कुम्मायक गाउँपालिका अध्यक्षविरुद्ध एकपछि अर्को मुद्दा

फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ एकपछि अर्को घटनामा मुछिएका छन्। एक महिलालाई घरनिकाला गरेको मुद्दाको किनारा नलाग्दै भ्रूणहत्या आरोपमा पीडित पक्षले अध्यक्ष चेम्जोङविरुद्ध उजुरी दिएको छ।
‘अध्यक्षको दबाबमा भू्रणहत्या’ शीर्षकमा अन्नपूर्णमा समाचार प्रकाशन भएपछि अध्यक्षसहित सात जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको हो। चेम्जोङले नै गत जेठ १७ गते कुम्मायक गाउँपालिका–४ यासोक बजारकी विष्णुमाया सम्बाहाङफेलाई घरनिकाला गरेका थिए। भदैनी पर्ने गीतामाया सम्बाहाङफेसँगको आर्थिक लेनदेन विवादलाई लिएर उनले विष्णुमायालाई घरबाट निकालेका हुन्।
‘भदैनीसँगको आर्थिक लेनदेन मिलाइदिन गाउँपालिकालाई आग्रह गरेकी थिएँ’, विष्णुमाया भन्छिन्, ‘हाम्रो विवाद मिलाइदिनुको साटो गाउँपालिका अध्यक्षले उल्टै मलाई घरनिकाला गरिदिए। अन्यायमा परेपछि अदालतमा मुद्दा हालेको छु।’
चेम्जोङकै नेतृत्वमा घरका सामान सडकमा मिल्काइएको विष्णुमाया बताउँछिन्। ती सामान अझै सडकमा असरल्ल छरिएका छन्। विष्णुमाया १३ वर्षीय छोरासँग जिल्ला सदरमुकाम फिदिममा डेरा लिएर बसेकी छन्। ‘अध्यक्ष नै लागेर दमन गरेपछि उता बस्ने स्थिति भएन’, उनी भन्छिन्, ‘म न्याय खोज्दै जिल्ला सदरमुकाम आएर बसेकी छु।’ उनले अध्यक्ष र न्यायिक समितिका पदाधिकारीसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।
यस्तै, चेम्जोङविरुद्ध माघ २२ गते भू्रणहत्या आरोपमा प्रहरीमा किटानी जाहेरी परेको छ। यासोक बजारकै १९ वर्षीया किशोरीलाई २१ साताको गर्भ फाल्न बाध्य पारेको आरोपमा सात जनाविरुद्ध उजुरी परेको हो। कुम्मायक–५ स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय विवाह गरेकी दलित किशोरीलाई गर्भपतन गराउन चेम्जोङले दबाब दिएको पीडित पक्षको भनाइ छ। ‘रमेशसँगको हाम्रो नाता प्रगाढ थियो’, पीडित किशोरी भन्छिन्, ‘अध्यक्ष र रमेशको परिवारले जबरजस्ती गर्भपतन गराएपछि उजुरी दिनुपरेको हो।’
चेम्जोङसहित चार जना फरार छन्। प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। अध्यक्षको खोजी भइरहेको प्रहरीले जनाएको छ। ‘कानुनबमोजिम काम गर्न प्रहरीले कुनै कसर बाँकी राख्दैन’, पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘फरार रहेका सबैलाई खोजी गर्ने काम भइरहेको छ।’
जनप्रतिनिधि एकपछि अर्को विवादमा मुछिँदा जिल्लाका बुद्धिजीवी चिन्तित बनेका छन्। अधिकारको दुरुपयोग गर्नु समाजका लागि घातक भएको उनीहरूको तर्क छ। जनप्रतिनिधिमा अधिकारको क्षेत्रमै अलमल भएकाले समस्या आएको मानवअधिकारकर्मी प्रेम ओझा बताउँछन्। ‘जनप्रतिनिधिले आफ्नो अधिकारलाई आफ्नै ढंगले बुझ्दा समस्या भएको हो’, उनी भन्छन्, ‘अधिकारको व्यापक दुरुपयोग भएको देखिन्छ।’
उपाध्यक्षलाई कार्यवाहक
भू्रणहत्या आरोपमा आफूविरुद्ध उजुरी परेपछि चेम्जोङले उपाध्यक्ष सीता आचार्यलाई कार्यवाहकको जिम्मेवारी तोकेको पाइएको छ। उजुरी दर्ता भएका बेला काठमाडौंमा रहेकी आचार्यलाई कार्यभार सुम्पेको निर्णय गराएर चेम्जोङ फरार भएका हुन्। ‘माघ २३ गतेदेखिको जिम्मेवारी मलाई दिइएको रहेछ’, उनले भनिन्, ‘त्यस बखत म काठमाडौंमा थिएँ, आएर हेर्दा मलाई कार्यवाहक सुम्पिएको रहेछ।’ चेम्जोङले घरायसी कामका लागि बाहिर रहेको उल्लेख गरेका छन्।
फिदिमस्थित समर्पित अस्पतालमा माघ २६ गते राति किशोरीको इच्छाविपरीत गर्भपतन गरिएको थियो। अस्पताल परिसरमा रहेको आलुबारीमा पुरिएको अवस्थामा प्रहरीले भू्रण फेला पारेको थियो। ‘आवश्यक प्रक्रिया पूरा गरेर भू्रण नष्ट गरिएको छ’, न्यौपानेले भने।
प्रतिक्रिया दिनुहोस !
