काठ कारोबारमा मालिक र चालक पक्राउ
नुवाकोट : अवैध रूपमा ल्याइएको एक गाडी काठसहित नुवाकोटमा गाडी मालिक र त्यसका चालक पक्राउ परेका छन्। विदुरस्थित डिभिजन वन कार्यालय नुवाकोटले अवैध रूपमा लैजान लागेको एक गाडी काठसहित मालिक र चालकलाई नियन्त्रणमा लिएको हो।
विदुर नगरपालिका–१३ कल्याणपुरको आमथाङबाट विदुर–८ राईसिंहतर्फ अवैध रूपमा ल्याउँदै गरेको ४६ थान गोलिया काठ बोकेको बा५ख १५६७ को मिनीट्रकसहित चालक र गाडीधनीलाई प्रहरीको सहयोगमा वन कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेका ट्रक मालिक विदुर–१२ गौरीवेशीका २५ वर्षीय अमृत थापा र चालक सोही स्थानका २३ वर्षीय शुक्रमान तामाङ रहेको डिभिजन वन कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमंगल प्रसादले जानकारी दिए। डिभिजन वन कार्यालय नुवाकोटले गाडीसहित बरामद भएका ४१ थन गोलिया सालको काठ र पाँच गोलिया चिलाउनेको काठको परिमाण निकाल्न बाँकी रहेको जनाएको छ।
बरामद काठ १ सय थान क्यूफिट रहेको अनुमान गरिएको र ल्याउन बाँकी काठको समेत खोजी भइरहेकाले परिमाण यकिन भन्न नसकिने कार्यालयले जनाएको छ। काठको व्यावसायिक कटान, संकलन, ओसारपसारका लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लंघन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ। कटान भएर ल्याउन बाँकी काठ र संलग्नको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको छ।
राईसिङबाट विदुरतर्फ गाडीमा अवैध रूपमा सालको काठ ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिई जाँच गर्ने क्रममा अवैध काठसहितको गाडीमा मालिक र चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएकोमा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।