उद्धारपछिको सावधानी
छिमेकी मुलुक चीनको हुपै प्रान्तको वुहान सहरबाट आफ्ना नागरिकको उद्धार गरेर सरकार नागरिकप्रति उत्तरदायी रहेको अनुभूति गराएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मुहानमा त्रासको जीवनमा रहेका नेपालीलाई संक्रमणपूर्व नै उद्धार गरी सरकारले अभिभावकत्व निर्वाह गरेको हो।
सर्वपक्षीय दबाब र पीडितहरूको लगातार बिन्तीभाउपछि सरकारले यसमा चासो देखाएको हो। दुई साता ढिलो गरेर भए पनि आफ्नो उपस्थिति देखाएर सरकार लागिपरेको प्रभाव देखाएको छ। जीवनरक्षाको माग गर्दै मनोवैज्ञानिक सन्त्रासमा रहेका नागरिकलाई उद्धार गरेकाले नेताका घर, सञ्चारमाध्यम र मानवअधिकार धाएका अभिभावक अहिले ढुक्क छन्।
राष्ट्रिय ध्वजावाहक विमानमार्फत नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो। तीन साताको लगातार दबाबपछि सरकारले तत्परता देखाएको हो। आन्तरिक व्यवस्थापनमा भएको ढिलाइले बहुमतीय सरकारको साख र अस्तित्वमै प्रश्न उठेको थियो। सरकारको संवेदनहीनताप्रति रोष व्यक्त भएका थिए। सरकारले देखावटी र आश्वासन मात्र दिएको महसुस अभिभावकले गरेका बेला भ्रम निवारण गर्दै सरकारले आफ्नो नागरिकलाई सरकारको अनुभूति गराएको हो। भ्रमणमा गएका र कामदारसमेत स्वदेश फर्काएर सरकारले अपनत्वको व्यवहार देखाएको छ।
कोरोना भाइरसको उद्गमस्थल हुपैको वुहानसहित ६ वटा सहरमा रहेका एक सय ७५ नेपालीलाई आइतबार बिहान काठमाडौं ल्याइपुर्याइएको हो। यसअघि स्वदेश फर्कनका लागि चीनस्थित नेपाली दूतावासमा एक सय ८५ जना नेपालीले निवेदन दिएका थिए। तर निवेदन दिएकामध्ये चारजनामा सामान्य ज्वरो देखिएपछि स्वदेश फर्कनबाट रोकिएका छन्। वुहानबाट फर्कन लागेका चारमध्ये एकजनामा ज्वरो देखिएपछि उनकी पत्नी र बच्चा पनि रोकिए। अन्य चारजनाले स्वदेश फर्कने सोचमा फेरबदल गरे।
नियन्त्रणका लागि चीनले गरेको कार्य प्रशंसनीय छ। संक्रमण फैलन नदिन अपनाइएको सतर्कता उल्लेखनीय छन्। नेपालीहरूको उद्धार प्रक्रियामा पनि चिनियाँ विदेश मन्त्रालय र चिनियाँ अधिकारीहरूले सहजीकरण गरी सहयोगी भावना देखाएका छन्। नेपाल ल्याउने तयारीमा रहेका नेपालीहरूको स्वास्थ्य परीक्षण गरी कुनै प्रकारको स्वास्थ्य समस्या नरहेको अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका सबै नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन) मा राखिएको छ।
क्वारेन्टाइनमा दुई साता स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानी रहनेछ। शंकास्पद रोगको लक्षण देखिएमा तुरुन्त उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको तयारीसमेत गरिएको छ। कुनै लक्षण देखिए वा प्रयोगशाला परीक्षणको रिपोर्ट पोजेटिभ आए उपत्यकाका विभिन्न अस्पतालमा उपचारको व्यवस्था छ।
क्वारेन्टाइनमा बसेका नागरिकले स्वदेश फर्कनुअघि नेपाली दूतावासमा गरेको प्रतिबद्धता व्यवहारमा पालना गर्न आवश्यक छ। उनीहरूलाई सहीछाप गराएर सरकारले दुई साता तोकिएको अनुशासनमा रहने गरी नै ल्याएको हो। सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले अभिभावकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र क्वारेनटाइन स्थलमा नगई धैर्य अपनाएका छन्। उद्धार गरिएका नागरिक संक्रमित होइनन्। चीनमा समेत स्वास्थ्य परीक्षण गरी त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा समेत स्वास्थ्य जाँच गरिएको छ।
क्वारेन्टाइनस्थलमा बसिरहेका नेपालीहरूको घाँटीको र्याल निकालेर प्रयोगशालामा जाँचका लागि लगिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको सम्पूर्ण मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधानअनुरूप व्यवस्थापन गरेको छ। क्वारेनटाइनस्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अपनाइएको छ। त्यसैले यसतर्फ अभिभावक, सञ्चारकर्मी एवं स्थानीयले संयमता र सतर्कता अपनाउन आवश्यक छ।
आपसी सद्भाव एवं भाइचाराको भावनाअनुरूपको संयमित व्यवहार गर्नुपर्ने आवश्यकता छ। सरकारले खाने, बस्ने राम्रो व्यवस्था गरिदिएकाले दंग परेका नेपाली त्यहाँ छट्पटिने बाहिर निस्कन खोज्नेभन्दा दुई साता त्यहाँ रहेर थप उत्तरदायी बन्न आवश्यक छ। बहुक्षेत्रीय समन्वय तथा साझेदारीसहित स्वास्थ्य सेवामा थप जिम्मेवारी हुनुपर्ने खाँचो छ। स्वास्थ्य सेवामा साझेदारीको कार्यविधि तयार गरी सहकार्य गर्नुपर्छ। कोरोना भाइरसलगायतका विभिन्न सरुवा रोगले बेलाबखत ज्यान लिइरहेका बेला स्वस्थ जीवनशैलीका लागि प्रचारात्मक अभियानलाई तीव्रता दिनुपर्छ। त्यस्तै रोगको रोकथाम, उपचार व्यवस्थालगायतका पक्षमा पनि बेलैमा योजना बनाई कार्यान्वयन पक्षलाई अघि बढाउनुपर्छ।
सरकारले आफ्ना नागरिकलाई मात्र होइन, चीनबाट नेपाल आउने अन्य विमानमा रहेका चिनियाँ नागरिकतर्फ पनि ध्यान जान आवश्यक छ। चीन सरकारले बेइजिङ आउने विदेशी वा स्वदेशीलाई केही समय तोकिएको स्थानमा राख्ने गरेको छ। चीनको वुहानबाट ल्याइएकालाई यसरी राखिरहँदा चीनका अन्य सहरबाट खुलारूपमा चिनियाँ नेपाल प्रवेश गरिरहँदा तथा सीमाबाट प्रवेश गरिरहँदा त्यहाँको अवस्था र सुरक्षाबारे सरकारले ध्यान कति पुर्याएको छ, त्यसमा समेत नेतृत्व घोत्लिन आवश्यक छ।