अनुहार बिगार्यो, मन होइन
काठमाडौं : भनिन्छ, ‘हरेक बिहानीले सुनौला दिनको संकेत गर्छ।’ तर सन् २००५ को एक बिहान लक्ष्मी अग्रवालका लागि काल बनेर आयो। आफ्नो सुन्दरता सदासदाका लागि गुमाउनु पर्यो। बाँकी रह्यो त देख्दै डरलाग्दो एसिडले डढेको अनुहार। आधा चुँडिएको कान। उफ् कति कहालिलाग्दो बिहान। अझ समाजको भाषामा ‘भूत जस्तै स्वरूप’। एसिडले अनुहार र छाला मात्रै डढाएन। डढायो फूल जस्तै फक्रने सपना। आफन्त, साथी सर्कल र जिन्दगीको सुखद पल। एसिडसँगै डगमगायो सफलताको आकाशमा उडान भर्ने आत्मविश्वास पनि।
भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी थिइन् लक्ष्मी। उनी अहिले मोटिभेसनल स्पिकरको रूपमा चर्चित छिन्। लक्ष्मीले भोगेको एसिड अक्रमणको पीडा, कानुनी लडाइँसँगै झमेला, दुःख, अभाव र संघर्षको कथालाई सलल बुनिएको छ फिल्म ‘छपाकमा’। लक्ष्मीको कथा बोक्ने पात्र हुन् मालती। मालतीको भूमिकामा दीपिका पादुकोणले अभिनय गरेकी छन्। दीपिकाले मालतीमाथि पूरापूर न्याय गरेकी छन्।
फिल्मको कथाअनुसार १५ वर्षकी मालती निम्नवर्गीय परिवारमा हुर्किएकी छन्। स्टेसनरीमा काम गर्दै आफ्नो अध्ययन अगाडि बढाउँदै छिन्। आमाबुवाको नाम चम्काउने सुरमा छिन् उनी। इन्डियन आइडलको उपाधि जित्ने सपना उनको रहरसँगै जुर्मुराएको छ। बिहानको कलेज गएर फर्कंदा मोटरसाइकलमा आएको कसैले अनुहारमै पर्ने गरी एसिड छ्यापेर भाग्छ।
एसिडको पीडाले उनी बाटोमै ढल्छिन्, छट्पटाउँदै डाँको छाडेर रुन्छिन्। यही दृश्य र रोएको आवाजसँगै फिल्मको कथावस्तु अगाडि बढ्छ। उनको क्रन्दनले घटनास्थल कहालिलाग्दो बनेको छ। बाटो हिँड्दै गरेका बटुवा टक्क रोकिन्छन्। यस्तो लाग्छ, उनको पीडामा हावाले पनि बहन बिर्सिएको छ। गाडी गुड््न रोकिएका छन्। एक्कासि आइपरेको यो बज्रपातले मालतीलाई कहाँ पुर्याउँछ ? उसको सामाजिक, मानसिक र कानुनी लडाइँको समग्र सँगालो हो फिल्म छपाक।
संसारभर एसिड आक्रमणका घटना बढी हुने देशमा बंगलादेश र भारत पर्छन्। त्यसो त नेपालमा पनि पछिल्लो समय एसिड आक्रमणजस्तो जघन्य अपराध मौलाउँदै गएको छ। करिब चार महिना अघिमात्रै वीरगन्जकी मुस्कान खातुन आक्रमणमा परिन्। यसअघि जेनी खड्का, सम्झना, सुस्मिता दासलगायत माथि पनि एसिड आक्रमण भएको थियो। सम्झना त एसिडकै कारण जीवन गुमाउन बाध्य भइन्। भारतमा बर्सेनि तीन सयभन्दा बढी एसिड आक्रमणका घटना दर्ता हुन्छन्। एसिड आक्रमण प्रायः युवतीमाथि हुने गरेको छ। एकोहोरो प्रेम गर्ने र आफ्नै श्रीमान् र आफन्तबाट आक्रमणमा पर्ने धेरै छन्।
एसिड आक्रमण घटना न समाजमा चर्चा गरिन्छ, न त सरकारले नै कुनै सहानुभूति र सहयोग गर्छ। आक्रमणमा परेका महिला पुरानै जिन्दगीमा फर्कन सम्भव प्रायः छैन। चोटको दुखाइ त कम हुन सक्ला तर दागसँगै उसको जीवनमा देखिने अँध्यारो पक्षबारे हामी बेखबर छौं। एसिड पीडितले भोग्नुपर्ने खास जिन्दगीलाई प्रदर्शनरत फिल्म ‘छपाकले’ समेटेको छ। निर्देशक मेघना गुलजारले निर्देशन गरेको यो फिल्ममा गुलजार र अतिका चौहानको पटकथा छ।
फिल्ममा दीपिका पादुकोणकोलाई एसिड छ्याप्ने पात्रको रूपमा बब्बु ‘विशाल दहिया’ को अभिनय छ। एसिड पीडितलाई उपचारमा सहयोग, कानुनी लडाइँ अगाडि बढाउन छाया नामक संस्थाले सहयोग गरेको छ। मालतीको यही संस्थामा भेट हुन्छ, अमूल ‘विक्रान्त मास्से’ सँग। अमूलसँगको भेट, अधिवक्ता अर्चनाको साथ र हौसलाले मालतीको हिम्मत बढ्छ।
मालतीको सात पटकसम्म अप्रेसन गरिएको छ। कहिले अनुहार, कहिले छाती, हात, त कहिले कान। अस्पतालको चारमहिने बसाइपछि उनलाई घर पुर्याइन्छ। डाक्टरकै अनुरोधमा घरमा भएको उनका पुराना फोटा सबै लुकाइन्छ। घरमा रहेको ऐना पनि छोपिन्छ। एक दिन उनले बेसिनमाथि छोपिएको ऐना उठाउँदै आफ्नो अनुहार हेर्छिन्, अनि कहालीलाग्दो गरी चिच्याउँछिन्। अनुहार हेरेर उनले धेरैपटक हिम्मत हारेकी छन्। यो मालतीको कथा मात्र होइन, मालती जस्तै एसिड आक्रमणमा पर्ने तमाम महिलाले भोगेको जीवन हो। उनको रोदनले दर्शकको आँखामा आँसु झार्छ। फिल्ममा यस्ता अनेकौं दृश्य छन् जसले दर्शकको मन छुन्छ।
फिल्म क्षेत्रले समाजका कथा बोक्दैन भन्ने आरोप खेपिरहँदा निर्देशक मेघनाले यो आरोपलाई जवाफ दिएकी छन्। सामाजिक कथावस्तुमा दमदार फिल्म निर्माण गरेकी छन्। उनले हरेक घटना, संवाद र दृश्यलाई मानवीय आँखाले हेरेकी छन्। फिल्मको कथामा समाजले महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक संरचना र सोच, महिला हिंसा कसरी समाजको हिस्सा बन्न सक्छ प्रमाणित गरेको छ।
लक्ष्मीकै निरन्तरको कानुनी लडाइँमार्फत सन् २०१३ देखि भारतमा खुलेआम एसिड बिक्री वितरणमा रोक लगाएको हो। एसिड आक्रमणको अपराधसमेट्न छुट्टै कानुनको निर्माण भएको छ अहिले।
घरमा सुतिरहेको बेला मालतीलाई अधिवक्ता अर्चना भेट्न आउँछिन्। पुलिस प्रशासनको फितलो अनुसन्धान, पीडितमैत्री नभएका अनुसन्धानकर्ता, उनीहरूले बारम्बार गर्ने प्रश्नले मालती थकित देखिएकी छन्। ‘तिमी उसलाई यत्तिकै छाडिदिन्छौ’, अर्चनाले प्रश्न गर्छिन्। मालती चुपचाप छिन्। तिमीमाथि एसिड छ्याप्ने आजाद भएको हेर्न सक्छौ ? पुनः अर्को प्रश्न। मालती निशब्द छिन्। उनका आँखा बोल्न खोजिरहेका छन्। आँखामा आँसु टिल्पिलाउँछ।
मालतीलाई साथ दिन आएका छन् अधिकारकर्मी र वकिल। सबैको साथले मातली पुनः उठेकी छन्। कठिन समयमा पनि आफूजस्तै दिदीबहिनीका लागि लड्ने संकल्प गरेकी छन्। भन्छिन्, ‘उसले मेरो अनुहार बिगार्यो, मन होइन।