भ्रष्टाचार झागिँदो

भ्रष्टाचार झागिँदो

तेह्र महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नीतिगत भ्रष्टाचार’ को परिभाषासहितको नयाँ कानुन माग्दै प्रस्ताव पेस गरेको थियो । भाषण र दस्ताबेजमा भ्रष्टाचारविरुद्ध शून्य सहनशील नीति अख्तियार गरेको सरकारले अख्तियारको प्रस्ताव दराजमा थन्क्यायो ।

 फेरि अख्तियारले सोमबार आफ्नो उनन्तीसौं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै भन्यो, ‘मन्त्रालयले सार्वजनिक खरिदसम्बन्धी विषयमा निर्णय गर्न मन्त्रिपरिषद्मा पुर्‍याइने प्रवृत्ति छ ।’ ठूला ठेक्कापट्टाका निर्णय मन्त्रिपरिषद्मा पुर्‍याउनुको कारण हो, ‘निर्णयमा अन्तर्निहित भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न रोकावट गर्नु ।’ मन्त्रिपरिषद् र यसका समितिबाट सामूहिक रूपमा जे-जस्ता भ्रष्टाचारजन्य निर्णय लिए पनि अख्तियारले छानबिन गर्न पाउँदैन ।

अख्तियारले स्थानीय तहमा भ्रष्टाचार, नातावाद÷कृपावाद, मिलेमतोमा भ्रष्टाचार व्यापक हुँदै गएको निष्कर्ष पनि सार्वजनिक गरेको छ । चुनावका बेला गाउँ-गाउँमा सिंहदरबारको नारा लागेको थियो । दुई वर्षपछि अख्तियारको अध्ययनले भ्रष्टाचार र घुसखोरीलाई छिटो पुर्‍याएको छ, नागरिकलाई सहज सेवा-सुविधा होइन ।

 यो निष्कर्ष पनि अख्तियारकै हो । उसको सर्वेक्षणमा स्थानीय तहमा काममा ढिलाइ गर्नु, सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नु, सार्वजनिक कोषको गैरकानुनी प्रयोग गर्नु, कर्मचारी समयमै कार्यालय नआउनु र अनावश्यक कागजात माग गरी नागरिकलाई दुःख दिने क्रम बढेको छ ।

अख्तियारको इतिहासमा गएको वर्ष सबैभन्दा बढी अर्थात् ३५१ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ, जसमा १४७ घुस लिएका मुद्दा छन् । गैरकानुनी सम्पत्ति आर्जनमा चाहिँ उल्लेखनीय मुद्दा दायर हुन नसकेको देखाउँछ । अकूत सम्पत्तिका हकमा जम्माजम्मी १२ वटा मात्र मुद्दा दायर भएका छन् । वर्षभरिमा राजनीतिक वृत्तका ठूलाखाले पात्रमाथि कुनै पनि किसिमको भ्रष्टाचारको अभियोग दर्ज भएको देखिन्न । 

वार्षिक प्रतिवेदनसँगै अख्तियार राजनीतिक वृत्तका पात्रसम्म पुग्न नसकेको देखाउँछ । राजनीतिक पात्रको संरक्षणकै कारण भ्रष्टाचार, आर्थिक बेथिति र विचलन बढेको आम अनुभूति छ । समाजमा नवधनाढ्यको सूचीमा राजनीतिसँग जोडिएका बढ्दैछन् । तिनीहरूको सम्पत्तिमाथि छानबिन भएन भने विस्तारै पुख्र्याैलीकरण हुन पुग्छ, राणा र पञ्चको सम्पत्ति पुख्र्यौलीकरण भएजसरी नै । भ्रष्टाचार निवारण ऐन २०५९ पछि जसरी मन्त्री र उपल्ला तहका प्रशासकको सम्पत्ति छानबिन, जफत र सजाय हुँदै थियो, त्यो क्रममा न्यूनता आएको छ ।

हो, पछिल्लो समयमा घुसखोरीविरुद्ध ‘स्टिङ अपरेसन’ र ‘र्‍यापिड टास्क फोर्स’ परिचालनबाट सकारात्मक सन्देश छाएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको भेषमै अख्तियारले आफ्ना मानिस पठाउँदै घुस असुल्नेलाई कारबाहीको फन्दामा पुर्‍याएको छ । यसले सरकारी कार्यालयमा सेवाग्राहीसँग अनुचित तवरमा असुलिने खुलमखुला घुसको मात्रामा कमी आएको छ । सरकारी ठेक्कापट्टामा अनुसन्धान गरी १८ सयभन्दा बढीमा ठेक्का भद्रगोल भएको तथ्य सार्वजनिक गरेको छ । सँगै उसले त्यसमा सुधारका उपायसमेत सार्वजनिक गरेको थियो । उसले दिएको सुझाव कठोरतापूर्वक कार्यान्वयनमा लैजाने हो भने ठेक्कापट्टाभित्रका विकृति-विसंगति न्यून हुने र त्यो व्यवसायलाई पनि शुद्धीकरण गर्ने छ ।

भ्रष्टाचारजन्य अपराधकर्मको अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार अख्तियारलाई प्राप्त छ, तर संसद्निर्मित कानुन र मन्त्रिपरिषद्का नीतिगत निर्र्णयबाहेकका हकमा । सरकारले भ्रष्टाचारविरुद्ध साँच्चै शून्य सहनशील नीति लिएको हो भने ‘नीतिगत निर्णय’ परिभाषासम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाउनुपर्‍यो । आर्थिक कारोबार जोडिएका कुनै विषय नीतिगत निर्णयमा पारिनु हुँदैन, बृहत् प्रकृतिका भ्रष्टाचार नियन्त्रण गर्ने हो भने । अर्कातिर सजिलै निर्णय गराउन पाइने र कानुनी डर-त्रासविना लाभ लिन पाइने हुँदा मन्त्रालयले कारोबारका प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका हुन् । यस्ता खेल तत्काल रोकिनुपर्छ । अर्कातिर संघीय संरचनासँगै प्रदेश र स्थानीय तहमा बढ्दो भ्रष्टाचार र प्राकृतिक स्रोतको दोहन रोक्ने संस्थागत संरचना निर्माण गर्नुपर्छ या अख्तियारको सक्रियता बढाउन उसलाई पूर्वाधार जुटाइनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.