विद्युत् समस्याले शीतभण्डार प्रयोगविहीन
बेनी : विद्युत् आपूर्ति नियमित नहुँदा जलजला गाउँपालिका–१ बासखर्कको बजारमारेमा निर्माण भएको सुन्तला शीत भण्डार सञ्चालनमा आउन सकेको छैन। बेमौसममा बजारमा सुन्तला बिक्री गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको सहयोगमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाले ७८ लाख रुपैयाँको लगानीमा हालै शीत भण्डार निर्माण गरेको हो।
‘यही सिजनको सुन्तला भण्डारण गर्ने तयारी थियो तर विद्युत् समस्याले नसकिने जस्तो छ’, सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले भने, ‘नियमित विद्युत् आपूर्ति नहुँदा भण्डारण गरिएको सुन्तला बिग्रने भएकाले जोखिम मोल्न सकेका छैनौं।’ बाँसखर्कमा केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि नियमित विद्युत् आपूर्ति हुँदैन। बिग्रिएको लाइन मर्मत गर्न विद्युत् प्राधिकरणले हप्तौ लगाउने गरेको छ। ७८ लाख ७१ हजार लगानीमा निर्माण भएको शीतभण्डारमा १६ मेट्रिक्टन सुन्तला भण्डारण गर्न सकिने सहकारीका कोषाध्यक्ष रेवती खत्रीले बताइन्।
शीतभण्डार बनाउन कृषि ज्ञान केन्द्र पर्वतले ४८ लाख ६२ हजार, वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले एक लाख १५ हजार, सहकारीको ८ लाख ५९ हजार ३ सय ४०, सदस्यको पाँच लाख ३४ हजार ९ सय रुपैयाँ लगानी भएको छ।
हाल ८० प्रतिकेजी रुपैयाँमा बिक्री भइरहेको सुन्तला भण्डारण गरेर तीन महिनापछि १ सय २० रुपैयाँ प्रतिकिलोे बिक्री गर्न सकिने कृषक नरबहादुर खत्रीले बताए। शीतभण्डारमा नियन्त्रित तापक्रममा सुन्तला राख्न सकिन्छ। सिजनमा मूल्य र बजार नपाउने समस्या छ। बेसिजनमा सहज बजार र उचित मूल्य पाइने कृषकले बताएका छन्।
अगुवा कृषक ख्यामबहादुर खत्रीले बाँसखर्कमा १ सय ६० घरधुरीले ८४ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गरेका जानकारी दिए। यहाँ यो वर्ष दुई करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको छ।