क्रुजसिपमा उपराष्ट्रपति
चितवन : उपराष्ट्रपति नन्दबहादुर पुनले चितवनमा निमार्ण गरिएको क्रुजसिप चढेका छन् । शुक्रबार चितवन आएका पुनले क्रुजसिप चढेर अवलोकन गरेका हुन् ।
भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा नारायणी नदीमा उपराष्ट्रपति पुन करिब आधा घण्टा क्रुजसिप चढेर रमाएका हुन् । उनको साथमा पत्नी हस्तमाली पुनसमेत सहभागी थिइन् ।
यसलाई नेपालमा पानीजहाजको रुपमा चर्चा गरिएको छ । उपराष्ट्रपति पुन नारायणगढमा संचालन गर्न लागिएको एक महिने कोटीहोम महायज्ञ उद्घाटनको लागि चितवन आएका हुन् ।
क्रुज चढेपछि उनले पर्यटन प्रवद्र्धनको नयाँ आयाम भएको बताए । उनले भने, ‘क्रुजसिप राम्रो बनेको छ , बाँकी काम पुरा भएपछि भनौला ।’
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले क्रुजसिप निर्माण गरेको हो । प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले प्रविधिबारे जानकारी गराए । नेपालमा पहिलो पटक निमार्ण गरिएको उक्त क्रुजसिपको प्राविधिक काम सकिएको कँडेलले बताए । क्रुजसिप संचालनमा आउन अझै दुई महिना लाग्ने उनको भनाइ छ ।