हुलाकीले लुकाए २४ हजार चिठ्ठी
जापानः हुलाकीको काम भनेको चिठ्ठी सम्बन्धित व्यक्तिसम्म पुर्याउनु हो । हुलाकीले यसै कामबाट तलब पाउने गर्छ । तर टोक्यो नजीक कानागावास्थित एक ६१ वर्षीय हुलाकीले २४ हजार चिठ्ठी आफ्नो घरमा लुकाएको भेटिएको छ ।
जापानी प्रहरीका अनुसार, उनलाई चिठ्ठी बाड्न निकै अल्छी र झन्झट लागेको बताइएको छ । यसबाहेक उनी आफूभन्दा तन्नेरी साथीहरुको अगाडि कमजोर हुन नचाहेका र चिठ्ठी लुकाएको बताएका छन् ।
उनी कार्यरत योकोहामाको हुलाक कार्यलयले माफी माग्दै थुपारेका सम्पुर्ण पत्रहरु सम्बन्धित व्यक्तिसम्म पुर्याउने वाचा गरेका छन् । उनी उक्त शाखाका वितरण कार्यका प्रमुख थिए । आफ्नो गल्ती स्वीकारेपछि उनलाई कामबाट हटाइएको हो ।
सन् २००३ देखि उनले कामलाई झन्झट मानेर चिठ्ठी लुकाउन सुरु गरेको जनाइएको छ । सन् २०१७ फेब्रुअरीदेखि नोभेम्बर २०१९ सम्म चिठी पत्र हराएको विषयमा उनी विरुद्ध मुद्धा चलाइएको थियो ।
यस विषयमा उनी दोषी भएमा उनलाई तीन वर्ष जेल सजाय र ५ लाख येन जरिवाना हुनेछ। सन् २०१८ मा पनि ३३ वर्षीय इटालियन हुलाकी पक्राउ परेका थिए । उनले ४ सय केजी चिठ्ठी आफ्नो घरमा लुकाएका थिए ।