वडा अध्यक्षको निधन
राजविराज : सप्तरीको सुरुङ्गा नगरपालिका–१ का वडा अध्यक्ष मुक्ति कार्की (अशोक) को आइतबार राति निधन भएको छ । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका कार्कीको ५५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यहरुले बताएका छन् ।
कार्की केही समयदेखि अस्वस्थ थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । कार्कीको शवलाई सोमबार अन्तिम संस्कार गरिएको छ । वडाध्यक्षको निधनको शोकमा सोमबार सुरुङ्गा नगरपालिका र मातहतका सबै कार्यालयमा बिदा गरिएको नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।
यसैगरी, तत्कालीन मोहनपुर गाविसका पुर्व अध्यक्ष ६८ वर्षीय जिज्ञानन्द चौधरीको पनि आइतबार निधन भएको छ । शम्भुनाथ नगरपालिका ६ निवासी क्यान्सर रोगबाट पीडित चौधरीको भारतको विहारस्थित एआरपी मेमोरियल अस्पतालमा निधन भएको हो ।
तत्कालीन मैनासहश्रवाहु गाविसस्थित मावि सर्पालालपट्टिको प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा आएका चौधरी २०३६ सालको जनमत संग्रहपछि भएको स्थानीय तहको निर्वाचनमा दुई पटक गाविस अध्यक्ष निर्वाचित भएका थिए ।