केरुङबाट फर्किएकी युवतीमा कोरोना भाइरसको आशंका
नुवाकोट : चीनको केरुङबाट रसुवागढी हुँदै नेपाल फर्किएकी एक युवतीमा कोराना भाइरसको लक्षण देखिएको छ। रसुवागढी हुँदै नेपाल फर्किएकी २४ वर्षीया युवतीमा कोराना भाइरस संक्रमणको आशंका भएपछि उनलाई निगरानीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइले जानकारी दिइन् ।
उपचारका लागि रसुवा जिल्ला अस्पताल धुन्चेमा पुगेकी ती युवतीमा कोरोना भाइरसको केहि लक्षण देखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनीलकुमार खरेलले बताए। उनलाई आइसुलेसन कक्षमा राखेर उपचार गरिएको थियो। स्वास्थ्यकर्मीको टोलीले केहि लक्षण मिलेपछि उनलाई निगरानी गरेर थप परीक्षणका लागि काठमाडौंस्थित टेकु पठाइएको खरेलले बताए।
रसुवा जिल्ला अस्पतालमा कोरोनाको आशंका गरिएका बिरामी आएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ । उनी केरुङबाट यहि माघ २ गते नेपाल आएकी थिइन् ।
छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधन युक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिइन् ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, रोगको लक्षण देखिएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको छ । रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत खरेल रहेको उपसमिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।