हेलम्बु डाँडापारि

हेलम्बु डाँडापारि

मनोरम हिमशृंखला, आत्मीय हेलम्बुवासी, सुगन्धित वायुको प्रवाह र पवित्र वातावरणले हामी मुग्ध भयौं।


कैयन् गीतहरूमा हेलम्बु सुनियो; कैयन् विम्बहरूमा हेलम्बु पोखियो, तर पनि हेलम्बुको सुन्दरता पारख गर्ने अवसर ५७ वर्ष टेक्दासम्म जुरेन। धेरैपटक हेलम्बु पढियो तर काठमाडौंनजिक भएर पनि हेलम्बु टेक्न सकिएन। नागरिक सभा सम्बोधन गर्ने क्रममा २०६२ सालमा मेलम्चीसम्म पुगिएको हो तर हेलम्बु टेकिएको थिएन।

‘हेलम्बु डाँडापारि...’ गीत धेरैपटक गुनगुनाइयो। अन्ततः २०७६ माघ २७ गते डा. देवेन्द्रराज पाण्डे दम्पतीसहित सातजनाको हाम्रो टोली हेलम्बुतिर हानियो। कुनै औपचारिक कार्यक्रम नराखिएको हुँदा दबाब थिएन। होइन भने ठीक समयमा कार्यक्रम सुरु गर्ने शान्ति समाजको परिपाटी र कार्यक्रमको चापका कारण केही तनाव भइहाल्थ्यो। समय आन्दोलनका नाममा सुरु भएको यो परम्परालाई कसैकसैले समय आतंक पनि भने। काठमाडौं खाल्डो छिचोलेपछि बनेपा हुँदै पनौती पुगियो। शान्ति समाजका सदस्यहरू त्यहाँ पनि नदी÷सहर सफाइ अभियानमा सामेल रहेछन्। शान्ति समाजको काभ्रे कार्यसमितिमा सबै महिला मात्र छन्। संक्षिप्त भेटघाटपश्चात् हामी हेलम्बुतिर हुइँकियौं। केही बेरपछि मेलम्चीसँग साक्षात्कार भयो। साथै क्रसर उद्योगका नाममा मेलम्ची उत्खननको वीभत्स दृश्य पनि देखियो। भीमकाय मेसिन मेलम्चीलाई क्षतविक्षत् बनाइरहेका थिए। मेसिनजस्तै मानिस त्यही उपक्रमलाई सघाइरहेका थिए। तर पनि विनाकुनै सिकायत, विनाकुनै प्रतिरोध, मेलम्ची निरन्तर बगिरहेको थियो।

मेलम्ची नामको सहरबाट हामी उकालो लाग्दा सूर्य खोकिलामा लुक्न लागेको थियो। जति माथि गयो त्यति मेलम्ची निर्मल देखिन्थ्यो। मेलम्चीको किनारछेउ किउल भन्ने ठाउँमा एउटा होटलमा हामी वास बस्न पुग्यौं। वरिपरि मनोरम जंगल, प्राणदायी वनस्पति र मेलम्चीको निर्मलधाराले वातावरण स्निग्ध र मोहक थियो तर रात छिप्पिँदै जाँदा त्यो सुनसान र एकलास स्थलमा मेलम्चीको गड्गडाहट बढ्दै गएको प्रतीत हुन्थ्यो।

प्राविधिक हिसाबले हामी हेलम्बु क्षेत्र प्रवेश गरिसकेका थियौं। दशक लामो अन्तरालपछि डा. पाण्डे र म केही दिनको यात्रा सँगै गर्दैछौं। डा. देवेन्द्रराज पाण्डे आफैंमा एउटा इतिहास हो, तर यो इतिहासलाई अहिलेको पुस्ताले सायद पढ्न भ्याएको छैन। भर्खरै एउटा टेलिभिजन अन्तर्वार्ताका दौरान कार्यक्रम प्रस्तोताले पछिल्लो १४ वर्ष म निस्क्रिय रहेको तर्क गरे। मैले होला भनें। कतिपय तर्कको खण्डनमण्डन गर्ने जाँगर ममा छैन। त्यसैले होला भन्दियो सिद्धियो। तथापि म भन्ने गर्छु– २०६२ सालमा डा. पाण्डे र मैले नागरिक आन्दोलनको नेतृत्व गर्दा अहिले बीसको लयमा हिँडिरहेको पुस्ता त्यो बेला ६ वर्षको थियो, जसले हामीलाई चिन्दैनथ्यो। त्यो पुस्ता र त्योभन्दा पनि पछिको पुस्ताले हामीलाई झनै चिन्दैन, किनकि हामीले आफूलाई नवीकरण गरेनौं। कहिले प्रेससँग हामी रूखो भयौं कहिले प्रेस हामीसँग रूखो भयो। समाचारमा नछापिएपछि र टेलिभिजनमा नदेखिएपछि हामी हराएको भन्ने समाचार पनि बन्यो। डा. पाण्डे ट्विटर र फेसबुकमा रमाउनुहुन्छ तर म सामाजिक सञ्जालमा पनि छैन। अर्थात् मेरो फेसबुक र ट्विटर एकाउन्ट छैन।

यद्यपि त्यसबारे म अनभिज्ञ भने छैन। मसँग सेलफोन छैन तर डा. पाण्डे सेलफोन (मोबाइल) मा उपलब्ध हुनुहुन्छ। यो उमेरमा पनि प्रियजनसँग उहाँ मोबाइलमा झर्को नमानी कुरा गर्नुहुन्छ। २०६२ सालमा नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बन्दी छँदाको मित्रताका आधारमा डा. शशांक कोइराला पनि झर्को नमान्ने भलाद्मी व्यक्तित्व भएको मेरो अनुभव रह्यो। उक्त प्रहरी प्रशिक्षण प्रतिष्ठानमा केही साता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि नरहरि आचार्यसम्म र अहिलेका मन्त्री हृदयेश त्रिपाठीदेखि परि थापा र प्रेम सुवालसम्म अनि नागरिक आन्दोलनका डा. मथुराप्रसाद श्रेष्ठ र श्याम श्रेष्ठ गरी साढे एक दर्जन बढी थुनिएका थियौं। नागरिक आन्दोलनको एजेन्डा नै लोकतान्त्रिक गणतन्त्र थियो। त्यसैले हाम्रो आवाज कसैकसैलाई चर्को लाग्थ्यो। नेपाली कांग्रेसका लक्ष्मण घिमिरे ठट्टाठट्टामै डा. पाण्डे र मलाई सिन्चा–धुन्चाजस्तो भन्थे। अर्थात् सिन्चा भन्ने पात्रले जे भन्यो, धुन्चाले पनि त्यही भन्ने। सायद त्यो काठमाडौं खाल्डोभित्रको लोकोक्ति थियो।

विज्ञानका रूपमा कुनै बेला वेद पढ्नेका सन्तानहरू अहिले पूजास्थलमा काटमार गर्छन्, बलिका नाममा निरिह पशुका हत्या गर्छन् तर लुक्ला र हेलम्बुका शेर्पा, ह्याल्मो र तामाङहरू यस्ता पवित्र भूमिमा काटमार गर्नु हुँदैन भन्छन्। मेरो हृदयमा उनीहरूप्रति औधि सम्मान उर्लियो।

यसपटकको हेलम्बु यात्राका दौरान पुराना घटनाक्रमको पुनस्र्मरण गरियो। कतिले हामीलाई गाली गरे कतिले निन्दा। गाली मात्र होइन, कठोर निन्दा पनि सुन्ने अभ्यासका कारण गालीगलौजबाट म विचलित हुन्न। अझ भनौं, मलाई लाग्ने आरोप, गाली र निन्दा सुनाउन सकिने हदसम्म म अरूलाई पनि सुनाउँछु। ८० नाघ्न लागेका डा. पाण्डेको शरीर शिथिल हुँदै गएको हुन सक्छ तर आज पनि डा. पाण्डेसँग ऊर्जा छ। त्यसैले कुराकानीमा डा. पाण्डे भर्भर बलिरहेको ज्योतिजस्तो पोखिनुहुन्छ। ३१ वर्षअगाडि २०४५ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनाको लक्ष्यसहित विख्यात अधिकारकर्मी ऋषिकेश शाहको अध्यक्षतामा स्थापित नेपाल मानव अधिकार संगठनको डा. पाण्डे संस्थापक उपाध्यक्ष र म संस्थापक सदस्य थियौं। २० वर्षअगाडि भारतका पूर्वप्रधानमन्त्री आई के गुजरालको अध्यक्षतामा सन् २००० मा स्थापित साउथ एसियन फर ह्युमन राइट्सको हामी दुवै संस्थापक सदस्य थियौं।

लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ १४ वर्षअगाडि अाँधी भएर उठेको लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको हामी दुईले नेतृत्व गरेका थियौं। २०६४ पछि एकपटक हामी टाढियौं, फेरि नजिकियौं। अभियानका क्रममा कहिले हामी जोडियौं त कहिले तोडियौं तर पनि भावनात्मक सम्बन्ध गहिरो छ। म संस्थापक सभापति रहेको शान्ति समाजको डा. पाण्डे पनि सदस्य हुनुहुन्छ तर उहाँ शान्ति समाजको अभिभावकजस्तो हुनुहुन्छ। नागरिक आन्दोलनका दौरान हामीले खेपेको दबाब, भोगेका कठिनाइ र उठाएको जोखिमको सूची लामो छ। हेलम्बु यात्राका दौरान विगतका अनेकौं प्रसंगहरूको चर्चा गरियो। इतिहासको स्मरण वर्तमानको विश्लेषण र भविष्यको चिन्ता बाटाभरि पोखिइरह्यो।

यात्राको दोस्रो दिन बिहानको खाजा खाएर हामी चढेको मोटर उकालो लाग्यो। जति माथि गयो, त्यति कञ्चन र पवित्र वातावरण। हेलम्बु जंगल क्षेत्रमा गुराँसको बाहुल्य हुने सुनिए पनि ढकमक्क फुलेको भने देखिएन। अन्ततः सेर्माथाङ भन्ने स्थानमा अवस्थित एउटा सफा र सुन्दर होटलमा बस्न पुगियो। रोल्वालिङ हिमशृंखला, महालंगुर प्रभाग, गणेश हिमाल, जुगल हिमाल र लाङटाङ शृंखलालाई पाश्र्वमा राखेर फोटो खिचियो। रोल्वालिङ हिमशृंखलाअन्तर्गत दोस्रो उच्च शिखर हो गौरी शंकर। ग्रीनविच मिनटाइमभन्दा पाँच घन्टा ४५ मिनेट छिटो नेपाली समयसारिणीको मापदण्ड गौरीशंकर क्षेत्रलाई केन्द्रविन्दु बनाएर निर्धारण गरिएको हो।

काठमाडौंबाट हेलम्बुसम्मको दूरी झन्डै ८० किलोमिटर छ। काठमाडौंबाट सबैभन्दा नजिक रहेको हिमाली टाकुरो आमा याङ्ग्री हेलम्बु क्षेत्रभित्रै पर्छ। पदयात्रीहरू तार्केघ्याङ हुँदै आमा याङ्ग्रीसम्म यात्रा तय गर्छन्। हेलम्बु क्षेत्रको अर्को माथिल्लो भाग हो थाडेपाटी। हेलम्बुमा हामी बसेको शेर्माथाङ २६ सय मिटरको उचाइमा अवस्थित छ। त्यस दिन बिहानको तापक्रम माइनस २ डिग्री पुगेको रहेछ त्यसैले बारीभरि सेतो तुषारो देखिन्थ्यो। ड्रममा राखेको पानीको माथिल्लो सतह पनि जमेको थियो। तर त्यस दिन बिहानै घाम लागेको हुँदा सिउँदोमा सुनौलो किरण हालेर हिमाल मुस्कुराइरहेको प्रतीत हुन्थ्यो।

हेलम्बुमा ह्याल्मोहरूको बाहुल्य छ। त्यसैले यो ठाउँको नाम हेलम्बु रहन गएको बुझाइ छ। ह्याल्मोहरूलाई कतिपयले शेर्पाका रूपमा बुझ्ने गरेका छन् त कतिपयले ह्याल्मो शेर्पा भन्ने गरेका छन्। तर आदिवासी जनजातिहरूको सूचीमा ह्याल्मो सुविधावञ्चित समूहमा पृथक् तवरले सूचीकृत छन्। हेलम्बु प्राकृतिक तवरमा जति सुन्दर छ, सांस्कृतिक तवरमा त्यति नै समृद्ध पनि छ। त्यस दिन कुनै उत्सव परेको रहेछ, हातमा पुस्तक बोकेर बाजागाजासहित प्रार्थना गर्दै एउटा लस्कर उकालो लागेको सुनियो। नजिकै पर्व मनाइरहेका स्थानीय महिलाको ठूलो जमात देखियो। कठोर मेहनत गर्ने स्वावलम्बी तिनीहरूका अधरमा मुस्कान मस्तिष्कमा सपना र हृदयमा हार्दिकता थियो।

उत्सवका कारणले होला त्यो दिन शेर्माथाङ न्यानो थियो। हिमालको काखमा यो चिस्यान र बिरानमा पनि विशिष्ट संस्कृति जीवित छ। यस्तै जीवन्त संस्कृतिले समाज समृद्ध छ, सुखी छ। नेपाली समाजमा विविधता छ, त्यही विविधतालाई उत्सवका रूपमा मनाउनुपर्छ भन्ने मान्यतासहित हामी अभियानरत रह्यौं।

यस स्थानमा पशु बध निषेध रहेछ। अर्थात् बाहिरबाट मासु आयात हुने भए पनि यो ठाउँमा मासुका लागि काटमार गर्न नपाइने रहेछ। गत वर्ष लुक्ला यात्राका क्रममा लुक्लामा पनि यस्तो सामाजिक व्यवस्था भएको सुनेको थिएँ, यहाँ पनि रहेछ। त्यसैले मेरो मन अझ प्रफुल्लित भयो। विज्ञानका रूपमा कुनै बेला वेद पढ्नेका सन्तानहरू अहिले पूजास्थलमा काटमार गर्छन्, बलिका नाममा निरिह पशुका हत्या गर्छन् तर लुक्ला र हेलम्बुका शेर्पा, ह्याल्मोे र तामाङहरू यस्ता पवित्र भूमिमा काटमार गर्नु हुँदैन भन्छन्। मेरो हृदयमा उनीहरूप्रति औधि सम्मान उर्लियो।

मनोरम हिमशृंखला, आत्मीय हेलम्बुवासी, सुगन्धित वायुको प्रवाह र पवित्र वातावरणले हामी मुग्ध भयौं। दुई रात हेलम्बुमा बिताएर साँखु हुँदै हामी काठमाडौं फर्कियौं। चिल्लो फराकिलो बाटो बनाउने हो भने काठमाडौंबाट दुई घन्टाभित्र हेलम्बु पुग्न सकिन्छ। तर त्यो इच्छाशक्ति शासकमा जागृत नहुँदा खाल्डाखुल्डी छिचोलेर यात्रा गर्नुपर्ने बाध्यता अहिले छ।

उमेरले ५७ टेकेको म एकदुई घण्टाभन्दा बढी पैदल यात्रा गर्न सक्दिनँ। घाँटी र गोडाको समस्याका कारण मोटरमा पनि लामो समय यात्रा गर्न सक्दिनँ तर पनि हेलम्बु यात्राभरि मलाई कुनै पीडा÷थकान अनुभव भएन। काठमाडौं खाल्डोमा रुमल्लिरहनुभन्दा नेपालका कुनाकन्दरामा भौंतारिन पाए हुन्थ्यो जस्तो लाग्न थालेको छ। सायद सन्न्यासको अर्को चरणको प्रारम्भ पो हो कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.