आयो प्रज्ञा नेपाली बाल गजल

आयो प्रज्ञा नेपाली बाल गजल

नेपाल प्रज्ञा प्रतिष्ठानले बालबालिकाका लागि थुप्रै विधाका किताब प्रकाशन गरिरहेको छ। यसै क्रममा ‘प्रज्ञा नेपाली बाल गजल’ प्रकाशन गरेको हो। यसअघि ‘प्रज्ञा नेपाली बालकथा’ बजारमा ल्याएको थियो।

यस गजल संग्रहमा एक सय सात जनाको बाल गजल समेटिएको छ। सम्पादकद्वय प्रभाती किरण र रूपक अलंकारले बाल गजलको क्षेत्रमा खासै काम हुन नकसेको भन्दै प्रज्ञा प्रतिष्ठानको इतिहासमा यस्तो काम पहिलो भएको सम्पादकीयमा लेखेका छन्। प्रतिष्ठानले बालबालिकाका लागि प्रौढ सर्जकले नेपालीमा लेखेका सयभन्दा बढी बालकथाको अंग्रेजी अनुवाद पनि संग्रहको रूपमा ल्याउँदैछ।

बालमैत्री पात्र, विषय, परिवेश, सन्दर्भ, घटना, उद्देश्य, भाषाशैली र प्रस्तुति प्रयोग गरिएकाले यो संग्रहले बालबालिकालाई नेपाली समाज र जनजीवनबारे थुप्रै ज्ञान दिनेछ। साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा प्रकाशित किताबमा प्रमुख डा. देवी नेपालले बालगजलमा प्रकृति, वनस्पति, जीवजन्तु आदि समेटेर लेखिएको बताएका छन्। किताब बालबालिकासँगै गजलमा रुचि राख्ने सबैलाई उपयोगी हुने देखिन्छ।

गजलअघि ‘नेपाली बाल गजलको सिद्धान्त, परम्परा र प्रवृत्ति’ विषयमा ३८ पृष्ठको लेख पनि राखिएको छ। यसमा बालसाहित्यको परिचयका साथै इतिहास समेटिएको छ। गजलको उत्पत्ति, अर्थ, परिभाषा, रचनाविधान, परम्परा र प्रवृत्ति, तत्त्वहरू सबै राखिएकाले बालबालिकाले गजल पढ्दै लेख्नसमेत सक्ने वातावरण किताबमा सिर्जना गरिएको छ। भाव, शैली, लय र पंक्तिपुञ्जजस्ता गजलका तत्त्व र पंक्तिपुञ्जमा हुनुपर्ने मिसरा, सेर, काफिया, रदिफ, मतला, मकता र तखल्लुसबारे पनि यथार्थ जानकारी दिइएको छ।

नेपालमा बालसाहित्यसम्बन्धी किताब प्रकाशन हुन थालेको एक सय २६ वर्ष पुगेको छ। बालसाहित्यमा कथा, नाटक, कविता, उपन्यास, एकांकी, जीवनी, निबन्धजस्ता थुप्रै विधामा हजारौं किताब भए पनि गजलमा कमै किताब छन्। बालपत्रिकाले पनि गजललाई खासै महत्त्व दिएको पाइँदैन। थोरै शब्दमा मीठो प्रस्तुतिमा धेरै खुराक दिने गजललाई बालबालिकाको पक्षमा यो कृतिले होस्टेमा हैंसे गर्न सघाएको छ। बाल गजलको इतिहास छोटो छ। प्रौढ सर्जकले मात्र नभई यो कृतिपछि बालबालिकाले पनि बाल गजल लेख्ने हो भने इतिहासलाई लम्ब्याउन सकिने देखिएको छ। तर यो रहरको मात्र विषय नबनाई साधनाको विषय बनाउने हो भने बाल गजलको भविष्य उज्ज्वल देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.