नेकपाका भावी चौध महिना

नेकपाका भावी चौध महिना

आन्तरिक लोकतन्त्रको प्रभावभन्दा बढी रहस्यवादी सिद्धान्तबाट अभिप्रेरित हुने हो भने सतहबाहिरको भन्दा बढी सतहमुनिको समीकरण कम उल्लेखनीय छैन


भर्खरै सम्पन्न सत्तारूढ नेकपाको केन्द्रीय कमिटीको पाँचदिने बैठकले त्यस पार्टीभित्रको आन्तरिक राजनीतिमा पारेको असर तत्कालै सतहमा देखिने खालको नहोला। तर बैठकले विवादास्पद मिलेनियम च्यालेन्ज परियोजनाका सम्बन्धमा सबैले प्रस्ट ढंगले बुझ्ने राष्ट्रिय सन्देश दिएको छ। यसअघि माथिल्लो कमिटीमा केही नेताहरूबीच मात्र सीमित यस विषयमा हस्तक्षेप गर्दै बैठकले पार्टीलाई आन्तरिक कलहको बाटोमा जानबाट रोकेको छ। पार्टीको उच्च नेतृत्वमा रहेको एउटा पक्ष एमसीसीलाई पूर्वाधार विकासको अनुदान मात्र किमार्थ होइन भन्दै छ। तर प्रधानमन्त्री र उहाँको सरकारका मन्त्रीहरूको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराइने सहयोगमा मात्र सीमित यो परियोजना अपरिहार्य छ भन्ने जोड छ। यस परिवेशमा उल्लिखित दुई धारभन्दा पृथक् ढंगको बाटो पहिल्याउने संकेत गर्दै बैठकको निर्णयले राष्ट्रको ध्यानाकर्षण गराएको छ।

यतिखेर एमसीसीको बहसका कारण अन्य विषय ओझेलमा परेका छन्। नेकपा केन्द्रीय कमिटी बैठकका केही उल्लेखनीय थप सन्देश पनि छन्। बैठकमा उठेका सवाल र छलफलका विषयवस्तुले प्रस्टतः बताएका छन्, पार्टीमा आन्तरिक लोकतन्त्रको अवस्था त्यति कमजोर छैन। पार्टीभित्रको लोकतान्त्रिक मूल्य र मान्यताको प्रभावकारिताबारेमा बोध गराउँदै बैठकले जनवाद र केन्द्रीयताबीचको सन्तुलनलाई पनि सादृश्य गर्‍यो। बैठकमा एमसीसीलाई छलफलको कार्यसूचीका रूपमा समावेश गरिएको थिएन। तर बैठकले त्यस विषयमा पनि हस्तक्षेप गरी पार्टीलाई बाटो देखायो।

करिब दुई वर्षअघि ०७५ जेठ ३ गते दुई पार्टी एक भएका थिए। तर त्यो एकता घोषणाभन्दा आठ महिनाअघि दुई पार्टीले एकताको प्रारम्भिक सहमति गरिसकेका थिए।

बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरणको बाटो देखाउने जननेता मदन भण्डारीको स्मृति दिवसका दिन तत्कालीन नेकपा (एमाले) र माओवादी एकता घोषणा गरिएको थियो। तर एकतापछिका दिनमा पनि पूर्वमाओवादीसँग जोडिएका विगतका मूलतः दुइटा पक्षले एउटा आशंका जन्माइरहेको थियो। पहिलो- सत्ता प्राप्तिका लागि १०-१० वर्षसम्म सशस्त्र गतिविधि सञ्चालन गर्ने पूर्वमाओवादी शान्तिपूर्ण जनआन्दोलनको बाटोबाट अघि बढ्ने पूर्वएमालेसँग कसरी हातेमालो गर्लान् भन्ने हेर्ने उत्सुकता थियो। दोस्रो- कुनै बेला पूर्वमाओवादीहरू नेपालको संसदीय व्यवस्थालाई खसी झुन्ड्याएर कुकुरको मासु बेच्ने थलोका रूपमा परिभाषित गर्ने गर्थे।

विगतका यी सन्दर्भ दुई फरक धारको प्रतिनिधित्व गर्ने पार्टीहरूबीच एकता कायम भएपछि पनि कुनै न कुनै रूपमा उठ्दै आएका थिए। तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा आउन महत्वपूर्ण ढंगले मद्दत गर्ने पूर्वसभामुख दमननाथ ढुंगाानाले समेत गत वर्ष ०७५ फागुन २ को सेरोफेरोमा नेकपालाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको थियो, ‘सवाल पार्टी एकता र सत्ताको हो। हिजो कडा भत्र्सना गरे पनि आज भन्नैपर्‍यो- एकै थियौं, जनयुद्धमा फागुन १ गते, महान् युद्ध दिवसको सम्मानमा, एमालेबाट पनि खटाउनै पर्ला।’

एमसीसीका सन्दर्भमा नेकपाभित्र देखिएका दुई विपरीत धार वार कि पारको मनस्थितिभन्दा फरक मध्यमार्गमा अघि बढ्न लागेको देखिन्छ। कुनै दुर्घटना भएन भने र मध्यमार्ग खुला भयो भने त्यो घटनाको प्रभाव नेकपाको आन्तरिक जीवनमा पनि अवश्य पर्नेछ।

उहाँको अभिव्यक्तिले एकतापछि लोकतान्त्रिक मूल्य र मान्यताबाट नेकपा विचलित पो हुन्छ कि भन्ने आशंका गरिँदै आएको थियो भन्ने दृष्टान्त प्रस्तुत गर्छ। तर भर्खरै सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले त्यस पार्टीको लोकतान्त्रिक प्रतिबद्धतामा शंका गर्नु औचित्यपूर्ण हुँदैन भन्ने प्रस्ट पारेको छ। बैठकले वस्तुतः नयाँ परिवेशमा दुई फरक धारबाट आएका केन्द्रीय पदाधिकारीलाई एकअर्काबाट सिक्ने अवसर पनि प्रदान गर्‍यो। पूर्वएमाले र पूर्वमाओवादीबीचको एकता कति मजबुत र गहिरो छ भन्ने भावी दिनमा अझ प्रस्ट हुने नै छ। तर साढे चार सय केन्द्रीय सदस्यहरूको यो बैठकले देशव्यापी रूपमा कार्यकर्तालाई उत्साहित तुल्याएको छ।

सुरुमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका उपलब्धिको लामो सूची प्रस्तुत गर्नुभयो। तर उहाँले पार्टीको विधानअनुसार गतिविधि समयमा हुन नसकेकोमा आत्मालोचना पनि गर्नुभयो। उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै गुनासा वा नेतृत्वको कमीकमजोरीका बारेमा सुन्ने तत्परता पनि प्रस्तुत गर्नुभयो। जसले गर्दा सहभागी केन्द्रीय सदस्यहरूले आन्तरिक लोकतन्त्रको प्रयोग गर्दै मन्त्री र सरकारको आलोचनादेखि नेताहरूसँग जोडिएका अनियमितता र अपारदर्शिताका विषयमा खुलेर कुरा राखे। माथिल्लो कमिटीका गलत प्रवृत्ति तलैसम्म सरेको कुरा पनि सहभागीले उठाए।

नेकपा केन्द्रीय कमिटी दोस्रो बैठकले जसरी छलफलको वातावरण बनायो, त्यसैगरी विवाद र बहसलाई सतहमा निष्कर्ष वा समाधानका उपाय पनि प्रस्तुत गर्‍यो। नेकपाले यही बैठकबाट अबको चौध महिनामा पार्टीको महाधिवेशन गर्ने योजना अघि सारेको छ। पार्टी संगठनलाई सशक्त बनाउने दिशामा महाधिवेशन तयारीले उत्साहको सञ्चार गर्ने छ। बैठकलगत्तै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावमा पारेर विरोधीलाई तह लगाउन खोजेको आरोपसहित प्रमुख प्रतिपक्षको प्रहारको सामना गर्नुपरेको छ। तर यो विषयले नेकपालाई खासै फरक पर्ने देखिन्छ।

केन्द्रीय कमिटी बैठकमा सहभागीहरूले सरकारका कामकारबाहीबारेमा निकै प्रश्न उठाए। उनीहरूले मन्त्रीहरूको कार्यसम्पादन र प्रवृत्तिबारेमा टिप्पणी गरे। नेकपाको त्यो आन्तरिक घटनाक्रमले आउँदा दिनमा पनि समग्र राष्ट्रलाई प्रभावित गर्ने विश्वास गरिएको छ। सत्तारूढ दलका केन्द्रीय सदस्यहरूले उठाएका सवालहरूलाई सरकारले आत्मसात गर्छ भन्नु स्वाभाविकै हो। नेकपाले सरकार चलाउने जिम्मेवारी पाएको यो अवसरमा त्यही पार्टीभित्रबाट जागरुकता दर्शाइनु सकारात्मक पक्ष पनि हो। यो सकारात्मक पहलको परिणाम आउँदा दिनहरूमा कस्तो देखिन्छ ? प्रतीक्षाको विषय बनेको छ।

आज नेकपा एमसीसीका सन्दर्भमा पार्टीभित्र देखिएका दुई विपरीत धार वार कि पारको मनस्थितिभन्दा फरक मध्यमार्गमा अघि बढ्न लागेको देखिन्छ। केही सुधार भएको देखिने गरी संसद्बाट केही निर्णय गराएपछि एमसीसीको मार्गप्रशस्त हुने अपेक्षा मध्यमार्गीहरूले गरेका छन्। कुनै दुर्घटना भएन भने र मध्यमार्ग खुला भयो भने त्यो घटनाको प्रभाव नेकपाको आन्तरिक जीवनमा पनि अवश्य पर्नेछ। केन्द्रीय कमिटीको बैठकको समापनसँगै पार्टी सचिवालयमा रहेका केही शक्तिशाली नेताहरूमा पार्टीको प्रमुख नेता अर्थात् प्रधानमन्त्री ओलीलाई आफ्ना कुरा बढी सुन्न र मान्न बाध्य पार्ने उत्साह बढेको अनुभूत गरिएको छ। सार्वजनिक भएका वरिष्ठ नेताहरूका अभिव्यक्तिबाट यस्तो अनुमान लगाउन गाह्रो छैन।

प्रधानमन्त्री ओलीले बैठकको उद्घाटन समारोहमा आफ्ना सहकर्मीहरूलाई सम्बोधन गर्दैै नेपाली कम्युनिस्ट आन्दोलनको बचाउ गर्न आह्वान गर्नुभएको थियो। उहाँले आफूबाट कमीकमजोरी भएको भए सुधार गर्न सकिने पनि बताउनुभएको थियो। यही आधारमा पनि उहाँका पार्टीभित्रका प्रतिद्वन्द्वीहरूले सरकारको अगामी बजेट र नीति तथा कार्यक्रममा आफ्नो सोच र योजनाको साझेदारी खोज्ने संकेत गरेका छन्। पार्टीभित्रबाट नेकपा सरकार, प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैलीमा कस्तो सुधारको अपेक्षा गरिएको हो, त्यो कुरा पनि आउँदा दिनहरूले बताउने छन्।

एकथरीको ठोकुवा छ- नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई उहाँको मौलिक शैली रोक लगाउन वा संयम गर्न बाध्य पारेको छ। त्यस्तो दाबी गर्नेहरू यही समयको हाराहारीमा बदलिँदै गएको पार्टीभित्रको समीकरण महाधिवेशन लक्ष्यित हुँदै जाने अनुमान गर्छन्। आन्तरिक लोकतन्त्रको प्रभावभन्दा बढी रहस्यवादी सिद्धान्तबाट अभिप्रेरित हुने हो भने सतहबाहिर देखिएको नयाँ ऊर्जाको वातावरणभन्दा बढी सतहमुनिको समीकरण कम उल्लेखनीय छैन।

सचिवालयबाहेक अन्य तह खासै सक्रिय रहेको नदेखिने र सरकारबारेमा सरकारबाहिरका पार्टी नेताहरूले केवल नकारात्मक टिप्पणी गर्ने प्रचलन स्थापित भएको परिप्रेक्ष्यमा यो बैठक भएको थियो। त्यसैले प्रधानमन्त्री तथा अध्यक्ष ओली कामको फेहरिस्त नै लिएर सभागृह पुग्नुभएको थियो। सतहमा हेर्दा उहाँले आफ्ना कमरेडहरूलाई आउने समयको काम, गति र उपलब्धि हेर्न सहमत गराउनुभएकै देखिन्छ। दुई पार्टीको एकता भएपछिका दिनमा पार्टी संगठन अस्तव्यस्त हुन पुगेको अवस्थामा विस्तारमा आफ्ना धारणा, नेतृत्व र सरकारप्रतिको आलोचना प्रस्तुत गर्न पाएकोमा नेकपा केन्द्रीय सदस्यहरू उत्साहित देखिएका छन्। सरकारमा रहेका आफ्नै साथीहरूलाई पलायनको बाटो समाउने युगोस्लाभियाका पूर्वकम्युनिस्ट नेता मिलोभान जिल्लासले आफ्नो बहुचर्चित कृति न्यु क्लासमा चित्रण गरेजस्तै वर्गमा पुगे भन्नेहरू पनि यतिखेर शान्त देखिएका छन्।

केन्द्रीय समिति बैठकका अवसरमा ओली सरकारको दुई वर्षका बारेमा नेकपाले गरेको समीक्षाबाट उत्पन्न तरंग पार्टीभित्रभन्दा बाहिर तत्कालै देखिएको छ। अबका दिनमा यो क्रम बाहिर सुषुप्त हुन सक्छ। तर महाधिवेशनका लागि तोकिएको मिति अर्थात् अबको एक वर्षमा पार्टीभित्रको प्रतिद्वन्द्विताको रफ्तार अझ बढ्ने प्रस्टै देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.