अल्झाउने रोग

अल्झाउने रोग

कालीकोटको कोटबाडामा ३१ वर्ष लगाएर कामचलाउ विमानस्थल बनाइयो । २०७३ माघ २९ गते परीक्षण उडान गरियो । वर्षौंदेखिको प्रतीक्षाको ‘चीलगाडी’ हेर्न सर्वसाधारण झुम्मिए । हर्षोल्लास मनाए । अबिर जात्रा गरे । तत्कालै नियमित उडान गर्ने घोषणा गरिएको थियो । फर्किएको त्यो जहाज फेरि आएन । यतिका वर्ष लगाएर कर्णालीवासीका भागमा परेको २६ करोड रुपैयाँ स्वाहा बनाइयो, सेवा भने पुर्‍याइएन । अझै घेराबार, धावनमार्गमा कालोपत्रे, टावर निर्माण र टर्मिनल भवन बन्न बाँकी छन् । त्यति सक्न कति वर्ष लाग्ने हो, भविष्यमा बन्ने हो कि होइन, निश्चित छैन । रामारोशन, बाजुरा, त्रिवेणीपाटन, बडिमालिकाजस्ता स्थलको पर्यटकीय प्रवद्र्धनमा समेत सहयोगी बन्ने यो विमानस्थलतर्फ सरकारको गहन ध्यान जान सकेको छैन ।

उता देशकै नमुना तमोर लिफ्ट खानेपानी आयोजना निर्माण नसकी आज प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि आधा दर्जन मन्त्रीको टोलीसमेत पाँचथर जाँदै छ । यसबाट तीन हजार ४३ परिवार यसबाट लाभान्वित हुने आकलन छ । उद्घाटनमा हतारिने, त्यसपछि काम रोकिने कोटबाडा विमानस्थलको अर्को झल्को हो यो आयोजना । कोटबाडामा कामै नसकिई परीक्षण उडान गरियो, अनि निर्माण थन्क्याइयो । योजना सकिएको देखाउन यस्तो किर्ते काम गर्ने गरिन्छ । उद्घाटन वा परीक्षण भएपछि सम्पन्न भएको मान्यता मिल्छ । बाँकी निकासा लिन ठेकदारले वैधानिकता पाउँछ । त्यसकै लागि यस्तो नाटक गरिन्छ । तर प्रधानमन्त्री, मन्त्री र अन्य शीर्ष व्यक्तित्व त्यसमा फस्छन् । तमोर लिफ्टको उद्घाटनलाई प्रधानमन्त्रीले पुनर्विचार गर्नु उचित हुन्छ । पहिला काम सक अनि उद्घाटन गरूँला भन्न सक्नुपर्छ ।

यही त उदाहरण मात्र हुन् । देशमा यस किसिमका विकृति बढ्दो अवस्थामा छन् । विकास÷निर्माणमा बढ्दो छाडापन नियन्त्रणमा सरकार पनि उदासीन देखिन्छ । खासगरी यहाँ ठेकेदारलाई कस्ने गरिँदैन । कुनै बहानामा काम अड्काइरहन ऊ चाहन्छ, सरकारले छुट दिन्छ । बरु एक ठाउँ नसकी अर्कातिर उसैलाई ठेक्का दिन्छ । जताततै उही ठेकदारले अल्झाएको हुन्छ । सरकारी निकायबाट अग्रिम भुक्तानी लिएर व्यापार–व्यवसाय चलाएको हुन्छ । यस्ता कार्यमा सरकार र सरकारी निकायको समेत धेरैजसोमा सहभागिता हुन्छ । अर्कातिर सबैजसो आयोजना निर्धारित समयमा पूरा हुँदैनन् । पहुँचवाला र शक्तिशालीका जिल्ला÷क्षेत्रका काम फटाफट हुन्छन्, निरीह सर्वसाधारणका लागि लगिएका आयोजना वर्षौं अड्काइन्छन् । तिनका लागि गरिदिने मात्र होइन, बोलिदिनेसम्म कोही हुँदैन ।

सुस्त निर्माण देशको रोग हो । त्यसमाथि कमिसनको चक्करले हरेक खरिद प्रक्रिया बिथोलिएको हुन्छ । गोकुल बाँस्कोटा प्रकरण यसको ताजा उदाहरण हो । सरकारी निकायले समयमा भुक्तानी नदिने, अनेक बहानामा अड्काउने, फेरफार गर्ने, ठूलो मात्रामा कमिसन÷घुस मागिदिने गर्छन् । जसमा निर्माणकर्ता दुरुपयोग हुन्छ । फलतः कि उसले काम अड्काउँछ कि न्यून गुणस्तरको गरेर सकिदिन्छ । अरू छाडौं, गौरवका २२ आयोजनाको कार्यप्रगति गौरव गर्नलायक त छैन–छैन, मन कटक्क हुनेछ । सबैजसोमा अचाक्ली ढिलासुस्ती छ ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ । त्यो लक्ष्य पूर्ति गर्न तीव्र र इमानदार विकासको खाँचो छ । उच्च भौतिक र बौद्धिक विकासविना समृद्धि असम्भव छ । तर भएको बजेट खर्च गर्नसम्म राज्य अक्षम हुँदै गएको छ । ठूलो मात्रामा विकासे रकम फिर्ता हुन्छ । त्यसको मूल कारण लोभपाप नै हो । समयमै इमानदार प्रयत्न हुनु र ढिला गर्नेलाई कडा कानुनी दायरामा ल्याई ठूलो मात्रामा क्षतिपूर्ति भराउन थाल्नु हो भने यो विकृति स्वतः समाप्त हुनेछ । समृद्धिमा पुग्ने हो भने सरकार कठोर हुन सक्नैपर्छ । गरिबका भाग खोसेर मस्ती गरिरहेकालाई पहिचान गर्दै कारबाही गर्न सक्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.