जाँडले खाएका जड्याहा
रक्सीले गुम्यो करोडौँको जग्गा
काठमाडौं, सिनामंगलका शिशिर गौतम (२०) सानैदेखि रक्सीको कुलतमा फसे। १२ वर्षको कलिलो उमेरमा उनले पहिलो पटक रक्सी मुखमा हालेका थिए। ‘घरमा बुबा पिउनुहुन्थ्यो,’ उनले भने, ‘त्यो देखेर मलाई पनि पिउन मन लाग्थ्यो। एक दिन लुकेर पिइदिएँ।’ उनलाई रक्सी मन पर्यो। आक्कलझुक्कल गरेर उनले रक्सी पिउन थाले। बिस्तारै परिवारलाई थाहा भयो। तर, उनी केही न केही बहाना बनाएर लुकी–लुकी खान्थे। ‘खान थालेपछि साथी–संगत पनि त्यस्तै भयो,’ उनले भने, ‘कहिले मैले खुवाउँथेँ, कहिले उनीहरूले। यसरी रक्सीमा मेरो लत बस्दै गयो।’
छ कक्षा पढ्दादेखि रक्सी खान थालेका उनी सात कक्षा पुग्दासम्म रक्सीका अम्मली भइसकेका थिए। ‘सात कक्षाको अन्तिम परीक्षापछि दैनिक रक्सी खान थालें,’ उनले भने, ‘स्कुलमा खाजा खान दिएको पैसाले रक्सी खान्थेँ। यसरी रक्सीको मात्रा बढ्दै गएपछि घरमा सबै वाक्कदिक्क भए। ‘नखा’ बाट ‘बरु थोरै खा, धेरै नखा’ भन्न थाले।’
शिशिरको गर्लफ्रेन्ड थिइन्। आफ्नी गल्फ्रेन्डलाई साथीहरूले जिस्काएपछि रक्सी मातेर उनले नराम्रो झगडा गरे। प्रहरी चौकीमा उनी र उनका साथीहरू नौ दिनसम्म थुनिए। थुनाबाट निस्किएपछि उनले केही दिन रक्सी छोएनन्। तर, केही दिनपछि उनको अवस्था पहिलाको जस्तै भयो। ‘मलाई रक्सी खाने बहाना चाहिएको थियो,’ उनले भने, ‘पहिला दुःखी हुँदा मात्र रक्सी खाने मान्छे अब केही खुशीको खबर सुन्दा पनि रक्सी खान मन लाग्ने भयो।’ रक्सी खान पैसाको समस्या पर्न थालेपछि उनले एउटा कार्यालयमा मार्केटिङको काम गर्न थाले। त्यहाँबाट आएको पैसा उनी सबै रक्सीमा उडाउँथे।
रक्सी खाएर एक दिन उनले गर्लफ्रेन्डको घरमा गएर लफडा गरे। ‘रक्सी खाएको झोकमा उनको परिवारलाई तथानाम भनेछु,’ उनले भने, ‘त्यो दिनदेखि ऊसँग ब्रेकअप भयो। त्यही पीडामा रक्सी खाएर हातको नसा काटेछु। एक जना दाइले अस्पताल लगेर बचाउनुभयो।’
यहाँसम्म आइपुग्दा उनको शारीरिक र मानसिक अवस्था खराब भइसकेको थियो। त्यसैको फाइदा उनका आफन्तले उठाए। भक्तपुर, राधेराधेमा केही आना जग्गा उनका हजुरबुबाले उनको नाममा गरिदिएका थिए। ‘म रक्सीको तालमा भएको बेला एक जना आफन्तले मलाई साइन गर्न लगाएर जग्गा आफ्नो नाममा गरेछन्,’ उनले भने, ‘यो कुरा थाहा पाएर आमा र मामाबाट मैले धेरै गाली खाएँ। मैले करोडौँ पर्ने जग्गा गुमाएँ।’
त्यही जग्गाको पिरले उनी रक्सीसँगै अरू लागुऔषध पनि लिन थाले। परिवारले उनलाई मानसिक अस्पताल पनि लगेर राख्यो। ‘त्यहाँ जन्डिस भएपछि मलाई घर फर्काइयो,’ उनले भने, ‘दुई–तीन हप्तासम्म एक सितो भात पनि मेरो मुखमा परेन। अस्पतालबाट फर्किएपछि झन् खाना र खाजाको सट्टा पनि रक्सी नै खान थालेँ।’
रक्सीको लत दिन प्रतिदिन बढ्दै गएपछि परिवारले उनलाई पुनःस्थापना केन्द्रमा लगेर राख्यो। ‘एक महिनासम्म के–के भयो मलाई केही थाहा छैन,’ उनले भने, ‘ त्यहाँ गएको एक महिनापछि म बल्ल होशमा (सामान्य अवस्थामा) आएछु। अहिले रक्सीले समस्या घटाउने होइन, झन् बढाउँदो रहेछ भनेर बुझेको छु।’
रक्सीले हाडछाला मात्रै
श्याम तामाङ भारतको मुम्बईमा जन्मिएका हुन्। ‘मेरी आमा यौनकर्मी हुनुहुन्थ्यो,’ उनले भने, ‘मलाई आफ्ना बाबु को हुन् ? थाहा छैन।’ २७ वर्षअघि उनी आमासँग नेपाल आएका थिए। ‘आमालाई एचआईभी संक्रमण भएको हल्ला फैलिएको थियो,’ उनले भने, ‘त्यही भएर हामी मुम्बईबाट यता आएका थियौँ।’
पुख्र्यौली घर नुवाकोट भए पनि उनीहरू काठमाडौँनै बसे। ‘यता पनि आमाले उस्तै काम गर्नभयो,’ श्यामले भने, ‘काठमाडौँ आएको केही वर्षपछि एचआईभीको कारण आमा बित्नुभयो। त्यो बेला म १५ वर्षको थिएँ। आमाको सहारा गुमाएपछि मैले रक्सीलाई आफ्नो सहारा बनाउन थालेँ।’
काठमाडौँमा बाँच्नका लागि उनले भारी बोक्ने काम गर्न थाले। ‘दिनभरिको थकाइले राति सुत्ने बेला जीउ असाध्यै दुख्थ्यो,’ उनले भने, ‘जीउ दुखेको रक्सीले निको हुन्छ भन्ने सुनेको थिएँ। त्यसैले हरेक रात रक्सी पिएर सुत्ने बानी पर्न थाल्यो।’ बिस्तारै श्यामलाई राति मात्र होइन, बिहान र दिउँसो पनि रक्सी चाहिने हुन थाल्यो। उनले यो बीचमा भारी बोक्ने काम छाडेर रिक्सा चलाउन थाले। ‘रिक्सा पनि रक्सी पिएरै चलाइदिन्थेँ,’ उनले भने, ‘रक्सी खाएर रिक्सा चलाउँदा धेरै मान्छेलाई ठक्कर दिएँ। कतिले त ‘रक्सी खाएर चलाउँछस्’ भनेर गाली गर्थे, पिट्थे। तर, मैले कसैको कुरा सुनिनँ। बरु रिक्सा नै बेच्दिएँ।’
उनलाई सामान्य अवस्थामा आउन पनि रक्सी चाहिने भइसकेको थियो। ‘रक्सी नखाई निन्दै्र लाग्दैनथ्यो,’ उनले भने, ‘रक्सी खान नपाउनेबित्तिकै हातखुट्टा काम्थ्यो। एक गिलास खाएपछि काम्न छाड्थ्यो।’ उनले यतिबेलासम्म घरजम गरिसकेका थिए। एक छोरा पनि जन्मिसकेका थिए। छोरा जन्मिएको नौ वर्षसम्म श्रीमतीले साथ दिए पनि पछि छाडेर गइन्। ‘यो सबै रक्सीकै कारणले भएको हो भन्ने मलाई थाहा थियो,’ श्यामले भने, ‘एक मनले छोड्छु जस्तो लाग्थ्यो। अर्को मनले छोड्नै दिँदैनथ्यो।’
श्रीमती र छोराले छाडेर गएपछि श्याम कोठामै जान छाडे। ‘दिउसभरि सिमेन्टका बोराहरू बोक्ने, टन्न रक्सी खाने र फुटपाथमा सुत्ने गर्न थालेँ,’ उनले भने, ‘कमाएको पैसा भात खाने होटलभन्दा रक्सी खाने होटलतिर सक्न थालेँ। खाना नखाएर रक्सी मात्र खाँदा शरीरको मासु सिद्धिएर हड्डी र छाला मात्र बाँकी भयो।’ यति भइसक्दा पनि उनले रक्सी खान छाडेनन्। ‘धेरै रक्सी खाएर म हिँडडुल नै गर्न नसक्ने भइसकेको थिएँ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि मैले रक्सी खान छाडिनँ।’
श्यामको नाजुक अवस्था देख्न नसकेर उनका एक जना साथीले उनलाई संकल्प पुनःस्थापना केन्द्रमा पुर्याइदिएका थिए। ‘सुरुमा उनलाई देख्दा म आफैँ आत्तिएको थिएँ,’ संकल्पका निर्देशक साजन श्रेष्ठले भने, ‘शरीरमा छाला र हड्डी मात्रै थियो। अहिले छ महिनापछि उनको स्वास्थ्यमा निकै सुधार आएको छ।’
भातको सट्टा रक्सी
टंक लम्साल, ४१, पूर्वसैनिक हुन्। उनी छ वर्षको हुँदा उनकी आमा बितिन् । नौ वर्षको हुँदा उनका बुबा पनि बिते। ‘आमाबुबा नभएकाले मलाई के राम्रो, के नराम्रो थाहा भएन,’ उनले भने, ‘त्यसैले साथी–संगतमा लागेर १४÷१५वर्षको उमेरदेखि नै रक्सी खान थालेँ। पहिले हप्ता–पन्ध्र दिन बिराएर खान्थेँ। पछि दिनदिनै खान थालेँ। रक्सी सुरु गरेको दुईतीन वर्षमै म भयानक जँड्याहा भइसकेको थिएँ।’
टंकका दाइ कपाल काट्ने काम गर्थे। उनले पनि कपाल काट्ने काम सिके। उनीहरू दाजुभाइ मिलेर एउटा सैलुन चलाए। २०५३ सालमा उनको बिहे भयो। एक वर्षपछि कपाल काट्ने कामका लागि उनी आर्मीमा भर्ती भए। ‘खाने मुखलाई जुँगाले कहाँ छेक्थ्यो र ?’ उनले भने, ‘ड्युटी नपरेको बेला साथीहरू भेला पारेर ब्यारेकमै रक्सी खाइन्थ्यो।’
टंक २०७१ सालमा आर्मीबाट रिटायर्ड भए। ‘रिटायर्ड भए पनि फौजका साथीहरूसँग भेट भइरहन्थ्यो,’ उनले भने, ‘त्यसपछि झन् दिनदिनै रक्सी खान थालियो। एक बोतल, दुई बोतल गर्दागर्दै बिहान खान बसेको मान्छे बेलुकासम्म खाएरै बस्ने भइयो।’
खान थालेपछि उनको व्यवहारमा परिवर्तन आउन थाल्यो। कहिल्यै नरिसाउने उनी सानो सानो कुरामा पनि रिसाउन थाले। ‘मलाई म पहिलाको जस्तै छुजस्तो लाग्थ्यो,’ उनले भने, ‘तर, परिवार र साथीभाइहरू तँ चेन्ज भइस् भन्थे।’
रक्सीको मात्रा बढाउँदै गएपछि उनलाई पेट दुख्ने समस्या देखिन थाल्यो। तर, पनि रक्सीले आफूलाई यस्तो गराएको हो भन्ने चेत उनमा थिएन। ‘बेलुका खाएर सुत्थेँ,’ उनले भने, ‘बिहान उठ्दा पेट र टाउको दुखिरहेको हुन्थ्यो। ह्याङओभर उतार्न फेरि थप्थेँ। खाएपछि दिनभरि खाएको खायै हुन्थेँ।’ आफूलाई समाजले के भन्ला भन्ने डर कहिल्यै नभएको उनले बताए।
यस बीचमा उनले धेरै ठाउँमा काम गरे। तर, रक्सी खानी बानीले गर्दा कतै टिक्न सकेनन्। ‘फेरि सैलुन खोलेँ,’ उनले भने, ‘तैपनि, मेरो बानीमा कुनै परिवर्तन भएन। म रक्सी खाएर लडिरहेको हुन्थेँ। सैलुनको सटर सधैँ बन्द हुन्थ्यो। वरपरका कसैले मलाई विश्वास गरेनन् र सैलुन बन्द भयो।’
धेरै रक्सी खान थालेपछि उनलाई खाना रुच्न छाड्यो। ‘भोक त लाग्थ्यो, तर घाँटीबाट भात मुन्तिर जाँदै–जाँदैनथ्यो,’ उनले भने, ‘भातको सट्टा पनि रक्सी नै खान थालेँ। अति भएपछि श्रीमतीले मलाई सुधार केन्द्रमा लगेर राखिन्।’ सुधार केन्द्रमा अहिले उनी रक्सी छोड्ने प्रयास गरिरहेका छन्।
शान्ति सेनाको पैसा रक्सीमा स्वाहा
काठमाडौँ, कालिमाटी बस्ने धर्मबहादुर खड्का (नाम परिर्वतन), ५२, ले रक्सी खान थालेको ४० वर्ष भयो। उनका बुबा भारतीय सेनामा थिए। ‘बुबा उताबाट आउँदा सधैँ रक्सी लिएर आउनुहुन्थ्यो,’ उनले भने, ‘उहाँ ‘जीउ दुखेको सञ्चो हुन्छ, खा’ भन्नुहुन्थ्यो। म पनि खाइदिन्थेँ। १२ वर्षको उमेरमा रक्सी खान सुरु गरेको थिएँ। केही वर्षपछि त मलाई हरेक दिन रक्सी चाहिने अवस्था आइसकेको थियो।’ पछि उनी पनि नेपाल आर्मीमा भर्ती भए। ‘आर्मीमा भर्ती हुनेबित्तिकै एक वर्षका लागि तालिममा परेँ,’ धर्मले भने ‘त्यो बेला एक घुट्को रक्सी मुखमा पर्न पाएन। तालिम सकिएपछि बिदाको दिन पारेर रक्सी खान थालेँ।’
२०६३ सालमा उनी सेवानिवृत्त भए। ‘मलाई कहिले पेन्सन पाक्ला र घर बसेर धोको पुगुञ्जेल रक्सी खाउँला भन्ने भइसकेको थियो,’ उनले भने, ‘त्यसपछि साथीहरू भेला पारेर दिनदिनै रक्सी खान थालेँ। दुई पटक शान्ति सेना गएर कमाएको पैसा रक्सीमा उडाएँ।’
उनका दुई छोरी र एक छोरा छन्। धर्मले दिनदिनै रक्सी खान थालेपछि परिवारले उनीसँग घृणा गर्न थाल्यो। समाजमा उनको इज्जत बाँकी रहेन। ‘श्रीमतीसँगै छोराछारी पनि टाढा–टाढा हुन थाले,’ उनले भने, ‘यस्तो गनाएको मान्छे घरभित्र छिर्ने होइन भनेर घरै छिर्न दिँदैनथे। समाजमा बसी नसक्नु भइसकेको थियो। त्यसैले रक्सीको लत छोड्न मैले फेरि काम गरेर मन भुलाउने विचार गरेँ।’
२०६९ सालमा उनले वाणिज्य बैंकमा काम पाए। अफिस विराटनगरमा थियो। ‘अफिसले मलाई क्वार्टर पनि दिएको थियो,’ उनले भने, ‘अफिसमा हतारहतार काम सकेर क्वार्टरमा गएर रक्सी खाएर बस्थेँ। बैँकबाट कमाएको सबै पैसा रक्सीमा उडाउँथेँ। यसरी रक्सीमा मैले लाखौँ रुपैयाँ उडाएँ।’ धेरै रक्सी खाएर ढलेको अवस्थामा छ महिनाअघि उनलाई प्लेनमा हालेर काठमाडाँै उपचार गर्न ल्याइयो। अहिले उनी सुधारगृहमा छन्।
मनोचिकित्सक प्रा.डा. रवि शाक्य रक्सीको लतमा परेको मानिसलाई अपहरण शैलीमा सुधार गृहमा राख्नु गलत भएको बताउँछन्। ‘रक्सीको लतमा परेका धेरै मानिसलाई परिवारका सदस्यले अपहरण शैलीमा सुधार गृह लैजान्छन्,’ डा. शाक्य भन्छन्, ‘यो जघन्य अपराध हो। उसलाई ‘मर्’ भनिएको हो। उसको स्वास्थ्यमाथि खेलबाड गरिएको हो।’ रक्सी खाइरहेको मानिसले खान नपाएपछि उनीहरूकोे दिमागले अनौठा–अनौठा कुरा कल्पना गर्ने उनी बताउँछन्। ‘केही समयअघि एक जना बिरामी पाटन अस्पतालको ओपीडीमा उफ्रीउफ्री छिर्यो,’ उनी भन्छन्, ‘‘किन उफ्रेको’ भनेर सोधेको ‘भुइँभरि भ्यागुतैभ्यागुता रहेछन् कुल्चिएला भनेर उफ्रेको’ भन्यो। यस्ता धेरै बिरामी छन्, कोही सर्प देखेँ, कोही किरा देखेँ, कोही टाउको नभएको मान्छे देखेँ भन्दै सुनाउँछन् ।’ रक्सीको लतमा परेका मानिसहरूले विभिन्न दुर्घटना निम्त्याउने हुनाले विशेषज्ञको सल्लाहअनुसार उनीहरूको उपचार गर्नुपर्ने डा. शाक्य बताउँछन्।
अम्मलीबाट बडिबिल्डर
विशाल चौधरी बडिबिल्डर हुन्। तर, तीन वर्षअघिसम्म समाजले उनलाई ‘जँड्याहा’ भनेर चिन्थ्यो। त्यो बेला उनी दिनभरि साथीहरूसँग डुल्थे। रात परेपछि रक्सी खान निस्कन्थे। ‘मलाई होशमा बस्न मन लाग्दैनथ्यो, त्यसैले बेहोशीमा पुुग्नका लागि रक्सी खान्थेँ,’ उनले भने, ‘खाँदाखाँदै म रक्सीको चंगुलमा फसेँ। म सधैँ बेहोशीमा हुन्थेँ। होशमा आएको बेला कहाँबाट रक्सी खान पैसा जुटाउने भन्ने सोच्दैमा समय बित्थ्यो।’ उनले पैसाको जोहो गर्नका लागि थुप्र्रै गलत काम गरेको बताए। ‘आफन्तसँग पैसा माग्नु, ढाँट्नु त मेरा लागि सामान्य थियो,’ उनले भने, ‘कहिलेकाहीँ त परिवारका सदस्यको पैसा पनि चोर्थें। मेरो अवस्था यति खराब भइसकेको थियो कि सुतेको बेला खाटै घुमेको जस्तो हुन्थ्यो। हिँड्न लाग्दा भूकम्प गएको जस्तो भान हुन्थ्यो।’
उनको हित चिताउने केही साथीभाइले उनकी आमालाई ‘यस्तै हो भने विशाल मर्छ, उनको उपचार गराउनुस्’ भने। त्यसपछि उनकी आमाले उनलाई पुनःस्थापना केन्द्रमा पुर्याइन्। ‘त्यहाँ छ महिना बसेँ,’ उनले भने, ‘सफल उपचार भयो। त्यसपछि बडिबिल्डर बन्ने सोच बनाएँ। सधैँ जिमखाना धाउन थालेँ।’ पाँच महिनामै उनमा परिवर्तन आयो। ‘थुप्रै बडिबिल्डिङ कम्पिटिसनमा भाग लिएको छु,’ उनले भने, ‘अहिले मलाई सबैले सफल बडिबिल्डर भन्छन्। इच्छाशक्ति बलियो भयो भने रक्सी छोड्न नसिकने होइन।’
‘रक्सीको दलदलबाट निस्कन अरूको सहायता चाहिन्छ’
प्रा.डा. रवि शाक्य, मनोचिकित्सक
नेपालमा विभिन्न कारणले सबैभन्दा बढी दुरुपयोग भएको चिज रक्सी हो। केही वर्षअघिको अनौपचारिक तथ्यांकअनुसार सालिन्दा प्रतिव्यक्ति करिब शून्य दशमलव १५ लिटर रक्सी खपत हुने गर्छ। समुदायमा गरिएका अध्ययनहरूमा करिब २५ प्रतिशत र अस्पतालमा गरिएका अध्ययनहरूमा करिब २० प्रतिशत रक्सीको समस्या पाइएको छ।
कुनै पनि मानिस ‘जँड्याहा’ बन्न चाहँदैन। रक्सी खाने क्रममा उसलाई लत बस्न जान्छ। रक्सी खाने सबै मानिस लतमा हुँदैनन्। केही मानिसलाई मात्र यसको लत हुन्छ। मदिराको लत कसलाई बस्छ, कसलाई बस्दैन भन्ने कुरा जेनेटिक्सले पनि निर्धारण गर्छ। कसैको जिनमा लत पर्ने जोखिम हुन्छ भने कसैकोमा हुँदैन। महिला र कम उमेरकालाई रक्सीको लत छिट्टै हुन सक्छ। किनभने, उनीहरूको शारीरिक बनोट र क्षमता त्यस्तै किसिमको हुन्छ। तर, कतिपय मानिस भने बिहानदेखि रक्सी खाएर पनि दिनभरि मज्जाले काम गरिरहेका हुन्छन्।
रक्सीको लत एउटा दलदल हो। यसमा फसिसकेपछि मान्छे आफैँ निस्कन सक्दैन। उसलाई यसबाट बाहिर निकाल्न अरूको मद्दत आवश्यक पर्छ। उसले आफैँलाई नियन्त्रण गर्न सक्दैन। आफ्नो नियन्त्रणभन्दा बाहिर गएको अवस्थालाई हामी लतमा परेको भन्छौँ। कोही मानिस नियन्त्रण गरेर खान्छ भने त्यसलाई लतमा परेको भनिँदैन। कोही मानिस दिनदिनै रक्सी खाँदैन, खाएको बेला झगडा गर्दै हिँड्छ। यस्तोलाई लत परेको नभनी ‘एब्युज अफ अल्कोहल’ भन्छौँ। यस्तो मानिस रक्सीमा निर्भर हुँदैन। जो निर्भर हुन्छ, उसको कति खाने, कहिले खाने, कहाँ खाने भन्नेमा नियन्त्रण हुँदैन। एक पेग मात्र खान्छु भनेर बसेको मानिस दिनभरि खाएर बस्छ। रक्सी खाएर अफिस जानु हुँदैन भन्ने थाहा हुन्छ, तर नियन्त्रण गर्न सक्दैन र खाएरै जान्छ। निर्भर भइसकेपछि खान बन्द गर्दा शारीरिक र मनोवैज्ञानिक पीडा हुन थाल्छ। खान छोडेपछि ढल्ने, चिडचिड पसिना आउने, काम्ने, प्रेसर बढ्ने हुन्छ। खाएन भने मानिस सामान्य हुन सक्दैन। त्यो पीडा नखाने मान्छेले बुझ्नै सक्दैन।
कतिपय मानिसमा अगाडि नै मानसिक समस्या हुन्छ। उनीहरूले त्यो समस्या लुकाउन रक्सीको सहारा लिन्छन्। डिप्रेसनमा गएको मान्छेलाई राति निद्रा लाग्दैन। रक्सी खायो भने निद्रा लाग्छ भनेर कसैले सुनाइदिन्छ अनि ऊ रक्सी खान थाल्छ। डिप्रेसन केही समयपछि आफैँ निको भएर जान्छ, तर उसमा रक्सीको लत बस्छ।
रक्सीको लत लागेका मानिसहरू नैतिक पतन भएका मान्छे होइनन्। डाक्टर, इन्जिनियरदेखि नेतासम्मलाई यसको लत बसेको हुन्छ। यो जटिल रोग हो। यसको मानसिक उपचार जरुरी हुन्छ।
पहिलो पटक रक्सी खाँदा लागेन भने त्यो खाने मानिसका लागि नराम्रो खबर हो। किनभने, यस्तो मानिसलाई रक्सीको लत बस्ने सम्भावना बढी हुन्छ। यस्ता मानिसले जति खाए पनि लाग्दैन भन्दै निरन्तर खाइरहन्छ र उसमा बस्तारै लत बस्दै जान्छ। तर, पहिलो चोटि खाँदैमा लाग्यो भने त्यो मानिसलाई लत बस्ने सम्भावना कम हुन्छ। लाग्ने मानिसले नियन्त्रणमा बसेर खान्छ। कसैले पहिलो चोटि खादैमा लागेर नराम्रो अनुभव भएपछि दोस्रो चोटिदेखि खानै छोडिदिन्छ।
जाँडरक्सीको समस्या धेरैको परिवारमा हुन्छ। तर, उपचारका लागि निकै थोरै मानिस मात्र अस्पताल आउँछन्। अधिकांशलाई आफू रक्सीको लतमा परेको कुरा थाहै हुँदैन। एक पटक जाँड–रक्सी बन्द गरेर हेर्ने हो भने हरेक घरमा रक्सीको लत परेका मानिस भेटिन्छन्।
मान्छेमा राम्रो रक्सी खायो भने लत बस्दैन भन्ने भ्रम छ। कतिपय मान्छेलाई ‘तपाईंलाई रक्सीको लत बसेछ’ भन्यो भने ‘कहाँ हुनु, म अरूजस्तो लोकल खाने मान्छे हो र, ब्ल्याक लेबलबाहेक अरू छुँदै छुँदिनँ’ भन्छन्। यो गलत कुरा हो। जुनसुकै रक्सीले पनि लत बस्न सक्छ। बियरमा थोरै अल्कोहल हुन्छ, जति खाए पनि हुन्छ भन्छन्। तर, एक पेग अन्य रक्सी खानु र एक जम्बो ग्लास बियर खानु बराबर हो।
मदिरा र यौन सम्बन्धको विषयलाई लिएर पनि धेरै भ्रम छन्। रक्सी खाएर यौन सम्बन्ध राख्दा राम्रो हुने धेरैको धारणा छ। तर, वास्तवमा रक्सीले यौन चाहना बढाउँछ, तर ‘पर्फर्मेन्स’ घटाउँछ। कतिपयले यौन सम्बन्ध राख्दा लाग्ने लाज वा संकोच घटाउन पनि रक्सी पिउँछन्।
रक्सीसँगको युद्ध मानिसले कहिल्यै जित्न सकेको छैन। खाने मानिसले केही न केही उपाय निकालेकै हुन्छ। लतमा परेको मानिसहरूले नै हो अरुलाई पनि लतमा पार्ने। त्यसैले उनीहरूको उपचार नै यसको रोकथामको उपाय हो। रक्सीको लतमा लागेका मानिसको उपचार गर्नु नैे ब्लड प्रेसर, ग्यास्ट्रिक, सुगर, मुटुको रोग आदिको पनि उपचार गर्नु हो।
रक्सी दुव्र्यसनीले रक्सी छोड्दा वा मात्रा कम गर्दा निम्न लक्षण देखापर्छन्ः
—हातखुट्टा लगलग काम्ने, मुटु ढुकढुक गर्ने, पसिना छुट्ने, रक्तचाप बढ्ने
—अनिद्रा, छटपटी, बेचैनी, चिढचिढाहट बढ्ने
–झसंग हुने, आत्तिने
—वाकवाकी लाग्ने, उल्टी हुने
—छारे रोगको लक्षण देखापर्ने
—असामान्य इन्द्रिय स्वचालन हुने (वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने)
—असामान्य भ्रम हुने (समाजले नमान्ने वा नभएको कुरा गलत निष्कर्षबाट हो भन्ठान्ने, जति प्रमाण दिएपनि कुनै असर नपर्ने)
—डेलिरियम हुने (चेतना र अन्य मस्तिष्क कार्यमा गडबडी हुने)
धेरै बिरामी जागरुक भए पनि सेवन नगर्दा अत्यन्त तलतल लाग्ने हुँदा पहिलो कदम पार गर्नासाथ फेरि तुरुन्त सेवन गर्न थाल्छन्। यस्तो अवस्थामा तलतल कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ। जस्तो, रक्सीका लागि फ्लुअक्सेटिन, नालट्रेक्सोन आदि। विशेष अवस्थामा लागुपदार्थसित खराब प्रतिक्रिया गर्ने औषधि नियमित प्रयोग गर्न सकिन्छ।
(कुराकानीमा आधारित)