दुर्लभ सालकबारे सोच्ने कि ?
सौगात बोलखे
बिहानको सायद ६ बज्दै थियो। ट्युसनका लागि स्कुलतर्फ हुइँकिँदै थिएँ। बाटो मास्तिरबाट खै के हो कुन्नि ढुंगाजस्तै गुड्दै आयो। यतिका बिहानै को मान्छे बाटोबाटोमा ढुंगा फाल्दै हिँड्दो रैछ ? मनमनै सोचेर रिसाएँ।
ढुंगा ठ्याक्कै म हिँड्ने बाटोमा आएर थामियो। तर अचम्म, बाटोको पत्करमा केही सल्बलाउँदै थियो। मेरो गति रोकियो। सर्प पो हो कि क्या हो ? म आत्तिइहालेँ। फेरि आफूलाई सम्हालेँ। अनि नियालेर हेरेँ।
ओहो, शरीरभरि काँडा छ त। अनि हेर्दा कछुवाजस्तो देखिन्छ। खपटा नै खपटाले शरीर सबै ढाकेको छ। कस्तो जनावर हो यो ? सुस्त सुस्त यताउति हेर्दो रहेछ। अनि बल्ल पो चाल पाएँ, यो त सालक पो रहेछ।
कुनै समय साथीले भनेका कुरा बल्ल याद आयो। यसलाई बेच्यो भने खै कति कति पैसा पनि कमाइन्छ रे भन्ने सुनेको थिएँ। तर फेरि बल्थलीमा टाँगिएको एउटा ठूलो ब्यानरमा लेखेको सालकसम्बन्धी जानकारी सम्झें, ‘सालक मारेमा वा बेचेमा जरिवाना अनि जेल हुने।’ त्यसमाथि कुनै जन्तुलाई मारेर कमाएको पैसा नि के पैसा जस्तो लाग्यो।
मैले यति धेरै कुरा सोचुन्जेल पनि त्यो जन्तु जहाँको तहीँ लुटुपुटु परी बसेको थियो। बरु अरू कसैले देख्लान् र मार्लान् भनेर हातमा समातेर बाटो तलपट्टि छाडिदिएँ। अलिकति अगाडि पुगेपछि लुकेर फर्केर हेरेँ। सालक त आनन्दले हिँडिरहेको देख्दा म दंग परेँ।
पनौती–११, ख्याकुका विशाल मलाई सालकसम्बन्धी रमाइलो प्रसंग सुनाउन पाउँदा निकै प्रफुल्ल देखिन्थे। म स्वयं पनि वन्यजन्तुसम्बन्धी अध्ययन गर्ने विद्यार्थी भएकाले उनका कुरामा चाख मानीमानी सुनिरहेको थिएँ। रातो बाँदरसम्बन्धी अध्ययनका लागि त्यहाँ पुगेको म, विशाल भाइको सालकसम्बन्धी घटनाले राम्रो प्रेरणा पनि दियो।
भाइले सालकसँग भएको जम्काभेटको प्रसंग त्यस दिन स्कुल अनि घरपरिवार गरी करिब ३० जनालाई सुनाएछन्। कोहीकोही साथीहरूले भने मार्नुपथ्र्यो नि भनेर सुझाउँदा पनि विशाल उक्त जनावरलाई खुसीसाथ छोडिदिएकोमा प्रफुल्ल थिए। स्कुल पढ्ने विद्यार्थीमा पनि यत्तिको समझ रहेछ भन्ने ठानेर मलाई पनि खुसी लाग्यो।
भाइको कथाले मलाई पनि थोरबहुत प्रभाव पाट्टयो। वन्यजन्तुसम्बन्धी कथा बटुल्ने रहर लाग्यो। बाँदरको अनुसन्धानमा निस्केको म, सालकसम्बन्धी कथा अझै सुन्न मन लाग्यो। ख्याकुकै अर्का एक दिदीको भने फरक कथा रहेछ। पेसाले व्यापारी भएकाले व्यापारका लागि दौडधुप हुने रहेछ। गाडीमा सुन्तला लोड गरी बेचबिखन गर्न बिहान सबेरै बनेपा जाँदै गर्दा बाटोमा सालक देखिएछ। त्यहाँ उनी मात्र थिइनन्। अन्य सहपाठी, चालक, सहचालक पनि थिए। फेरि गाउँसमाजमा सालकको खबटाको लाखौं आउँछ भन्ने हल्ला पनि व्याप्त थियो।
जिउँदै चीनमा बेच्नुपर्छ भन्ने योजना एक साथीले सुझाएकाले त्यसलाई टपक्क टिपी लुकाएर समूहले बनेपा नै पुर्याएछ। के गरेर हुन्छ बेच्ने कोसिस पनि गरेछन्। तर स्थानीय बजारमा नबिकेपछि सालकलाई फर्काएर गाउँ नै ल्याइएछ। त्यत्तिकै छोड्दा यत्तिको दुःख खेर जान्छ भनेर सालकलाई मारेर साथीहरूले नै त्यसको मासु खाए भनेर निन्याउरो आवाजमा व्यथा सुनाइन्।
मलाई सालकसम्बन्धी थप कथा संकलन गर्ने नशाले अझै छोडेको थिएन। म आफ्नै हजुरबुवालाई पनि यो जनावरबारे सुनेका घटनाक्रम सुनाउने निहुँमा उहाँको अनुभव सोध्न पुगेँ। धेरै पुरानो भए पनि हजुरबुवाको पनि यो जनावरलाई लिएर नराम्रै सम्झना रहेछ। चाडपर्वको समयमा राति ढिलासम्म बसेर ठूला हजुरबा घरतिर लाग्दै हुनुहँुदो रहेछ। पूर्णिमाको उज्यालो रातमा हिँड्दाहिँड्दै केही जनावर छ्यास छ्यास गरिरहेको भेट्नु भएछ। सालक दुलो खन्दै रहेछ। ठूला हजुरबाले थपक्क सालक समातेर घरमै लिएर आउनु भएछ। सायद पुरानो मानसिकता नै यही रहेछ कि यस्ता दुलो खन्ने, खेतबारी बिगार्ने जनावरलाई मार्नुपर्छ। साथै यसको खपटा घरमा सजाउँदा शुभ साइत पनि जुर्छ भन्ने अन्धविश्वास रहेछ। उक्त सालकलाई मारेर, मासु खाएर, सालकको खपटा ठूला हजुरबाले वर्षौंसम्म आफ्नै बार्दलीमा सजाउनुभएको थियो रे। तथापि न मैले त्यो खपटा देख्न पाएँ, न त ठूला हजुरबालाई यो विषयबारे सोध्न नै। किनकि म यो विषयबारे अवगत होउन्जेल हजुरबा र खपटा दुवै अवशेष भइसकेका थिए।
समयसमयमा म आफंै सोचिरहन्थँे कि अफ्रिकामा त जैविक विविधताको सागर नै छ। रंगीन जिलाडा बाँदरदेखि ठूल्ठूला गोरिल्ला पाइन्छन्। जिराफ तथा जंगलकै राजा सिंह पाइन्छन्। खै नेपालमा त्यत्तिका विविधतायुक्त जनावरहरू छैनन् कि क्या हो ? तर म स्वयं गलत रहेछु। अफ्रिकाको जैविक विविधता चर्चाको शिखरमा पुग्नुको कारण त्यहाँ भएका अनुसन्धान र जनचेतनाका लागि श्रव्यदृश्यमा भएको लगानीको नतिजा हो।
नेपालको जैविक विविधतालाई त्यो तहको अनुसन्धना तथा खर्च नगरिएकाले नै यहाँको विविधताको सागरबारे चर्चा कम हुने गर्छन्। एसिया महादेशको यति सानो टुक्रो नेपाल त विविधतामा अफ्रिकाभन्दा बृहत् रहेछ। यति सानो क्षेत्रफलमा बेंगाल बाघ, हिउँचितुवा, रातो पान्डा (हाब्रे), घडियाला, एकसिङे गैंडाका साथै निकै पृथक सालक (प्यांगोलिन)जस्ता जीवजन्तु समेटिएको छ। हामी जैविक विविधताको स्वर्गमा बसिरहेका छौं। तथापि प्राकृतिक धनको पहिचान गर्न सकिरहेका छैनौं। उचित जनचेतना अनि संरक्षणकै अभावमा यी पृथक् जन्तुहरू हराउने खतरामा छन्।
सन् १९९६ मा खतराको सूचीमा परेको सालक, सन् २००८ मा थप संकटापन्न सूचीमा पुग्यो। सन् २०१४ मा यो लोप हुने खतराको सूचीमा पर्यो। सालकको बढिरहेको चोरी निकासी, चीनका विभिन्न सहरमा यसको खपटाको विषयमा अझै रहिरहेको अन्धविश्वास र जंगली जीवहरूको मासुका लागि बढिरहेको मागका कारण असरग्रस्त रहेको देखिन्छ। सन् २०४३ सम्ममा सालक ५० प्रतिशतजचि हराउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन्।
वैज्ञानिक च्यालेंडरको सन् २०१९ को अध्ययनले सन् २००० देखि सन् २०१८ सम्ममा एसियाकै भूभागबाट मात्र करिब तीन लाखको संख्यामा सालकको चोरी निकासी भएको देखाउँछ।
पाकिस्तानको दक्षिणपूर्वी भूभाग अनि भारतको उत्तरपूर्वी भूभागका साथै श्रीलंका तथा नेपालका दक्षिणपूर्वी भूभागमा सालक भेटिएका छन्। यो जन्तुको सुँघ्ने शक्ति भने साँच्चै पृथक छ। यसले सुँघेर नै कतातर्फ कमिला, धमिरा तथा टरमाइटहरूको गुण छ भन्ने पत्ता लगाउन सक्छ।
वन्यजन्तु बेचबिखन नियन्त्रणका लागि बनेको सन्धि ‘साइटिस’को परिशिष्ट १ मा समाविष्ट भएर जथाभावी बेचबिखनमा रोक लगाइए पनि अझै बढिरहेको यसको चोरी निकासी साँच्चै चिन्ताको विषय हो। विश्व समुदायका मानिस सालक संरक्षणमा खुला दिलले नलागे यो जनावर कुनै युगको डाइनोसरजस्तै इतिहासको पानामा सीमित हुनेछ। त्यसैले सालक संरक्षणमा हातेमालो गरौं।
(बोलखे जैविक विविधता संरक्षणका लागि विश्वव्यापी युवा सञ्जालको नेपाल अध्यायमा आबद्ध छन्।)