शालीन विद्रोह
विसं २०३६ मा भएको पञ्चायती व्यवस्थाविरुद्धको सडक कविता क्रान्तिमा मञ्जु काँचुली, ७२, ले एउटा कविता वाचन गरेकी थिइन्। कविता थियो, ‘हडताल’। यता उनले कविता वाचन गरिन्, उता आफ्नी सहपाठी चाँदनी शाहले प्रतिक्रिया जनाइन्, ‘मञ्जुले पनि हाम्रो विरोध गरेकी ? ’ चाँदनी शाहले यसो भनिन् भनेर मञ्जुले साथीमार्फत सुनेकी हुन्।
विद्यालयमा ‘महेन्द्रमाला’ पढेका पुस्तालाई त थाहै होला, चाँदनी शाहले छरेको शान्तिको ध्वनि। तर, महेन्द्रमालायताको दुई दशकमा बाग्मतीमा धेरै पानी बगिसकेको हुँदा नयाँ पाठकलाई भनौं— चाँदनी शाह भनेकी रानी ऐश्वर्य हुन्। हजुर रानी ऐश्वर्य (बलिवुड कलाकार ऐश्वर्याको सादृश्यमा ती रानीलाई पनि ऐश्वर्या भन्ने-लेख्ने हिन्दूस्तान-हेजेमोनाइज्ड समय हो यो) !
चाँदनी र मञ्जुले पद्मकन्या कलेजमा आईए सँगै पढेका थिए। प्रायः एउटै बेन्चमा बस्थे। मञ्जुको बारेमा त तलतिर पूरै लेखिहालिन्छ नै, प्रसंगअनुसार चाँदनीको अलिकति कुरा गरौं न त। कस्ती थिइन् विद्यार्थी चाँदनी ? मञ्जु भन्छिन्, ‘शान्त स्वभावकी। पढाइमा अब्बल। कपाल निकै कलात्मक तरिकाले बाट्थिन्। सामान्य पहिरनमा आउँथिन्। सामान्य अर्थात् धोती लगाएर। अँ, अनि उनी कविता पनि लेख्थिन्।’
चाँदनीका बुवा सधैं कलेज पुर्याउन र लिन आउँथे।
आफ्नै सहपाठी पछि रानी भइन्। वीरेन्द्रसँग बिहे भयो। भेटघाट र बोलचाल पातलियो। न मञ्जुले सोधखोज गरिन्, न त चाँदनीले नै चासो दिइन्। मञ्जुलाई आफ्ना साथीहरूले रानीसँग भेटेर कुनै पद, जागिर माग्न नभनेका पनि हैनन् तर उनी त्यतातिर लागिनन्।
मञ्जु कलेज पढ्दा कविता लेखिरहन्थिन्। गोरखापत्र, समीक्षाजस्ता पत्रिकामा कविता पनि छापिन्थे। सानैमा कविता छापिने मञ्जु सुप्रसिद्ध लेखक भीमनिधि तिवारीकी छोरी हुन्।
मञ्जुको पहिलो कवितासंग्रह २०३२ सालमा छापियो, ‘किरणका छालहरू’। ३२ सालकै कुरा हो, ‘गाउँ फर्क अभियान’ चलेको थियो। राजधानी सहरमा जन्मेहुर्केकी मञ्जु पनि गाउँ फर्क अभियानअन्तर्गत साधना प्रधानको नेतृत्वमा लुम्बिनीतिर लम्किइन्। गाउँकै जमिनदारको घरमा बस्ने व्यवस्था मिलाइएको थियो। त्यहाँ उनले पहिलोपटक महिलाको कारुणिक अवस्था नजिकबाट जान्ने मौका पाइन्। उनी बसेको जमिनदारको घरमा उनीहरूकै छोरी र नातिनीलाई पनि घरबाहिर जान बन्देज थियो। उनीहरूले मञ्जुको टिमलाई आफ्नो कथाव्यथा सुनाए। परिवारबाट हुने विभेद सुनाए। ‘नेपाल गएर’ राजासँग आफ्ना कुरा सुनाइदिन आग्रह गरे। मञ्जुलाई दिदीबहिनीको आवाजले खुब छोयो। काठमाडौं फर्केपछि ‘भुतभुती आगो’ शीर्षकमा कथा लेखिन्। यो कथा कस्तुरी मासिकमा छापियो।
मञ्जुको अहिलेको लेखपढको खबर— आफ्नो १९औं किताब छाप्दै छिन्। पछिल्लो समय लेखेका लेख सँगाल्दै छिन् यसमा। उनको अहिलेको पठन गीता दर्शन, बौद्ध दर्शनलगायतका आध्यात्मिक पुस्तकमा केन्द्रित छ।
भीमनिधि बाबु हुन् भन्ने त माथि भनिसकियो। अब यतातिर फर्काैं एकछिन। घर साहित्य, कला र संगीतको त्रिवेणी थियो। बाबु राग निकाल्ने। गजलमा आलाप भर्ने। आमा आर्ट गर्ने। दिदी बेञ्जु र बहिनी मञ्जु मिलेर कविता पाठ गर्ने। दुई भाइ भने प्रायः पढाइमै ध्यानस्थ हुने।
अब आमाको कुरा गरौं। सुरुमै क्लाइमेक्स खोलिहालूँ— आमा फाइन आर्टमा गोल्ड मेडलिस्ट।
आमा ललितकला क्याम्पसमा अध्ययन गर्थिन्। मञ्जु भन्छिन्, ‘आमा निकै राम्रो आर्ट गर्नुहुन्थ्यो। स्वर पनि मीठो थियो। गीत गुनगुनाइरहनुहुन्थ्यो। लैनसिंह बाङ्देलसँग आर्ट सिक्नुभएको थियो। २०२० सालतिरको कुरा हो, राजा महेन्द्रले देशभरका कलाकारलाई समेट्ने गरी काठमाडौंमा कलास्पर्धा आयोजना गरेका थिए। आमाले बनाएको चित्रले प्रथम स्थान हासिल गर्यो। चित्रमा सबै जात र पेसामा आबद्ध महिला समेटिएका थिए। उनीहरूले आफ्नो ठाउँको संस्कृतिअनुसारका भेषभूषा पहिरिएका थिए। यो चित्र सर्वोत्कृष्ट बनी उपहारस्वरूप आमाले सुनको मेडल जित्नुभएको थियो।’
बुवाको हात समाएर सानैदेखि कविता पाठ गर्न जान्थिन्, मन्जु। भन्छिन्, ‘कानेटोपी लगाएर कविता पढ्न जाँदा मलाई लाज पनि लाग्थ्यो। तर पनि टोपी खोल्न पाइन्थेन। बच्चालाई कानेटोपी नै लगाइदिने चलन थियो। अरू बेला पनि बाहिर निस्कँदा छोरीहरूले खास्टो ओढ्ने चलन थियो। फिल्म हेर्न अनुमति थिएन। किताब पनि छानेर मात्रै पढ्नुपथ्र्यो। रेडियोमा पनि समाचार, भजन, साहित्यिक कार्यक्रमजस्ता निश्चित कार्यक्रम मात्रै सुन्न पाइन्थ्यो।’ कविता वाचन गरेर उनले १२ वर्षकै उमेरमा लक्ष्मी पदकसमेत पाप्त गरेकी थिइन्।
‘काँचुली’ किन धारण गरिन्, उनले ? बच्चा बेलाको कुरा हो, बारीमा डुल्न गएकी थिइन्। सर्पको काँचुली भेट्टाइछन्। त्यो समाएर घरमा ल्याइछन्। यो देखेर बुवाले उनलाई ‘काँचुली’ भनेर बोलाउन थालेछन्। काँचुलीको खास विशेष अर्थ खोज्नभन्दा पनि शब्द लालित्यको मिठास हेरिन्। नाममा यही जोडिन्।
उनलाई अहिले लाग्छ— काँचुलीकै खास अर्थ आफूमा लागू भएको छ। काँचुली भन्नाले रूपान्तरण, परिवर्तन। भन्छिन्, ‘म समाजका पुरातनवादी सिद्धान्त छाडेर अनेकौंपटक रूपान्तरित भएकी छु। आफंैलाई पटकौंपटक परिवर्तन गरेकी छु। मैले बाँचेको जिन्दगी मेरै आँखाले मूल्यांकन गरेर हिँडेकी छु। समाजका लागि मैले कहिल्यै ‘पूर्ण महिला’ बन्ने कोसिस नै गरिनँ।’
‘काँचुली मेरा बुवाले बोलाउने प्रिय नाम’, उनी मुस्कुराइन्।
आफ्नो लेखन धेरै विधामा छरिए पनि कविता र कथामा आफ्नो विशेष लगाव रहेको बताउँछिन्, उनी। काँचुली अंग्रेजी साहित्य र मनोविज्ञानको सहायक प्राध्यापक पनि हुन्। उनले ललित एजुकेसन पाटनमा १० वर्ष अध्यापन गरिन्। यसका साथै ग्लालेक्सीलगायत केही प्राइभेट कलेजमा पनि अंग्रेजी पढाउँथिन्। युनिफेम, आईओएम, यूएनडीपीलगायतका विदेशी संघसंस्थामा कार्यक्रम प्रमुखको हैसियतमा केही वर्ष काम गरिन्। महिलाका विषयमा अनुसन्धान गर्ने, रिपोर्ट लेख्ने काम पनि गरिन्।
सन् १९९५ मा चीनको बेइजिङमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। त्यहाँ मञ्जु पनि उपस्थित थिइन्। उनले त्यहाँ कविता प्रदर्शनी पनि गरिन्। एउटा कवितालाई २० डलरका हिसाबले बिक्री पनि गरिन्। भन्छिन्, ‘आयोजकले मलाई एउटा हल दिएका थिए। मैले आफ्ना कविता प्रिन्ट गरेर प्रदर्शनीमा राखेकी थिएँ। त्यहाँ मेरा निकै कविता बिके। अन्तर्राष्ट्रिय स्तरमा मेरा कविताले चर्चा पाएको त्यो क्षण मलाई खुब रमाइलो लाग्छ।’
मञ्जुले २०७४ सालमा ‘अक्षर ब्रह्म’ पुस्तक प्रकाशन गरेकी छन्; जुन कवितात्मक शैलीको डायरी हो।
विवाहको मामिलामा पनि उनको बेग्लै धारणा थियो। विवाहले महिलाको काम र करिअर रोकिनु हुन्न भन्ने सोच्थिन् उनी। लोग्ने-स्वास्नीको सम्बन्ध एकअर्कालाई सघाउने, दुःखसुखमा हिम्मत बढाउने हुनुपर्छ भन्ने लाग्थ्यो उनलाई। ३२ वर्षको उमेरमा वैवाहिक सम्बन्ध (वैवाहिक बन्धन)मा बाँधिइन्। यो लामो समय टिकेन।
किन त ? ‘ श्रीमान् आफ्नै तालमा मस्त। जमिनदारी प्रथा कानुनतः हटे पनि समाजमा र मान्छेको मनमा व्याप्त नै थियो। उनले मेरो काममा कहिल्यै सहयोग गरेनन्। प्रोत्साहन र हौसला त परको कुरा। दुई छोरा भइसकेका थिए, उनले पारिवारिक जिम्मेवारी पनि पूरा गरेनन्। अनि मलाई एक्लै खुसी हुन सक्छु जस्तो लाग्यो। उसको सम्पत्तिको केही मतलब लागेन। मान्छे त काम लागेन भने सम्पत्ति त आफैं कमाउँछु भन्ने लाग्यो। छोराहरूको पालनपोषण एक्लै राम्रोसँग गर्न सक्छु भन्ने लाग्यो। बिनाअंश नै सम्बन्ध विच्छेद गरेँ।’
मन्जु भन्छिन्, ‘विवाह भनेको त संस्कृतिले संरक्षण दिएको, समाजबाट मान्यता प्राप्त गरेको, संस्थागत रूप दिइएको ज्यादै तल्लो तहको केवल एउटा वेश्यावृत्ति रहेछ जसमा एउटी नारी एउटा कोठामा जिन्दगीभर एउटा पुरुषबाट भोगिन्छे, उपयोग गरिइन्छे।’
शरीरको अंगकै आधारमा महिलामाथि हिंसा हुनु गलत भएको बताउँदै यसका लागि महिला-पुरुष दुवै सचेत हुन जरुरी छ भन्छिन्, उनी। विवाहलाई पनि उनी पुरुषलाई मात्र मज्जा हुने, महिलाको अपमान हुने ‘वेश्यावृत्ति’ भन्छिन्। ‘मानवीय स्वभाव नै यस्तो छ कि हामी आफूभन्दा कमजोर, गरिब र तलको मान्छेलाई हेप्छौं’, मञ्जुले बिट मारिन्।