माघे झरीले उच्च भेगमा हिमपात
नुवाकोट : पश्चिमी वायुको प्रभावले जाडोसँगै माघे झरीले नुवाकोट र रसुवामा हिमपात भएको छ। बिहीबारदेखि पानी परेपछि दुबै जिल्लाका विभिन्न स्थानमा हिमपात हुनुका साथै अत्याधिक चिसो बढेको छ। पानीले हिमपात भएर तापक्रम घटेका कारण उच्च भेगमा निकै चिसो बढेको छ। चिसो र हिमपातले उच्च भेगमा जनजीवन प्रभावित भएको छ।
तीन दिनदेखिको झरीले चिसो बढेको कारण दुबै जिल्लाको दुई दर्जन भन्दा बढी पर्यटकिय स्थानमा शनिबार पनि हिमपात भएको छ। नुवाकोटको ककनी, सिक्रे, सामरी, भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, चिम्टेश्वर तथा रसुवाको लाङटाङ, गत्लाङ, तथा गोसाइकुण्ड क्षेत्रमा अत्याधिक पानी परेका कारण हिमपात भएको हो।
पानी परेर हिमपात भएपछि हिउँदे बालीहरु अन्न तथा तरकारीको खेती गरेका किसानहरु निकै खुशी भएका छन् भने उच्च क्षेत्रमा हिउँ परेपछि स्थानीयलाई कष्ट भएको वेलकोटगढीका रामहरि पाण्डेले बताए। लामो समयपछि हिउँ हेर्न पाउँदा सर्वसाधारण निकै खुसी भएको फिकुरीका रामचन्द्र नेपालले बताए।
यसका साथै रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात परेको रसुवाका आमाछेदुङ गाउपालिका-४ गत्लाङका नवीन लामाले जानकारी दिए। रसुवाको प्रमुख पर्यटकिय गोसाइकुण्ड पदमार्गमा रहेको चोलाङपाटीमाथि हिमपात भएको छ।
लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा पुगेका विदेशी पर्यटकहरु फर्कने क्रम जारीे छ। अन्य स्थानहरुमा समेत हिमपातको सम्भावना रहेको स्थानीयबासीले बताए।
झरी परेर मौसम चिसो भएपछि भुकम्प पीडितहरु समस्यामा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले हिमपातको चिसोबाट जोगिन उच्च क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्।
चिसो बढेसँगै नुवाकोटको सदरमुकाम विदुर र रसुवाको धुन्चेमा सर्वसाधारणको चहलपहल निकै घटेको छ। चिसोकै कारण निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ भने स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।