पुछार सिटमा कवि लक्ष्मण
पोखरा : चालीस कटेसि लेखौंला त उनले कहिल्यै भनेका होइनन्। तर परिस्थिति त्यस्तै पर्यो, ४० कटेसि लेख्न थाले। हुन त फेवाताल आडैको तालवाराही माविको कक्षा ५ मा पढ्दै फेवातालबारे कविता लेखेर फस्ट भएका थिए उनी। तर लेखनलाई निरन्तरता दिइरहेको भेउ कसैलाई भएन। २०५८ सालमा नवनीत साहित्य सागर भन्ने संस्था स्थापना सँगसँगै लक्ष्मण थापाले गजल र मुक्तकमा कलम चलाउन थाले। र, यो अवधिमा चार कृति निकाल्न पनि भ्याइसके।
तिनै थापा माघे संक्रान्तिका दिन एकल कविता वाचनमा उभिए। सुरुमै उनले स्वीकारे-अलि ढिला लेख्न सुरु गरेँ। तर उनलाई चिनाउँदै गजलकार दीपक समीपले जुन उमेरमा सुरु गरेको भए पनि थापाको लेखनीमा समाजका जस्तोसुकै विषय समेटिने र उनका सिर्जना निकै विम्बात्मक रहेको खुलाए।
सहभागीकै पंक्तिमा र त्यो पनि पुछार सिटमा थिए थापा। जसै गजलकार समीपले डाके तब उनी मञ्चतिर लम्किए, त्यो पनि कविता वाचन गर्दै गर्दै। उनलाई एकल कविता वाचनमा उभ्याउने संस्था नै पुछारसिटे अभियान जो थियो। जसको आदर्श वाक्य भारतका विद्वान् राष्ट्रपति एपीजे अब्दुल कालामको छ— राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछार सिटमा भेटिन सक्छ।
थापाले सुरुमै देशभक्तिपूर्ण कविता सुनाए र भने, ‘मेरो मुटु देशको माटोले बनेको छ। आफू सरुभक्त, तीर्थ श्रेष्ठ र प्रकट पंगेनीको संगतमा हुर्किएको र उनीहरूकै प्रभाव आफ्ना कवितामा पनि देखिन सक्ने थापाले स्वीकारे। भूपि शेरचनलाई समेत सम्झिएका उनले भूपिकै भावको र उनकै शीर्षक पैंचो लिएर लेखेको कविता सुनाए। राष्ट्रभक्ति, सामाजिक यथार्थ र प्रेम उनका कवितामा सुनिए। घरि बालककाल सम्झिए त घरि किशोरवय र कलेज जीवन।
कहिले त्यसै टोलाइरहँदा त कहिले कविसँगको यात्राका क्रममा कविता लेख्ने गरेको भन्दै थापाले मलामी जाँदा पनि कविता फुरेको सम्झना गरे। ‘कविता कहाँबाट आउँछ, पत्तै हुँदैन’, उनले भने। डेढ दर्जनजति कविता वाचन गरेका थापालाई सरस्वती श्रेष्ठ सरु र अमृत सुवेदीले वाचनमा सघाएका थिए। कवि सरुभक्तले लक्ष्मणलाई छिटै कविता कृति निकाल्न सुझाव र शुभकामना दिए।