ओस्कारमा वर्गयुद्ध

ओस्कारमा वर्गयुद्ध

‘प्यारासाइट’ले ओस्कार जित्नुको अर्थ हो– पुँजीवादमाथिको विश्वास डगमगाउँदै छ। धनी र गरिबलाई एउटा ठूलो खाडलले विभाजित गरेको संसारलाई यस फिल्मले चित्रण गर्छ, जहाँ धनीहरू शानले जीवन बिताउँछन्। गरिबहरूको अस्तित्व त हुन्छ तर त्यसको गणना भने हुँदैन। 


मिसेल गोल्डबर्ग 

आइतबार रातिसम्म दक्षिण कोरियाली निर्देशक बङ जुन होको ‘प्यारासाइट’ अब्बल फिल्म मात्र थियो। तर, ओस्कारमा उत्कृष्ट फिल्मको उपाधि जित्ने पहिलो विदेशी भाषाको फिल्म बनेपछि यो एकाएक इतिहास रचयितामा गनिएको छ। यो फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा पनि सफलता हात पार्‍यो। 

हरर–कमेडीका रूपमा विधा निर्धारण गर्न मिल्ने यो फिल्म आर्थिक असमानतामाथिको अद्भुत दृष्टान्त हो। यसअघि नै यसले उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ गोल्डेन ग्लोब पनि जितिसकेको छ। त्यस्तै, पटकथातर्फ राइटर्स गिल्ड र स्क्रिन एक्टर्स गिल्डमा बेस्ट एन्सेम्बल पुरस्कार पनि जितिसकेको छ। 

अमेरिकामा कुनै पनि विदेशी फिल्मले यति धेरै सम्मान कहिल्यै पाएको थिएन। फिल्म निर्माणको उत्कृष्टतालाई एकातिर राखेर हेर्ने हो भने यसले एउटा स्पष्ट सामाजिक दृष्टिकोण प्रकट गर्छ, जुन हलिउडबाट उत्पादित फिल्महरूभन्दा बिलकुलै फरक छ। यस्तो दृष्टिकोण बोकेको फिल्मलाई अमेरिकामा किन यति धेरै मन पराइयो ? पछिल्लो समय अमेरिकी राष्ट्रपतिको डेमोक्रेटिक उम्मेदवार बन्ने दौडमा बर्नी स्यान्डर्सलाई जे कुराले अग्रभागमा राखिरहेको छ, त्यसैले यो फिल्मलाई पनि लोकप्रिय बनाइरहेको छ। त्यो चिज हो, पुँजीवादमाथि विश्वासको संकट। 

धनी र गरिबलाई एउटा ठूलो खाडलले विभाजित गरेको संसारलाई ‘प्यारासाइट’ले चित्रित गर्छ। जहाँ धनीहरू शानले जीवन बिताउँछन्। गरिबहरूको अस्तित्व त हुन्छ तर त्यसको गणना भने हुँदैन। फिल्ममा जति–जति कथा विकसित हुँदै जान्छ, गरिबहरूको जीवन उति–उति भयंकर बन्दै जान्छ। उनीहरू भूमिगत जीवन बिताउन बाध्य हुँदै जान्छन्।  

थुप्रै अमेरिकी ‘वर्ग भनेको व्यक्तिको बानीबेहोराको उत्पादन हो’ भन्ने ठान्छन्। उनीहरूलाई लाग्छ, धनीहरूको आनीबानी सिक्नुभयो भने तपाईं पनि चाँडै संसारका अरूलाई पछाडि छाडेर सम्पन्न बन्न सक्नुहुन्छ। हालै खूब मन पराइएको फिल्म ‘नाइभ्स आउट’ लाई नै हेरौँ। अगाथा क्रिस्टीकै शैलीका ‘अपराध कसले गर्‍यो ?’ मा आधारित कृतिभन्दा अलिकति मात्रै यो फरक छ। यो फिल्मका नायिका छ एक नर्स, जसकी आमाको कुनै कागजात छैन। अन्ततः उसको जीत हुन पुग्छ। किन थाहा छ ? किनभने, उसले आफूविरुद्ध षड्यन्त्र गर्ने धनी परिवारको चाल समयमै बुझ्छे र तिनलाई असफल तुल्याइदिन्छे। गत वर्ष चर्चा कमाएको अर्को फिल्म थियो, ‘हसलर्स’। वर्गीय असमानतामाथि बनेको यो क्राइम थ्रिलर क्लबमा नग्न नृत्य गरेर गुजारा गर्ने युवतीहरूको कथा हो। फिल्मको अन्त्यमा धनी पुरुषहरूको सम्पत्ति खोसखास गरेर उनीहरू मध्यम वर्गमा उक्लिन सफल भएको देखाइएको छ। 

तर, हलिउडभन्दा ठीक विपरीत बङको संसारमा गरिबका लागि माथि उक्लिने कुनै सिँढी छैन। ‘प्यारासाइट’ उनको सबैभन्दा माक्र्सवादी देखिने फिल्म होइन। त्यो त उनको सन् २०१३ मा बनेको डिस्टोपियन थ्रिलर ‘स्नोपियर्सर’ फिल्म हो। सो फिल्ममा विश्वव्यापी तापमान वृद्धिलाई रोक्ने प्रयास असफल बन्न जान्छ र सारा पृथ्वी जम्न पुग्छ। पृथ्वीमा बचेका मानिस एउटा रेलमा चढेका हुन्छन्, जो निरन्तर दौडिरहेको हुन्छ। त्यो रेलमा पनि गरिब पछाडिको भागमा बसेका हुन्छन्, जहाँ उनीहरू मान्छेकै मासु खाएर बाँच्न विवश हुन्छन्। गरिबका बच्चाले अगाडि बसेका धनीलाई न्यानो पुर्‍याउन इन्धन भरिरहेका हुन्छन्। रेलको यो पूरै व्यवस्था ध्वंस गरेर बाहिर निस्केपछि मात्रै गरिबले मुक्ति पाउँछन्।

प्यारासाइटको राजनीति भने सूक्ष्म छ। यसले एउटा गरिब परिवारको कथा भन्छ। किम परिवार अत्यन्त गरिब छ, त्यसैले जीविका चलाउन चलाखीपूर्वक यो परिवार सम्पन्न पार्क परिवारमा निर्भर बन्न पुग्छ। सबैभन्दा पहिले किम परिवारको छोरा की वुले विश्वविद्यालयको नक्कली प्रमाणपत्र तयार गर्छ र पार्क परिवारकी छोरीको ट्युटर बन्छ। उसले झुक्याएर आफ्नी बहिनीलाई पार्क परिवारको छोराका लागि थेरापिस्ट बन्न लगाउँछ। यी दुवैले मिलेर पार्क परिवारको ड्राइभरलाई हटाएर आफ्ना बुबालाई काममा लगाउँछन्। अनि, सबै मिलेर पार्क परिवारको भान्सेनीको ठाउँ किम परिवारकी आमालाई लिन लगाउँछन्। 

किम परिवारका कुनै पनि सदस्यले आफूहरू एकअर्कासँग सम्बन्धित भएको रहस्य पार्क परिवारलाई थाहा दिँदैनन्। न त उनीहरूलाई आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न नै कुनै मुस्किल हुन्छ। पार्क परिवारमा प्रवेश गर्नुअघि उनीहरू चरम गरिबी र अभावमा थिए। तर, अक्षमता र अयोग्यताका कारण उनीहरू कठिन जीवन बाँच्न बाध्य भएका थिएनन्। न त पार्क परिवारका लागि काम गर्न थालिसकेपछि नै उनीहरूको जीवनस्तरमा कुनै ठूलो परिवर्तन आउँछ। उनीहरू सधैँ उही फोहोर, सडकभन्दा तल ओर्लेर झर्नुपर्ने भूमिगत कोठामा बस्न बाध्य रहे। 

त्यही कोठाको गन्ध किम परिवारका मूली की तायकको कपडा र शरीरमा बसेको हुन्छ। जसलाई पार्क परिवारका सदस्यले सुँघेर थाहा पाउँछन्। आर्थिक सोपानको सबैभन्दा पुछारमा किमको स्थान भौतिक यथार्थ हो। त्यसको सम्बन्ध उसको योग्यता वा सीपसँग छैन। त्यो स्थान सधैँ उसमा टाँसिइरहन्छ। 

पटक–पटक ‘प्यारासाइट’ले वर्गलाई फलामे पिँजडा हो भनेर पुष्टि गरिरहन्छ। जब अघिल्लो भान्सेनीका पति पार्कको घरको भूमिगत बेसमेन्टमा चार वर्षदेखि लुकिरहेको छ भन्ने खुलासा हुन्छ, कमेडीजस्तो लाग्ने यो फिल्मको कथा एकाएक विकृत बन्न पुग्छ। ती व्यक्ति साहूको ऋण तिर्न नसकेर तिनीहरूबाट भागेर ज्यान बचाउन भूमिगत बाँचिरहेको हुन्छ। त्यो दम्पतीले किमहरूको ठगीबारे मेसो पाउँछ। त्यसपछि सुरु हुन्छ, पार्क परिवारको जुठो–पुरो कसले हात पार्ने भन्ने द्वन्द्व। 

हिंसा, हत्या, बेइज्जती र अनेकौँ कष्टपछि फिल्मको अन्त्यमा किम परिवारको छोराले एउटा ‘आधारभूत योजना’ बनाउँछ। उसको योजना छ, धनी हुने र आफ्नो बुबालाई बचाउने। फिल्ममा केही बेर एउटा धुमिल दृश्य देखिन्छ, जसमा लाग्छ, किमहरू सम्पन्न बन्न सक्छन्। दर्शकलाई लाग्छ, ‘प्यारासाइट’ पनि हलिउड फिल्मजस्तै अन्त्य हुने त होइन ? तर, अन्तिम दृश्यमा पुगेर स्पष्ट हुन्छ, त्यो एउटा कल्पना मात्रै थियो। वास्तविकतामा किम परिवारले जहाँबाट यो यात्रा सुरु गरेको थियो, अन्त्यमा पनि उनीहरू त्यहीँको त्यहीँ छन्।

‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभेलपमेन्ट’का अनुसार अमेरिकाको सामाजिक गतिशीलता दक्षिण कोरियाको भन्दा खासै धेरै छैन। यद्यपि, दिमाग र तर्कशीलताले समाजका ठूला भौतिक शक्तिलाई ढाल्न सक्दैन भन्ने अमेरिकी ‘पपुलर कल्चर’ले देखाउन सकेको छैन। यसमा केही अपवाद अवश्य छन्। सन् २०१८ मा बुट्स राइलीले बनाएको सररियलिस्ट इन्डी फिल्म ‘सरी टू बोदर यू’ जस्ता केहीले यो स्पष्ट पारेका छन्। कम्तीमा के चाहिँ भन्न सकिन्छ भने हलिउडले सचेत रूपमा यो यथार्थलाई प्रकट गर्न सकेको छैन।  

उसो त ‘प्यारासाइट’ले ओस्कारमा हात पारेको सफलता आफैँमा असमानतामाथिको एउटा व्यंग्य बन्न सक्छ। किनभने, ओस्कारमा मनोनीतले २ लाख २५ हजार डलर बराबरको उपहार पाउने गर्छन्। जसमा सुनको जलप लगाइएको भेप पेनसमेत हुने गर्छ। 

अमेरिकामा आफूसँग भएका स्रोत–साधनलाई नै प्रयोग गरेर कसैको सहयोगबिनै भाग्य बदल्न सफल हुनुलाई ‘बुटस्ट्रापिङ’ भन्ने गरिन्छ। यो अवधारणालाई हालै अमेरिकी सांसद् अलेक्जेन्ड्रिया ओकाजिया कोर्टेजले ‘एउटा मजाक’ भनेर आलोचना गरिन्। तत्कालै दक्षिणपन्थीहरूले उनको खिल्ली उडाउने प्रयास गरे। यद्यपि, सायद ‘प्यारासाइट’ले यो यथार्थ मानिसहरूलाई सही ढंगले देखाएको हुनुपर्छ। किनभने, असंख्य मानिसका लागि असमानताले पुँजीवादलाई एउटा मजाक मात्रै होइन, ऐँठनमा परिवर्तन गरिदिएको छ। 

(‘न्युयोर्क टाइम्स’बाट। अन्नपूर्ण सम्पूर्ण (https://sampurnaweekly.com/news/2953)का लागि कवि आचार्यको अनुवाद)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.