म खाली खुट्टा स्कुल जान्थेँ

म खाली खुट्टा स्कुल जान्थेँ

भाइबहिनी हो ! तिमीहरूले एकताकाको निकै चर्चित टेलिचलचित्र हिजोआजका कुरा त पक्कै हेरेका होलाऊ। अर्को लोकप्रिय सिरियल तीतो सत्य र कैयौं नेपाली फिल्ममा पनि मलाई देखेका होलाऊ।

मेरो नाम रमा थपलिया हो। मेरो जन्म २०१७ सालमा भएको हो। म जन्मिएको ठाउँलाई सबैले पहाडको रामपुर भन्ने गर्थे। मलाई त्यो ठाउँको बारेमा अहिले केही सम्झना छैन।

म चार वर्षकी हुँदा मेरो आमाबुबा जनकपुर बसाइँ सर्नुभयो। हाम्रो घर जनकपुरमा थियो। मैले सानैमा धेरै खेल्ने र चकचक गर्ने मौका पाइनँ। छोरीले घरको काम गर्नुपर्छ। बाहिर जानुहुँदैन भन्थे। तर, बुबाले भने मलाई पढाउनुभयो।

आजभन्दा करिव ६० वर्ष पहिलेको कुरा हो। मेरो बुबा जमिनदार हुनुहुन्थ्यो। हामी सानो हुञ्जेल बुवाले गाउँको शिक्षकलाई झिकाएर उहाँलाई घरमै पालेर पढाउनुभयो। अलि ठूलो भएपछि छोरीलाई पढाउनुपर्छ भनेर बुवाले मलाई स्कुल राखिदिनुभयो। ६० वर्षपहिले छोरीलाई पढाउनु भनेको बालुवामा पानी खन्याउनु जस्तै मानिन्थ्यो। छोरी भनेको अर्काको घर जाने जात हो भन्थे।

मधेसमा एकदमै गर्मी हुन्थ्यो। बुवा जमिनदार भए पनि हामीसँग लगाउने जुत्ता र चप्पल थिएन। कपी, किताब राख्न झोला थिएन। प्लास्टिकको झोला पनि हँुदैनथ्यो। हामी हातमा किताब बोकेर स्कुल जान्थ्यौं। गर्मी समयमा बिहानमा स्कुल हुन्थ्यो। फर्किंदा टन्टलापुर घाम हुन्थ्यो। हामी खाली खुट्टा टाउकोमा किताब राखेर घर दौडिन्थ्यौं। खाली खुट्टा बालुवामा टेक्दा साह्रै पोल्ने गथ्र्यो। अहिले पनि याद आउँछ त्यो कुरा। शिक्षकलाई अहिले जस्तो सर भन्ने चलन थिएन। हामीले मास्टर साब भन्थ्यौं।

गर्मी कम हुन थालेपछि दिउँसो पढाइ हुन्थ्यो। बिहान पढाइ हुँदा दिउँसो घर आएपछि घरधन्दा सकाउने र गोठाला जान्थ्यौं। दिउँसो पढाइ हुँदा बिहान घरको काम सकेर मात्र स्कुल जान पाइन्थ्यो। त्यतिबेला पाँच कक्षामा पुगेपछि मात्र एबीसीडी पढ्थ्यौं। मैले स्कुल पढ्दा केटीहरू औंलामा गन्न सकिने हुन्थे।

म आठ वर्षकी हुँदा मेरो आमा बच्चा पाउन नसकेर बित्नुभयोे। त्यतिबेला अस्पताल जाने चलन पनि थिएन। सुत्केरी गाउँमै गराउँथे। त्यसकारण अकालमा धेरै आमाले ज्यान गुमाउनु पथ्र्याे। आमा बितेपछि बुवाले अर्काे विवाह गर्नुभयो। बुवाले विवाह गरेपछि अर्की आमाबाट माया पाउन सकिएन। बुवाले भने माया गर्नुहुन्थ्यो।

मेरो १३ वर्षको उमेरमा विवाह भयो। महिनावारी नभई विवाह गर्‍यो भने धर्म कमाइन्छ भनेर बुवाले मेरो विवाह गरिदिनुभयो। विवाह भएको एक वर्ष म जनकपुरमा बसें। त्यतिबेला म ६ कक्षामा पढ्थेँ। १५ वर्षको भएपछि म काठमाडौँ आएँ। विवाह गर्ने समयमा गर्छु वा गर्दिनँ भन्ने पनि चलन थिएन। मैले एकपटक पनि नदेखेको मान्छेसँग मेरो विवाह भयो। त्यो बेला म १३ वर्ष र मेरो श्रीमान् २२ वर्षको हुनुहुन्थ्यो। तर, उहाँले भने मलाई एक÷दुई पटक देख्नु भएको रहेछ। मैले विवाह भनेको राम्ररी बुझिसकेकी पनि थिइनँ। अहिले जस्तो भएको भए मैले पनि केटा छान्थें हुँला। त्यो समयमा लभ गर्ने चलन पनि थिएन। विवाह भइसकेपछि श्रीमान्सँग बोल्नको लागि पनि महिनौं कुर्नुपथ्र्याे।

काठमाडौं आएर म सात कक्षामा पढेँ। त्यतिबेला ६ देखि १० कक्षालाई हाइस्कुल भन्थे। हाइस्कुल डिल्लीबजारको कन्या स्कुलमा पढेँ। त्यहाँ बिहान १० बजेदेखि ४ बजेसम्म पढाइ हुन्थ्यो। त्यहाँ मेरा केटी साथीहरू भने थुप्रै थिए। काठमाडौंमा भने छोरीहरू पढ्ने चलन विकसित भइसकेको रहेछ। त्यहीँ पढेर म एसएलसी दिएँ। एसएलसी दिने समयमा नयाँ शिक्षा लागू भयो। म फेल भएँ। अनि मैले पढिनँ। एसएलसी फेल भएपछि पनि त्यो समयमा सजिलै जागिर पाइन्थ्यो। नर्सिङ क्याम्पसमा मैले जागिर खाएँ।

मलाई कलाकारिता, फिल्म भन्ने के हो केही थाहा थिएन। काठमाडौं आएर मेरो एउटा साथीले फिल्म हलमा फिल्म हेर्न लगिन्। त्यो बेला हलमा हिन्दी फिल्म लाग्थ्यो। मैले चार/पाँच वटा फिल्म हेरेँ। तर सुरुमा फिल्म बुझ्न सकिनँ। फिल्ममा विवाह गर्छन्। फिल्ममा मान्छे मर्छन्। तर, मलाई के गरेको होला भन्ने लाग्थ्यो। पछि उनैले मलाई फिल्म बुझाइन्। फिल्म बुझेपछि रमाइलो लाग्न थाल्यो। आफंै फिल्म हेर्न लागें। अनि कलाकार भनेको यस्तो हुने रहेछ भन्ने बुझेँ। त्यसपछि मात्र कलाकार बन्ने रुचि जाग्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.