कोरोना भाइरस : रसुवागढी नाकामा ‘हेल्थ डेस्क’ स्थापना
नुवाकोट : रसुवागढी नाकामा कोरोना भाइरस नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको छ। काठमाडौंदेखि १५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकाबाट नेपालतर्फ कोरोना भाइरसका रोगीलाई पहिचान गर्न हेल्थ डेस्कको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनकाअनुसार स्वास्थ्य कार्यालयका कर्मचारीसहितको टोलीले रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने आन्तरिक तथा बाह्य नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको हो। उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा फिर्ता गरिने जनाइएको छ।
रसुवागढी नाकामा टिमुरेतर्फ नेपाल र अर्कोतर्फ चीनले छुट्टाछुट्टै स्वास्थ्य परीक्षण गरिरहेका छन्। चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीँबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा रहेको हेल्थ डेस्कमा पठाउने कार्य चिनियाँ क्वारेन्टाइनले गरिरहेको छ। दुवै देशका अधिकारीले यसलाई गम्भीरतापुर्वक लिएर मानवीय स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चिनियाँ क्वारेन्टाइनबीच भएको छलफलमा चिनियाँ पक्षले कोरोनाको लक्षण देखिएको बिरामीलाई नेपालतर्फ नपठाउने जानकारी दिएको छ।
छिमेकी चीनमा पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रने जोखिम उच्च भएकाले नाकामा उच्च सतर्कता अपनाइएका स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए। रसुवागढी नाकामा यसअघि स्थापना गरिएको हेल्थ डेस्कलाई नै प्रभावकारी बनाएर सञ्चालनमा ल्याइएको हो।
जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमणबाट हालसम्म चीनमा हालसम्म ५६ जनाको मृत्यु भएको छ भने नेपालमा पनि एक जनामा संक्रमण देखिएको छ।