शिक्षक भर्नाको परीक्षामा प्रश्नपत्र आउट गरेको भन्दै व्यवस्थापन समितिका अध्यक्षसहित तीन पक्राउ
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
शाहीले राहत दरबन्दी निमावि तह सामाजिक विषय शिक्षकको छनोट परीक्षा संचालन हुनुअघि नै परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाइ शिक्षक छनोट गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो ।
अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भइ छनोट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर बिकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाइ अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।