कुष्ठरोगको बेलैमा उपचार गरौं

कुष्ठरोगको बेलैमा उपचार गरौं

भाइबहिनीहरू, शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा परेको त छैन ? यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिएका छन् भने होसियार हुनुपर्छ है। यो चिन्ह कुष्ठरोगको पनि हुन सक्छ।

ठूला व्यक्तिलाई मात्र होइन कुष्ठरोग तिमीहरूभन्दा कम उमेरका बालबालिकालाई पनि हुन सक्छ। वरिष्ठ छाला रोग विशेषज्ञ डा. महेश शाहले साढे दुई वर्षको बच्चादेखि ९५ वर्षको वृद्धसम्मका व्यक्तिलाई कुष्ठरोग लागेको थाहा पाएका छन्। डा. शाहले ती सबै बिरामीको उपचार गरेर निको पारेका छन्। जुनसुकै उमेरका व्यक्तिलाई कुष्ठरोग लाग्ने भएकोले तिमीहरू सजग हुनुपर्छ।

के हो, कुष्ठरोग ?

कुष्ठरोग पुरानो रोग हो। यसले छाला र स्नायु (नसा)मा प्रभाव पार्छ। यो रोग सरुवा रोग हो। तर, सबै कुष्ठरोग लागेका व्यक्तिबाट अरूलाई यो रोग सर्दैन। धेरै कीटाणु भएका र उपचार नगरेका कुष्ठरोगीबाट मात्र अरूलाई सर्न सक्छ। लक्षण देखिनेबित्तिकै सही उपचार गर्ने हो भने रोग निको हुने डा. शाहको भनाइ छ। समयमै उपचार नगर्ने हो भने यस रोगले अंगभंग गराउन सक्छ। कुष्ठरोगको चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ। बढी कीटाणु भएको र कम कीटाणु भएको गरी दुई भागमा कुष्ठरोगलाई बाँड्ने गरिन्छ।

लक्षण

·   छालामा फुस्रो वा हल्का रातो दाग देखा पर्ने

·   अनुहार र कानका लोतीमा गिर्खाहरू देखिने

·   छाला चम्किलो र बाक्लो हुने

·   आँखी भौं झरेर जाने

·   हातखुट्टाका औंलाहरू कमजोर हुने

·   हातखुट्टाहरू लगातार झमझम गर्ने

·   नसा सुन्निने र दुख्ने

·   हातखुट्टा छुँदा थाहा नहुने

·    मांसपेशी कमजोर हुने

·   हातखुट्टाको औंलाहरू बाँगो हुने

कसरी सर्छ ?

यो आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने सरुवा रोग हो। यो रोग प्राचीन कालदेखि नै लाग्ने गरेको थियो। सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जी ए ह्यानसनले कुष्ठरोग कीटाणुको कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए।

कुष्ठरोग भएको व्यक्तिले स्वास फेर्दा वा हाँच्छ्यू गर्दा कीटाणु रोगीको शरीरबाट बाहिर निस्किन्छन्। निरोगी व्यक्तिले स्वास लिँदा उसको शरीरमा प्रवेश गर्छन्। यस तरिकाबाट मात्र कुष्ठरोग एकबाट अर्कोमा सर्छ। श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ। साधारणतया यो रोग सरेको दुई वर्षदेखि पाँच वर्षभित्रमा कुष्ठरोगको चिह्न र लक्षण देखा पर्न सक्छन्। कुष्ठरोगको कीटाणुले शरीरको छाला र नसामा असर गर्ने डा. शाहको भनाइ छ। रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनेलाई कुष्ठरोग लाग्ने जोखिम हुन्छ।

नेपालमा १४ वर्षमुनिका तीन सय ३७ जना बालबालिकामा कुष्ठरोग भएको फेला परेको छ। झापा जिल्लाका जुम्ल्याहा बालकमा कुष्ठरोग फेला परेपछि उपचार भइरहेको छ। यस रोगबाट विशेषगरी अधबैंसे र वृद्धवृद्धाहरू बढी पीडित भएका छन्। सबै उमेरका व्यक्तिलाई लाग्ने भएकोले यो आर्थिक वर्षमा तीन हजार दुई सय ८२ जना नयाँ बिरामी पत्ता लागेका छन्। सातवटा प्रदेशमध्ये सबैभन्दा बढी बिरामी तीनवटा प्रदेशमा देखिएका छन्। प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरू धेरै भेटिएका छन्। मुलुकका ७७ जिल्लामध्ये १७ जिल्लामा कुष्ठरोग बढी फैलिएको छ।निको हुन्छ

कुष्ठरोगको बेलैमा उपचार गरे निको हुन्छ। नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्णरूपमा निको हुने डा. शाहको भनाइ छ। थोरै दाग भएको छ भने कम कीटाणु भएको कुष्ठरोग हो। धेरै दाग छ भने बढी कीटाणु भएको कुष्ठरोग हो। कम कीटाणु भएको कुष्ठरोगमा ६ महिना नियमित औषधि सेवन गरेपछि निको हुन्छ। बढी कीटाणु भएको अर्थात् दागहरू धेरै छ भने एक वर्षसम्म नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन सक्छ। कुष्ठरोगको औषधिहरू स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइन्छ। कुष्ठरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा पाइन्छ। बिरामीले घरमै बसेर औषधि सेवन गर्न सक्छन्।

कुष्ठरोगका बिरामीले नियमित उपचार पूरा गरेमा यातायात खर्चस्वरूप सरकारले एक हजार रुपैयाँ बिरामीलाई दिने व्यवस्था गरेको छ। समयमै उपचार गरे कुष्ठरोग निको हुन्छ। अंगभंग हुन पाउँदैन। कुष्ठरोगीको उपचार गर्दै आएका डा. प्रदीप सापकोटाका अनुसार, अंगभंग भएको अवस्थामा फिजियोथेरापी र सर्जरी गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.