जातीय विभेदको स्वरूप मात्र फेरियो
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका ४ लुवारगाउँनिवासी आदी विक ६० वर्षका भए। उनी ७ वर्षको हुँदा गाउँमा जस्तो जातीय विभेद भोग्थे, अहिले पनि उस्तै दलदलमा छन्। तर समय परिवर्तन भएसँगै जातीय विभेदको स्वरूप बदलिएको उनको बुझाइ छ।
‘देशमा भएका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएँ’, उनले भने, ‘तर २०५२ सालको माओवादी युद्धसँगै जातीय विभेदमा कमी आएको अनुभूति भए पनि विभेद गर्ने तरिका मात्रै फेरिएको हो।’ पहिले प्रत्यक्ष जातीय विभेद हुने गरे पनि अहिले नदेखिने गरी विभेद हुने गरेको उनको अनुभव छ। गाउँमा विकासे योजनाको उपभोक्ता समिति अध्यक्षमा बस्दासमेत समाजले तल्लो जातीको नेतृत्वलाई अस्वीकार गर्ने गरेको उनको भनाइ छ।
‘अहिले पनि सार्वजनिक धारामा पानी भर्दा दलितमाथि विभेद हुन्छ, मर्दा पर्दा दलित समुदायका मान्छेलाई माथिल्लो भनिने जातका व्यक्तिले सहयोग गर्दैनन्’, उनले थपे, ‘जातीय विभेदमुक्त समाज बनाउने नारा नारामै सीमित छ, विभेदको स्वरूप मात्रै बदलिएको हो, तर अवस्था उस्तै छ।’ स्थानीय भुरु कामीले गाउँमा पढेलेखेका शिक्षित व्यक्तिबाटै जातीय विभेद हुने गरेको बताइन्। ‘चुनावताका मात्रै जातीय विभेद नभएजस्तो हुन्छ, भोट माग्दा दलितको घरमा छिर्ने बाहुन, ठकुरी, क्षेत्री समुदायका नेता र उनका मान्छे चुनावपछि गाउँमा आउँदा घरभित्रै छिर्दैनन्।’
लुवारगाउँका खड्क विकले आफूसँग पढेका स्कुले साथीको घरमा समेत पस्न नदिएको गुनासो गरे। अहिले पनि गाउँमा हुने सामूहिक भोजमा दलित र गैरदलित एकै ठाउँमा बस्दैनन्। उनले भने, ‘दलित बस्तीमा कुल देवताको पूजामा मन्दिरका पुजारीसँग अन्य जातका व्यक्ति बस्छन् तर आफ्नो कुलदेवता पूजाका बेला मन्दिरभित्र प्रवेश गर्न दिँदैनन्।’ सामाजिक अभियन्ता हस्तबहादुर विकले समेत सार्वजनिक स्थलदेखि घरसम्म जातीय विभेद जारी रहेको बताए। उनले जनप्रतिनिधि समेत जातीय विभेदको मारमा परेको तर्क गरे।