनपत्रमा उक्त सडक निर्माण भएमा गाउँलेलाई अपायक र कोल्टे पर्नुको साथै वन तथा वातावरणमा समेत असर पुग्ने उल्लेख गरे। उनीहरुले गाउँलेको माग अनुसार गाउँलेलाई पायक पर्ने स्थानबाट सडक विस्तार गर्न पनि माग गरेका छन्।