सडक र नदी मिचेर क्रसर
झापा : झापामा नदीकिनार, राजमार्ग र मुख्यमार्गको पुल छेउमै वर्षौंदेखि क्रसर सञ्चालनमा छन्। उद्योग ऐन निर्देशिकाले खोलाकिनार र राजमार्गबाट ५ सय मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने उल्लेख गरेको छ। क्रसर उद्योगलाई व्यवस्थित र वातावरणीय एवं मानवीय जोखिम कम गर्न सरकारले निर्देशिका बनाएको हो।
व्यवस्थित र मानवीय जोखिम कम गर्न बनाइएको निर्देशिका कुनै पनि उद्योगले पालना गरेका छैनन्। जिल्ला समन्वय समिति प्रमुख संयोजक रहेको अनुगमन समितिले पटक–पटक निर्देशन दिए पनि क्रसरले हाकाहाकी नियम उल्लंघन गरेको पाइएको छ।
समस्याबारे प्रस्ट जानकार समितिले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन। झापामा १२ क्रसर उद्योग दर्ता भएका छन्। सरकारले ०७२ देखि यस्ता उद्योगको नवीकरण र दर्ता प्रक्रिया रोक्का गरेको छ। तर, सरकारी प्रक्रियामा आएका उद्योग पनि दर्ता नभएसरहको सूचीमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छवि खतिवडाले बताए। दर्ता भएका १२ मध्ये ९ उद्योग सञ्चालित छन्।
त्यसबाहेक विकास निर्माणको नाममा निर्माण कम्पनीले आफूखुसी गिट्टी, बालुवा चाल्ने मेसिन भन्दै क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ। धेरै क्रसर बिरिङ नदी किनारमा छन् भने अन्य कन्काई नदी र मेची राजमार्गसँग जोडिएका छन्।
प्रायः सबै उद्योगले न्यूनतम मापदण्डसमेत पालना गरेका छैनन्। सरकारी नियकाले यसअघि मापदण्डविपरीत ठहर्याएका जयधराल रोडा उद्योग अर्जुनधारा–२, जयकाली भगवती रोडा उद्योग अर्जुनधारा–२ र पाथीभरा एग्रिकेट इन्डस्ट्रिज खुदुनाबारी–२ नियमित सञ्चालनमा छन्। कञ्चनजंघा क्रसर उद्योग अनारमुनी–१, कन्काई क्रसर उद्योग बुधबारे–४, राजधानी क्रसर इन्डस्ट्रिज धाइजन–६ र मंगल श्री क्रसर उद्योग अर्जुनधारा–२ पनि सञ्चालनमा छन्।
जनस्वास्थ्यमा प्रतिकूल प्रभाव
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित सडक किनारमा कञ्चनजंघा क्रसर उद्योग सञ्चालन भइरहेको छ। पहिले सानो क्षेत्रफलमा रहेको सो उद्योगले अहिले राजमार्ग दक्षिणतर्फ पनि विस्तार हुँदै गर्दा त्यसको प्रभाव बस्तीसम्म पुगेको छ। क्रसर सञ्चालन हुँदा निस्कने आवाजले बालबालिका र वृद्धवृद्धामा आँखा, कान र श्वासप्रश्वासको समस्या देखिएको र घरभन्दा अग्लो हुने गरी थुपारिने बालुवा, गिट्टी र धुलो उड्दा घर पूरै धुलाम्मे हुने गरेको स्थानीय ध्रुव ओलीले बताए।
हावा चलेको र उद्योग सञ्चालन भएको समयमा घरबाहिर बस्न नसकिने उनले बताए। भने, ‘आँखा चिलाउने समस्या धेरैलाई देखिएको छ।’ आफूहरूले पटक–पटक ध्यानाकर्षण गराए पनि नियमनकारी निकाय रमिते बनेको अर्का स्थानीय टीका खनालले बताए। ‘उद्योग सञ्चालक केदार गिरीलाई नै भेटेर ध्वनि र धुलो नियन्त्रण गर्न, खोलामा हिलो र धुलो नहाल्न आग्रह गर्यौँ तर उनले सुने÷नसुनेकै गरे, सम्बन्धित निकाय पनि मौन छ’, उनले भने।
आफूहरूको स्वास्थ्य र आसपासको वातावरणमा प्रत्यक्ष असर पुर्याएको भन्दै स्थानीय २ सय ७ घरपरिवारले बिर्तामोड नगरपालिका, सोही नगरको ६ नं वडा कार्यालय र जिल्ला समन्वय समितिमा निवेदन पेस गरेका छन्। तर, गुनासोको सुनुवाइ नभएको पीडित परिवार बताउँछन्।
व्यवसायी गिरी भने आफूले ठूलो लगानीमा क्रसर सञ्चालन गरेको र भन्नासाथ हट्न नमिल्ने बताउँछन्। उनले भने, ‘मेरो पनि लगानी डुबेको छ, स्थानीयको गुनासो सम्बोधन गर्न सय मिटर पर क्रसर सार्ने तयारी गरेको छु।’
कारबाही गर्ने अधिकार छैन
मापदण्डविपरीत सञ्चालित क्रसरले पुर्याएको असरको जनगुनासो बढ्दै गएपछि जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित समितिले गत वर्ष अनुगमन गरी प्रतिवेदन पनि बनायो। समस्याको प्रस्ट पहिचान भए पनि आफूलाई कारबाही गर्ने अधिकार नभएको उनी बताउँछन्। पोर्तेलका अनुसार झापामा दर्ताबिना सञ्चालित क्रसरको संख्या दर्जनभन्दा बढी छ।
पछिल्लो समय क्रसर उद्योग नवीकरण गर्ने र दर्ता गर्ने अधिकार प्रदेशको वन उद्योग तथा पर्यटन मन्त्रालयलाई छ। क्रसरलाई व्यवस्थित गर्न ठोस नीति नबनेसम्म स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न नसक्ने पोर्तेलेको तर्क छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना पनि मापदण्डविपरीत सञ्चालित क्रसरलाई कारबाही गर्ने अधिकार नदिएकाले समस्या बढेको स्विकार्छन्।