अन्नपूर्ण पदयात्रा मार्गमा हिमपहिरो : तीन सयभन्दा बढीको उद्धार
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुमा हिमपहिरो आएको क्षेत्रमा हराएका ४ कोरियाली पर्यटक र ३ नेपाली अझै सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ। हिमपहिरो क्षेत्र र वरपर शनिबार दिनभरि हेलिकप्टरबाट खोजी गर्दा पनि उनीहरू नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरी र स्थानीय घटनास्थलतर्फ गए पनि हिउँ खसिरहेकाले खोजी गर्न कठिनाइ भएको अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।
बाक्लो हिउँ थुप्रेको र अझै हिउँ खस्न नरोकिएकाले बेपत्ताको खोजी गर्न निकै कठिन भएको प्रत्यक्षदर्शी गाइड दोर्जे गुरुङले सुनाए। ‘हामी देउरालीबाट त्यहाँ पुग्दा पहिरो गएको थियो। यति बाक्लो बादल लागेको थियो कि नजिकैको मान्छे पनि देख्न नसकिने’, उनले भने, ‘शुक्रबार धेरै हिउँ पर्न थालेपछि माछापुच्छ्रे आधारशिविरतर्फ नगई देउरालीबाट हामी ७ जना पर्यटकसहित फर्कंदै थियौं। हाम्रो अगाडि ठूलो हिमपहिरो गयो। पदयात्रा गरिरहेका बेपत्ता भए।’
त्यो देखेपछि आफूहरू देउराली फर्केको उनले सुनाए। बाटोमा अर्को क्याम्पिङ टोलीका साथीले जाऊँ भनेपछि माथिबाट फेरि पहिरो झर्छ कि भन्दै हेर्दै डराउँदै आएको उनले सुनाए। ‘पहिरो झर्न नरोकिँदै हामी देउरालीमै बसेर के गर्ने भन्दै फर्केको र भाग्यवश हामी सकुशल आइपुग्यौं’, उनले भने। साँघुरो हिङ्कुखोला क्षेत्रमा हिमपहिरो खसिरहेकाले खोजी गर्न समस्या परेको वडाध्यक्ष गुरुङले सुनाए। हिउँ खस्न नरोकिउन्जेल र हिउँ नपग्लेसम्म खोज्न कठिन हुने उनले बताए।
बिहीबारदेखि हिमाली भूभागमा हिउँ पर्दा अन्नपूर्ण आधार शिविर, माछापुच्छे« आधार शिविर र हिमाली क्षेत्रको पदयात्रामा पुगेका पर्यटक अलपत्र परेका थिए। बिहान ४ बजेदेखिको हिमपात शुक्रबार साँझ ६ बजेसम्म भएको माछापुच्छ्रे आधारशिविरबाट हेलिकप्टरमा उद्धार गरी शनिबार पोखरा आएका पर्यटक गाइड अनिल गुरुङले बताए। धेरै हिउँ भएकाले अन्नपूर्ण र माछापुच्छे« आधा शिविरबाट पदयात्रा गरेर फर्कने कल्पना गर्न नै नसकिएको उनले सुनाए। हेलिकप्टरले उद्धार गर्नुबाहेक अन्य अवस्था नै नरहेको अर्का गाइड डिल्लीराम भारतीले बताए।
अन्नपूर्ण र माछापुच्छे« आधारशिविरबाट शनिबार सिम्रिक एयरलगायत विभिन्न हेलिकप्टरले १ सय ४० जनाको उद्धार गरेको अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष गुरुङले जानकारी दिए। विदेशी र नेपाली पर्यटक, गाइड, पोर्टर, होटल सञ्चालक, कर्मचारीको उद्धार गरिएको उनले जानकारी दिए। अन्नपूर्ण र माछापुच्छ्रेको आधार शिविरका होटल व्यवसायी, नेपाली र विदेशी पर्यटकसमेत गरी ३ सयभन्दा बढीलाई शनिबार सुरक्षित स्थान र पोखरा ल्याएको सिम्रिक एयरका पोखरा प्रमुख कमल गौतमले जानकारी दिए। ‘थुप्रै नेपालीलाई छोम्रोङ भन्ने ठाउँसम्म ल्यायौं, अरु विदेशी र हिँड्न नसक्ने भएका नेपालीलाई पोखरा ल्यायौं’, उनले भने।
नेपालीहरूको निःशुल्कै उद्धार गरेको जानकारी गौतमले दिए। ‘विदेशीलाई भने अति न्यूनतम खर्चमा ल्याएका हौं’, उनले भने। छोम्रोङको पर्यटन व्यवस्थापन समिति, वडाध्यक्षलगायतको अनुरोधपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारमा जुटेको उनले बताए। उद्धार हुनेको संख्या विदेशीको बढी छ। नेपाली पर्यटक, गाइड र भरिया गरी करिब ४० जना रहेको र विदेशी भने सयभन्दा बढी रहेको जानकारी गौतमले दिए। उद्धारका लागि सिम्रिक एयरका हेलिकप्टरले शनिबार बिहान साढे ९ बजेदेखि उडान भरेका थिए।
मनाङमा ४ चिनियाँ सम्पर्कविहीन
अन्नपूर्ण पदयात्रामा गएका ४ चिनियाँ पर्यटक मनाङमा सम्पर्कविहीन भएका छन्। थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरू हिमपातका कारण सम्पर्कमा आउन नसकेको प्रहरीको भनाइ छ। ‘मनाङ निस्याङ गाउँपालिका-९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएका उनीहरू हालसम्म थोरङ भन्ज्याङ नकटेको र सम्पर्कमा नआएको खबर छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक रेग्मीले बताए। हराएका ४ जनामध्ये २ महिला र २ पुरुष छन्। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको विज्ञप्तिमार्फत उनले जनाएका छन्।
सम्पर्कविहीन चिनियाँ पर्यटकको विवरण :
नाम Huang Yiwin(महिला) पासपोर्ट नम्बर भन ११२९२६२
नाम Cat siau ting (महिला) पासपोर्ट नम्बर भय ५२५६४८०
नाम Ma qianli (पुरुष) पासपोर्ट नम्बर भअ ३४६७१०
नाम And jhad(पुरुष) पासपोर्ट नम्बर भ ६६८७०००५